बाढीपहिरोका बेला पशुपन्छीलाई दुःख नदिइकन ढुवानी गर्ने वातावरण सरकारले बनाउनुपर्छ : एनिमल नेपाल
काठमाडौैं । नेपालमा पशु दिवसका अवसरमा यही असोज १२ गतेदेखि १८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ । विभिन्न तीनवटा दिवसलाई समेत समेटेर एक हप्तासम्म विभिन्न कार्यक्रम गरिएको हो । सप्ताह कार्यक्रमहरु अन्तर्गत जनमानसमा सकारात्मक सन्देश पुर्याउने उद्देश्यले मंगलबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरियो । भर्खरै बाढीपहिरो र डुबानका कारण देशले मानवीय, भौतिक र ठूलो संख्या पशुपन्छीजन्य क्षति बेहोर्नु परेको छ । बाढीपहिरोका कारण कैलालीदेखि काठमाडौसम्म पशुचौपाय बोकेर आउँदै गरेका ट्रकहरु लामो समय रोकिँदा पशुपन्छीले पनि दु:ख भोग्नु परेको छ । बाढीपहिरो आएका बेला ट्रकमा राँगाभैसीलाई कोचेर राखेको तस्बिरहरु सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत भाइरल भएका छन् ।
अहिलेको विपद्मा ढुवानी गर्दा पशुपन्छीलाई कति सास्ती ?
एनिमल नेपालले पशु कल्याणको क्षेत्रमा ढुवानीसम्बन्धी विषयलाई उठान गर्दै आएकोमा यस विपद्को समयमा पनि पशु ढुवानीसम्बन्धी विषयलाई नैं केन्द्रित गरेर छलफल कार्यक्रम गरेको छ । वर्ल्ड एनिमल डे को अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने योजना बनाइए पनि बाढीपहिरो र डुबानका समस्याका कारण सेड्युल परिवर्तन गरिएको संस्थाले जनाएको छ । दसैंं नजिकिँदै गरेको बेला काठमाडौंमा सबैभन्दा बढी मासु खपत हुनेगर्छ । यस अवस्थामा जनावरहरु काठमाडौंमा कसरी ल्याउने भन्ने ठूलो प्रश्न रहेको एनिमल नेपालकी कार्यक्रम प्रमुख सुलक्षणा राणाले स्पष्ट पार्नुभयो । पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमका एनिमल नेपालकी फिल्ड सुपरभाइजर लक्ष्मी घिमिरेले पनि पशु कल्याणको क्षेत्रमा संस्थाले गरेका कामहरु, पशु ढुवानी हुँदा देखिएका समस्या लगायतका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो ।
पछिल्लो विपद्को समयमा सरकारले काठमाडौंमा मासुको माग पुरा गर्न भरमग्दुर प्रयास गर्नेछ । तर मासुको माग पूरा गर्नका लागि ढुवानी गर्दा पशूहरुले कति दुःख पाउँछन्, यस चुनौती बारेमा गहन किसिमले सरकारलाई सचेत गराउन पनि एनिमल नेपालले पत्रकारसँग अन्तरक्रिया गरेको हो । अहिले बाटो बन्द भएको अवस्थामा धेरै घण्टासम्म जनावरहरुलाई ट्रकमा राख्ने अवस्था नआओस् भनेर एनिमल नेपालले क्वारेन्टाइन, प्रहरी र अन्य सरोकारवाला पक्षसँग सहकार्य गरेर काम गर्ने गरेको छ । कार्यक्रम प्रमुख राणाले सडकको अवस्था राम्रो नभएसम्म पशु ढुवानी नगर्न सरकार पक्षलाई आग्रह गर्नु भएको छ । राणाले भन्नुभयो, “वन हेल्थ फेयरका बारेमा कुरा गर्दा उनीहरुको सेफ्टी र सेक्युरिटीका बारेमा आवाज उठाउने गरेका छौं । लामो समयसम्म ट्रकमा डर-त्रासमा बसेका जनावरको मासु खाँदा मानव स्वास्थ्यमा पनि असर गर्छ भन्ने वन हेल्थ पोलिसीले पनि भनेको छ । ३-४ दिनदेखि बाटोमा गलेका जनावरलाई काठमाडौं ल्याएको केही बेरमै बध गरिन्छ । थकित जनावर अनि ३ घण्टासम्म बाँच्न नदिइकन बध गरेर खाइने मासु मानव स्वास्थ्यका लागि पनि राम्रो हुँदैन । खसीबाख्रा ल्याउँदा पनि बसको हुटमा बाँधेर डिकीमा राखेर ल्याइन्छ, यस्ता क्रियाकलाप गर्नेलाई कानुनीरुपमै फाइन गर्ने भनिएको छ । तर पनि यो गलत क्रियाकलाप रोकिन सकेको छैन ।”
