ताजा समाचार

मेसी सन् २०२५ को डिसेम्बरमा चार दिने भ्रमणका लागि भारत आउने

काठमाडाैं । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान तथा विश्व फुटबल जगतका सर्वकालिन महान खेलाडी लिओनल मेसी सन् २०२५ को अन्त्यमा भारत भ्रमणमा आउने भएका छन्।

मेसी भारत आउने भएपछि भारतका फुटबल प्रशंसकमा ठूलो उत्साह छाएको छ।  मेसीले भारतको कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली गरी चार शहरको भ्रमण गर्नेछन्। मेसीको भारत भ्रमणलाई ‘गोट (सर्वकालीन महान) टुर’ नाम दिइएको छ। भ्रमणका क्रममा मेसीले बालबालिकाहरूका लागि फुटबल कार्यशाला (मास्टरक्लास) सञ्चालन गर्नेछन्।

मेसीलाई भारत ल्याउने योजना सफल हुनुमा कार्यक्रमका आयोजक सतद्रु दत्ताको मुख्य भूमिका छ। दत्ताले यसअघि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेज र ब्राजिलका महान खेलाडी रोनाल्डिन्होलाई कोलकाता ल्याइसकेका थिए। उनीहरू फर्कनुअघि दत्ताले दुवैलाई ‘मेसी र उनको टिमलाई भारत भ्रमणको अनुभवबारे राम्रो प्रतिक्रिया दिन’ अनुरोध गरेका थिए।

मेसी आगामी डिसेम्बर १२ मा कोलकता आउने बताइएको छ। भोलिपल्ट कोलकतामा उनको मुर्तिको अनावरण गरिने र सेभेन ए साइड मैत्रीपूर्ण खेल खेलिने बताइएको छ। खेलमा मेसीसँगै सौरभ गांगुली, जोन अब्राहम र भाइचुङ भुटिया जस्ता भारतीय हस्तीले पनि खेल्नेछन्।

त्यसपछि उनी अहमदाबाद जानेछन्। डिसेम्बर १४ मा मुम्बईको वानखेडे स्टेडियममा ‘गोट कन्सर्ट’ र ‘गोट कप’ आयोजना हुनेछ। जहाँ सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र रोहित शर्मासँग एक विशेष कार्यक्रम गर्ने योजना छ। डिसेम्बर १५ मा उनले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org