ताजा समाचार

संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची सचिवालयले सार्वजनिक गरेको छ ।

यसैगरी राष्ट्रिय सभाको आजको बैठकमा हिजो प्रतिनिधिसभाबाट स्वीकृत विभिन्न पाँच अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । भूमिसम्बन्धी अध्यादेशबारे अझै सहमति जुट्न सकेको छैन ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची समेत रहेको छ । यसैगरी बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org