‘ढुवानीकर्ता जरिवाना तिरेर उम्किछन्, पशुपन्छीलाई हुने पीडा भने उस्तै’
एनिमल नेपालका प्रतिनिधिले होम क्वारेन्टाइनमा फोन गर्दा फाइन लिइरहेको प्रतिक्रिया दिने गरेका छन् । कार्यक्रम प्रमुख राणा भन्नुहन्छ , “फाइन तिराएर मात्र के गर्ने, जनावरले दुःख पाउने क्रम त रोकिँदैन नि ? त्यसको सोलुशन नै भएन । पशु ढुवानीकर्ता जसले ढुवानी मापदण्डविपरित जनावर ओसारपसार गर्छन्, उनीहरुलाई पाँचहजार तिर्नु ठूलो कुरो होइन ।” राणा भन्नुहुन्छ, “एउटा राँगाबाटै हजारौं फाइदा हुन्छ, तीसवटा राँगा ट्रकमा कोचेर ल्याउनेलाई पाँच हजार जरिवाना तिराइन्छ, यसबाट समस्या सोलुशन हुँदैन, यो मापदण्ड विपरित हो ।”
वास्तवमा एउटा राँगाबाट मात्रै पनि ढुवानीकर्ताहरुलाई ५० हजार रुपियाँसम्म फाइदा हुने गरेको छ । यस अवस्थामा तीसवटा राँगाको पाँच हजार जरिवाना तिराउने परिपाटीले जनावरले झन् सास्ती पाउने गरेको अवस्था छ । राजस्व उठाएर मात्रै समस्या समाधान नहुने र जनावरले झन् सास्ती पाउने अवस्था छ । यस्तै कुखुराको ढुवानी पनि मापदण्ड विपरित हुने गरेको छ । कुखुरालाई एकदमै दुःख दिएर ढुवानी गरेका कारण कतिपय मानिसले मासु नै नखाएको अनुभव राणाले पत्रकारसामु सुनाउनु भयो ।
ढुवानी मापदण्ड ‘ए टु जेड’ लागु गर्नुपर्छ भनेर एनिमल नेपालले सरकारलाई धेरै दबाब पनि दिएको छैन । तर खालि आफूहरुले इंगित गरेका ससाना १०–११ वटा मापदण्ड लागु गरिए मात्रै पनि जनावरले दुःख नपाउने र उपभोक्ताहरुले पनि स्वस्थ मासु खान पाउने एनिमल नेपालका जिम्मेवार व्यक्तिहरुको भनाइ छ । एनिमल नेपालले फम र उपयुक्त सफ्ट डोरी प्रयोग गर्न आग्रह गर्दा ढुवानी व्यसायीहरुले टेरेका छैनन् । पैसा खाएर आफ्नो कारोबारमा असर पार्ने भए भनेर ढुवानीकर्ताहरुले एनिमल नेपालका प्रतिनिधिहरुलाई धम्क्याउने गरेको गुनासो छ ।
तर पशु कल्याणको क्षेत्रमा काम गर्नेहरुको चाहाना ढुवानी गर्दा जनावरलाई डिस्कम्फर्ट नहोस् भन्ने छ । धेरै कमजोरीहरुमा सुधार पनि भएको छ । अझ चाडबाडको बेला बसको डिकीभित्र खसीबोका र कुखुरा कोचेर ल्याउँदा ट्राफिक, पुलिसले पनि चासो दिने गरेका छैनन् । ऐनमा पशुहरुलाई ट्रकमा राख्दा एकैतिर फर्काएर, एउटै साइजको राख्नु भनिएको छ । तर दुईतिर जनावर फर्काएर, सानोठूलो एकै ठाउँमा कोचेर ढुवानी गर्ने गरिएको छ । १८ देखि २० वटासम्म राख्न भनिए पनि ३० वटासम्म कोचेर राख्ने गरिएको छ । यसैगरी हावा पनि नछिर्ने गरि छोपेर ढुवानी गर्दा गर्मीको बेला जनावरलाई उकुसमुकुसको अवस्था हुने गरेको छ । चितवनमा होल्डिङ र रेस्टिङ सेन्टर हुनैपर्छ भनेर आवाज उठाए पनि त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । जनावर ढुवानी गर्दा ४० किलोमिटर भन्दा बढीको स्पिड हुनु हुँदैन । यसैगरी ६-६ घण्टाको फरकमा अनिवार्य रेस्ट गराउनुपर्छ । तर त्यस माफदण्डको ढुवानीकर्ताहरुले पटक्कै पालना गरेका छैनन् ।
एनिमल नेपालले बेलाबेला पशु ढुवानीको क्रममा कमजोरी हुने गरेको छ छैन भनेर अनुगमन गर्ने गरेको छ । अनुगमन गरेपछि कारबाहीको सिफारिस गर्नु भएको छ छैन भन्ने पत्रकारको जिज्ञासामा कार्यक्रम प्रमुख राणाले भन्नुभयो, “हामीले कारबाहीको सिफारिस गर्ने भनेको क्वारेन्टाइन अफिस र लाइभस्टक डिपार्टमेन्ट हो । अर्को ठाउँ भनेको भेटेरीनरी काउन्सिल हो । यी तीनवटा निकायमा यस्तो समस्या छ भनेर रिपोर्ट गर्ने गरिएको छ । कारबाहीको नाममा अहिलेसम्म जरिवाना मात्रै हुने गरेको अवस्था छ ।”
