आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना, पश्चिमी भूभाग बढी प्रभावित हुने
काठमाडौं । आज (सोमबार)देखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।
यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ। त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ । पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आइतबार अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा आज (सोमबार)देखि सुरु हुने सम्भावना छ ।
यो प्रणालीको असर देशभर एकनासको भने हुनेछैन । ‘यसको प्रभाव पश्चिम नेपालमा बढी हुनेछ, मध्य भेगमा हल्का र पूर्वी तराइमा ज्यादै न्यून प्रभाव रहने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेल भन्छन्, ‘अब लगातार तीन दिनसम्म घाम नलाग्ने नै देखिन्छ ।’
उनका अनुसार आजदेखि पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा राम्रै वर्षा हुने सम्भावना छ । मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ । बुधबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ । तर बादल भने डम्मै लाग्ने सम्भावना छ । आज नै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
थोरै स्थान भन्नाले १० देखि ३० प्रतिशतसम्म ओगटिएको क्षेत्र भन्ने बुझिन्छ भने केही स्थान भन्नाले ३० देखि ५० प्रतिशतसम्मको क्षेत्रलाई बुझिन्छ । हल्का वर्षाले १० मिलिमिटरभन्दा कम वर्षालाई जनाउँछ भने मध्यम वर्षा भन्नाले १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटर भन्दा कम वर्षालाई बुझिन्छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार भने गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। पोखरेलका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भाग बढी प्रभावित हुनेछ ।
यो प्रणालीको असर काठमाडौं उपत्यकामा पनि देखिने छ । काठमाडौंमा पनि मंगलबारदेखि नै असर देखिन थाल्ने छ । काठमाडौंमा हल्का वर्षाको सम्भावना छ । ‘काठमाडौंमा अस्तिको बेलामा भन्दा बढी वर्षा हुने देखिन्छ,’ मौसमविद पोखरेलले भने । मधेश प्रदेशमा भने वर्षाको सम्भावना ज्यादै कम रहेको उनले बताए । ‘मधेशमा पानी परिहालेछ भने पनि छिटफुट होला, त्यो पनि ज्यादै कम सम्भावना देख्छु,’ उनले भने । कोशी प्रदेशमा भने पहाडी भेगमा वर्षाको सम्भावना छ ।
यस वर्षको हिउँदयाम सकिन दुई हप्ताभन्दा कम समय बाँकी छ । तर हिउँदयाममा जति पानी पर्नुपर्ने हो त्यति अझै परेको छैन । अहिलेको वर्षाले पनि पानीको अभावलाई पूर्ति नगर्ने मौसमविद बताउँछन् । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
यो अवधिमा ६०।१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंका अनुसार हिउँदमा वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी पर्ने गर्छ । तर यस वर्षको हिउँदयाम सकिनै लाग्दा पनि पूर्वप्रक्षेपण अनुसार वर्षा भएको छैन ।
‘अब यो हिउँद सकिन १०/१२ दिन मात्र बाँकी छ । हालसम्म हिउँदयाममा सरदर ७।६ मिलिमिटर मात्र वर्षा भएको छ । यो हिउँदको वर्षाको करिब १३ प्रतिशत मात्र हुन्छ,’ हुमागाईंले भने । अहिलेको प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभागमा बढी पानी पर्ने भएकाले त्यसले सरदरको अलि नजिक पुग्ने देखिए पनि बाँकी भूभागमा भने सरदरको नजिक पनि नपुग्ने उनले बताए ।
अर्का वरिष्ठ मौसमविद डा पोखरेलले पनि अहिलेको प्रणालीले हिउँदयामको वर्षाको सरदर मात्र नपुग्ने बताए। ‘धेरै ठाउँमा अहिले पनि वर्षा शून्य प्रतिशत नै छ । पानी परेका ठाउँमा पनि जति पर्नुपर्ने हो त्यसको लगभग १०–१५ प्रतिशतभन्दा बढी परेको छैन । अलिकति बढी पानी परेको कर्णाली प्रदेशतिर मात्र हो,’ मौसमविद पोखरेलले भने, ‘अहिलेको वर्षाले पनि त्यसलाई पूर्ति गर्ने देखिँदैन ।’
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












