कोदोखेतीले धानेको खोरियागाउँ, प्रोत्साहन गर्ने नीतिकाे खाँचाे
सिरहा: मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् ।
मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।
चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भन्नुभयो, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।”
यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाउनुभएको छ । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भन्नुभयो । उहाँले उत्पादन गर्नुभएको १०÷१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।
परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उहाँले जानकारी दिनुभयो ।
उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ ।
कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ ।
प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











