बीआरआई कार्यतालिका बनाएर छिटो कार्यान्वयन गर्छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले अघि सारेको बीआरआई परियोजनालाई समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।
नेपालमा विकास निर्माणका लागि तीव्र लगानी आवश्यक रहेको र त्यसका लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए । यद्यपि वित्तीय लगानी नीतिमा मसिनो ढंगले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘समयबद्ध कार्यतालिका बनाएर छिटो काम गर्नुपर्ने छ । सरकार त्यस दिशामा गम्भीर रुपमा अगाडि बढेको जानकारी गराउँछु ।’ उनले बीआरआई परियोजना कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत समस्या हटाउन नेपाल सरकारले पहल गर्ने समेत बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहेको दोहोर्याए ।
‘हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौं । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो । संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ । हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ’, प्रधानमन्त्रीको भनाइ छ ।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
कार्यक्रमका सभापतिज्यू,
महामहिम चिनियाँ राजदूत छन् सङ्
प्राज्ञिक मित्रहरू,
सञ्चारकर्मी साथीहरू
उपस्थित सम्पूर्ण महानुभावहरू ।
सर्वप्रथमतः बिआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल शीर्षकको सेमिनारमा आमन्त्रण गर्नुभई आफ्ना विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस कार्यक्रमले हाम्रो छिमेकी एवं असल मित्र चीनका महामहिम राष्ट्रपति सी चीनफिङले सन् २०१३ मा अघि सारेको विभिन्न भूगोल, संस्कृति र सभ्यताबीच सम्पर्क सञ्जालको विस्तार गरी लाभ–लाभको सिद्धान्तमा आधारित समावेशी विकासको बृहत अवधारणा (बिआरआइ) का बहुआयमिक पक्षबारे सही जानकारी सम्प्रेषण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । नेपाल र चीनबीच हिमाल छिचोल्ने बहुआयमिक सम्पर्क सञ्जालको बिस्तारबाट साझा चासोको सम्बोधन गर्ने र साझा समृद्धि हासिल गर्ने हाम्रा साझा प्रयत्नबारे बुझ्न, उपर्युक्त उद्देश्य हासिल गर्नका लागि दुबै मुलुकका सरकार र जनताबीच सहकार्यलाई प्रवर्धन गर्न तथा द्धिपक्षीय हित र चासोलाई सम्बोधन गर्ने दुबैतर्फका सम्भावना, प्राथमिकताहरू, भूमिका र अपेक्षित उपलब्धीका बारेमा पनि यस कार्यक्रमको निष्कर्ष दुबै सरकार र नीजि क्षेत्रका लागिसमेत एक महत्वपूर्ण सन्दर्भसामग्री हुने विश्वास लिएको छु ।
मैले हालै मात्र मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी नेपाल फर्किएको यहाँहरूलाई बिदितै छ । भ्रमणका क्रममा महामहिम राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री लि छ्याङ्गसँग दुईपक्षीय हित तथा चासोका सबै विषयमा वार्ता, छलफल र कुराकानी भएका छन् । मेरो चीन भ्रमणका क्रममा भएका १३ वटा विभिन्न समझदारी र सम्झौता एवं संयुक्त वक्तव्यमा उल्लेख भएका समझदारीले नेपाल र चीनबीचको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । यस भ्रमणले नेपाल तथा चीनबीच उच्च राजनीतिक तहमा थप सुदृढ समझदारी विकास गर्न र यस क्षेत्रमै शान्ति, स्थायित्व तथा साझा समृद्धि हासिल गर्न सघाउ पुग्नेमा म विश्वस्त छु । ती सबै सम्झौता र भ्रमणको नतिजा कार्यान्वयन चरणमा गएपछि प्रत्यक्ष अनुभूति हुनेगरि देखिनेछन् । अहिलेको भ्रमणले नेपाल चीन सम्बन्ध नयाँ उचाइमा लैजान मद्दत गरेको छ भनेर मैले भ्रमण सम्पन्न गरेर फर्कदाको समयमा बताएको कुरासमेत यहाँ स्मरण गर्न चाहन्छु ।
यो भ्रमणबाट नेपालको निजी क्षेत्रसँग चिनियाँ पक्षको सहकार्य थप घनिभूत हुनेछ भने थप लगानी भित्राउन मद्दत गर्नेछ । साथै, तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा प्रविधि विस्तार गरी दुबै मुलुकका जनताले बढीभन्दा बढी प्रतिफल प्राप्त गर्नेगरि चिनियाँ लगानीकर्तासँग सहकार्य गर्न नेपालको निजी क्षेत्रलाई सघाउन सरकार प्रतिबद्ध रहेको कुरा पनि म स्पष्ट गर्दछु ।
महामहिम राष्ट्रपति सी चीनफिङ सन् २०१३ मा चीनको केन्द्रीय नेत्तृवमा आइसकेपछि गरिबी निवारण, अनुसन्धान र विकास (आर एण्ड डी), प्रविधि र अन्य क्षेत्रमा चीनले जुन परिमाणमा फड्को मारेको छ त्यो विश्व इतिहासका लागिसमेत शिक्षाप्रद र नमुनायोग्य छ । विश्वकै लागि अनुकरणीय छिमेकी र असल मित्र राष्ट्र चीनको यो अभूतपूर्व विकास नेपालका लागि ठूलो शिक्षा र अवसर दुबै हो । नेपाल चीनको यो द्रूततर विकास, गरीवी निवारण तथा चीनले अगाडि सारेको दीगो विकास तथा साझा समृद्धिको अवधारणा (बिआरआइ) बाट पूरा लाभान्वित हुन चाहन्छ ।
हामीलाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो छ । परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै हाम्रो आवश्यकता पूरा हुनसक्ने परिस्थिति छैन । विकास निर्माणलाई तीब्र बनाउन थप बाह्य पुँजीको खाँचो छ । बिआरआई नेपालका लागि त्यस्तो महत्वपूर्ण स्रोत हुन सक्छ । विगत १० वर्षमा बिआरआईमार्फत मात्र १००० अर्व अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्याङ्क सावजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्राउन सकेन । अब हामी छिटै कार्ययोजना बनाएर समयवद्ध कार्यतालिकाअनुरूप दुबैतर्फका र साझा संयन्त्रहरूलाई परिचालन गरेर छिटो काम गर्नुपर्नेछ ।
मैले चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई पनि स्पष्ट भनेको छु– नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ, चिनिया पक्षले पनि नेपालसँगको आर्थिक, सामाजिक, साँस्कृतिक तथा जनस्तरको सम्बन्धलाई प्रवर्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोस् । हामीबीच जीत–जीतको समबन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौँ ।
विगतमा म आफै सरकारको नेत्तृवमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बिआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ । अब बिआरआई परियोजना मनोकामनाको सूची (wish-list) नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बिआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौं । यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो ।
यस बीचमा बिआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन् । यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन् । तर नेपाल बिआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ । नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु । अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ । तसर्थ, यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं । चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ ।
नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको छ । हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याएको मूल्यवान सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ । हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ ।
यस कार्यक्रममा पनि यी विषयहरूको गहन छलफल र प्राज्ञिक तथा प्रबुद्ध व्यक्तिहरूबाट विषयको सही उठान हुनेछ, नेपाल–चीन सम्बन्धका बृहत्तर हितका विषयमा आपसी सहकार्यमा केन्द्रित हुनेछ भन्ने मैले अपेक्षासहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खसेकाे आयोगको औपचारिक घोषणा
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद...
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...