पशु ढुवानीका क्रममा पशुपक्षीले यातना भोग्दा उनीहरूको शरीरमा पर्ने असर मासुमा पर्ने र त्यो मासु खाँदा मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने राणाको भनाइ छ । मासु उत्पादनमा ओसारपसार हुने पशुलाई मापदण्ड अनुसार व्यवहार नगर्दा त्यसको प्रत्यक्ष असर मानव शरीरमा पर्ने हुन्छ । अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण ढुवानीमा गरिएका पशुले खान नपाउने अवस्था र घाइते भएको अवस्था छ । यस्ता समस्याहरु तर्फ सरकारले शीघ्र विशेष चासो राख्नुपर्ने हुन्छ । पशु ढुवानी गर्दा मापदण्ड अनुसार भएको छ कि छैन भनेर अनुगमन गर्ने पहिलो जिम्मेवारी कृषि तथा पशु मन्त्रालय अन्तर्गतको पशु विभागको हो । पशु विभागले क्वारेन्टाइन राखेर अनुगमन गर्न सक्छ । साथै नेपाल प्रहरीले पनि यसको अनुगमन र नियन्त्रण गर्न सक्छ ।
‘एनिमल एक्ट’ ल्याउनु पर्नेमा जोड
लामो समयदेखि जनावरको कल्याणका लागि काम गर्दै आएको संस्था एनिमल नेपालले शीघ्र ‘एनिमल एक्ट’ ल्याउनुपर्नेमा जोड दिएको छ । पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा कार्यक्रम प्रमख सुलक्षणा राणाले पशु ढुवानी मापदण्ड २०६४ प्रभावकारी कार्यान्वयन नभइरहेको अवस्थामा ‘एनिमल एक्ट’ ल्याइनुपर्नेमा जोड दिनुभयो । हरेक जीवित प्राणीको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि ‘एनिमल एक्ट’ प्रभावकारी हुने कार्यक्रम प्रमुख राणाको भनाइ छ ।
देशमा बालबालिकाको संरक्षणका लागि चाइल्ड प्रोटेक्शन ल छ, यस्तै महिलाका लागि महिला संरक्षण कानुन छ । तर एनिमल वेयलफेयर एक्ट नेपालमा नहुनु अचम्मैको विषय भएको पशुअधिकारकर्मीहरु तर्क गर्छन् । एउटा होलिस्टिक एनिमल वेयलफेयर एक्ट भए त्यसैबाट सबै समस्याहरुको समाधान त्यस मातहतमा समाधान गर्ने मद्धत पुग्ने राणा दाबी गर्नुहुन्छ ।
देशमा अहिलेको जस्तो विपत्ति आएमा कस्तो किसिमको गाइडेन्स गर्नुपर्छ भन्ने कुरा एनिमल वेयरफेयर एक्टको गाइड लाइन्सहरुले तोक्ने छ । क्षतिपुर्ति लगायतको विषय पनि प्रष्ट हुन्छ । चितवनमा एउटा होल्डिङ वा रेस्टिङ सेन्टर मात्रै बनाए पनि धेरै समस्याहरुको समाधान हुने देखिन्छ । पशु सेवा विभागले पनि छुट्टै एनिमल वेयलफेयर डिपाटमेन्ट खोल्ने बताउँदै आएको छ । यो स्थापना गरिए धेरै समस्याहरु समाधान हुने देखिन्छ ।
वास्तवमा जनावरले ढुवानीका क्रममा सास्ती पाउनु हुँदैन । सास्ती नपाउनु पशु अधिकारको विषय हो । अर्कोतिर स्वस्थ मासु खान पाउनु नागरिकको अधिकार हो । यस अवस्थामा सरकारले उचित ढुवानी नीति बनाउनु पर्ने हुन्छ वा अहिलेकै ढुवानी नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । नियम विपरित ढुवानी गर्नेहरुलाई सानो रकम तिराएर जरिवाना गर्नुभन्दा फर्काउने सम्मको आँट तथा इच्छा प्रहरी, क्वारेन्टाइन लगायतका जिम्मेवार व्यक्तिसँग हुनुपर्छ । यता पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना पनि कम भएको देखिएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












