विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
काठमाडाैं । युवा (जेएनजी)ले गत भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीबाट लुटेका करिब आठ सय हतियार पनि अझैसम्म बरामद हुन सकेको छैन ।
आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् । त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा फरार कैदीलाई स्वस्फूर्त रूपमा फर्किन सरकारले सोमबारसम्मका लागि समय दिएको थियो । प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै छ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले फरार कैदी र लुटिएका हतियारका कारण शान्तिसुरक्षामा पर्ने असरलाई ध्यानमा राखी आवश्यक कारबाही सञ्चालन गरिने बताउनुभयो । घिमिरेले भन्नुभयो, “फरारमध्ये अधिकांश कैदी फिर्ता भइसकेका छन् । केही हतियार पनि बरामद भइसकेका छन् । बाँकी कैदी र हतियार नियन्त्रणका लागि हामी आवश्यक कारबाही गर्छौं ।”
कतिपय फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्च पदस्थ अधिकारीलाई धम्की दिन थालेको समेत पाइएको छ । कारागार फर्किन बाँकी कतिपय फरार कैदी हत्या, अपराध, लागुऔषध जस्ता जघन्य अपराधमा संलग्न रहेको सुरक्षा स्रोतको दाबी छ ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार सोमबारसम्म आठ हजार ७३५ जना कैदी कारागार फर्किएका छन् । देशभरका ७४ वटा कारागारमा ३० हजार ६१८ जना कैदी रहेकामा १५ हजार ५४५ जना कैदी भने कारागारमै रहेका थिए । महानिर्देशक शर्माले फरार सबै कैदीबन्दीलाई जतिसक्दो छिटो कारागार फर्किन समयसीमा तोकिएको र नफर्किएको खण्डमा कानुन अनुसार नियन्त्रणमै लिइने बताउनुभयो ।
शर्माले भन्नुभयो, “फरार कैदी जतिसक्दो छिटो आफैँ फर्किउन भन्ने अपेक्षा छ, नभए कानुन अनुसार नै नियन्त्रणमा लिन्छौँ ।” शर्माका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिन सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायलाई पनि पत्राचार भइसकेको समेत जानकारी दिनुभयो । आन्दोलनका क्रममा सुरक्षाका कारण देखाउँदै भदौ २४ गते रास्वपा सभापति रवि लामिछाने कारागारबाट निस्केको खबर बाहिरिएपछि देशभरका अधिकांश कारागार तोडिएका थिए । कारागारबाट बाहिर निस्केलगत्तै कैदीले प्रहरी कार्यालय र सर्वोच्च अदालतलगायत सार्वजनिक, निजी तथा व्यापारिक संस्थामाथि आगजनी र तोडफोडसँगै लुटपाट मच्चाएको सुरक्षा निकायको दाबी छ ।
नक्खु कारागार तोडफोड गरी फरार काभ्रेपलाञ्चोक पनौती–१२, गागलका सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनीषा घ्यावा तामाङको हत्या गरेका छन् । गम्भीर प्रकृतिका अपराधमा संलग्न केही फरार कैदीले बाहिर निस्केर पुनः हत्या अपराधमा संलग्न भएका कारण समग्र शान्तिसुरक्षा माथि नै चासो र चिन्ता व्यक्त हुन थालेको छ ।
अधिकांश भारतीय कैदी फरार
देशभरका कारागार तोडेर फरार रहेका अधिकांश विदेशी कैदीमध्ये भारतीय कैदी सीमा कटेको अनुमान गरिएको छ । फरार हुने भारतीय कैदीमा हत्या, अपहरण, बलात्कार, चोरी तस्करी, लागुऔषध तथा मानव तस्करीमा संलग्न रहेको पाइएको छ ।
विभिन्न कारागारमा रहेका एक हजार सात सय विदेशी कैदीमध्ये एक हजार ४७३ भन्दा बढी कैदी भारतीय थिए । केही भारतीय कैदी भने आफैँ कारागार फर्किएका छन् । त्यसै गरी चार वटा बाल सुधारगृहबाट भागेका एक हजार ४२२ जना बालबिज्याइँकर्तामध्ये अधिकांश फर्किएका छैनन् ।
गाेरखापत्रबाट साभार गरिएकाे
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












