‘सङ्घीय सदनको पूर्ण बैठकमा हामीले दल र दलका नेता बिर्सेर नीति सम्झनुपर्छ’: सांसद मनिष झा
सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रूपमा परिचित छन् । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाएका उनका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बनेका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्छन् । उनी सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्छन् ।
संवाद गर्नेका क्रममा सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राख्छन् । उनी सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत छन् ।
‘अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन’, उनले भने, ‘एक जना सांसदले त भाषण सकिएपछि उहाँले के बोल्नुभयो भनेर अर्को सांसदले सोधेको घटना पनि छ ।’
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । संसदीय अभ्यासलाई बाहिरबाटै नियालिरहेका आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना भएको उनले सुनाए । ‘गत वर्ष पुस ७ मा सांसदका रूपमा शपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो’, उनले भने, ‘त्यसको केही समयमै देखिएको राजनीतिमा बदलिँदो समीकरणले उत्साहले मलजल पाएन ।’
सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देख्छन् । ‘सांसदहरू त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ’, उनले भने, ‘त्यो सङ्ख्या दुई सय ७५ मा २५ मात्रै होला ।’ उनी केही सांसदहरू होहल्ला गर्ने, साइड टक गर्ने, हाजिर गरेर लबिमा बस्ने, चिया खाने र गफ मात्रै गर्ने र आफ्नो नेताले जे बोले पनि टेबुल ठोकिहाल्ने जिम्मेवारीमा मात्रै सीमित भएकामा विमति राख्छन् ।
कुराकानीका क्रममा जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा उनले राखे । जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उनको तर्क छ । ‘सांसद बन्नु र कुनै विषयमा गहन रूपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ’, उनले भने ।
सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने बताए । ‘संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ’, उनले भने, ‘सदनमा पनि कुनै विषयमाथि घनिभूत छलफल र अभ्यास गर्न पाए मात्रै सदनलाई प्रभावकारी बनाउन सकिन्थ्यो ।’
विधायिकाको भूमिका कानुन निर्माणसँगै सरकारका कामकारबाहीमा पनि हुने उनको भनाइ छ । उहाँ जनप्रतिनिधिहरू जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्नेभन्दा पनि मतदाता रिझाउने र ‘स्टन्ड’मार्फत लोकप्रिय हुनेमा केन्द्रित हुनु दुःखद् भएको टिप्पणी गर्छन् । ‘यहाँ त शपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उहाँहरूको भूमिका कमजोर बन्न पुग्छ’, उनले भने ।
‘तपाईं हेर्नुभयो भने चैतदेखि असारसम्म निर्वाचनमा बजेट पार्नका लागि आधाभन्दा बढी सांसद सिंहदरबार धाउनुहुन्छ । निर्वाचन क्षेत्रमा बजेट पार्न सकिएन भने अर्को पटक निर्वाचन जित्न गाह्रो हुन्छ’, उनले भने, ‘यसले विधायिकाका रूपमा पाएको मुख्य जिम्मेवारीको कमजोर बन्न पुग्छ ।’ अन्य राजनीतिक दलसँगै यतिबेला रास्वपा पनि विधायिकाको भूमिका भुलेर ‘मिसन २०८४’मा केन्द्रित भएको हो भन्ने प्रश्नमा सांसद झा त्यो सत्य नभएको बताउँछन् ।
‘हामीहरू आफ्नो भूमिकाप्रति सचेत छौँ, ‘परिवर्तनका लागि मिसन ०८४’, हाम्रो पार्टीको आधिकारिक दस्तावेजमा पनि छैन, मतदाताबाट आएको यो आवाजलाई हामीले अपनाएको मात्र हो’, उनले भने, ‘यसले हाम्रो संसद् र संसदीय समितिमा हुने उपस्थिति र प्रस्तुतिमा फरक परेको छैन ।’ उनले पार्टीभित्र पनि सांसदको भूमिकाबारे निर्मम रूपमा समीक्षा भइरहेको बताए । ‘हाम्रा साथीहरू विदेश भ्रमणमा जान थाल्नुभएको, विदेशका कार्यक्रममा लालचा बढेको वा संसद्मा हाजिर गरेर पार्टीको कार्यक्रम छ भनेर निस्कने अभ्यास बढेको हो कि भनेर हामीले निरन्तर समीक्षा र आत्मसात् गरिरहेका छौँ’, उनले भने ।
सांसद झा कानुन निर्माणमा सदनमा सत्तापक्षले बहुमतको दम्भ देखाउने गरेको बताए । ‘सदनमा सत्तापक्षको बहुमतको दम्भ घातक भइरहेको छ । मैले सदनमार्फत पनि यो कुरा उठान गरिसकेको छु’, उनले भने, ‘कहिलेकाहीँ मलाई यो बहस अर्थहीन जस्तो लाग्छ । जति नै तर्कपूर्ण बहस र अध्ययन गरे पनि बहुमतका आधारमा बिल पास भइहाल्छ ।’ उनले जनताको चाहना र भावनाले संसद्मा स्थान नपाएको गुनासो गरे । ‘जनभावना सुन्ने क्रममा हामी देशका विभिन्न जिल्लामा पुग्यौँ । अहिले जनतामा ‘पोलिटिकल फ्रस्टेसन’ बढेको पायौँ’, उनले भने, ‘त्यसलाई चिर्दै जनतामा आशा, भरोसा र विश्वास जगाउने जिम्मेवारी हाम्रै काँधमा आइपरेको छ ।’
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












