ताजा समाचार

साउदी अरबले कफाला प्रणाली हटायो, नेपाली कामदारलाई राहत

काठमाडौं ।साउदी अरबले कफाला प्रणालीको अन्त्य गरेपछि नेपाली कामदारहरूलाई पनि राहत मिलेको छ । अब साउदी अरबमा रहेका विदेशी कामदारहरूले रोजगारदातासँगको सम्झौता तोडेर घर फर्कन वा अर्को कम्पनीमा काम गर्न पाउने भएका छन् । अब कामदारको राहादानी रोजगारदाताले राख्न पाउने छैन ।

यसअघि कामदारमाथि सम्पूर्ण अधिकार कफिल भनिने प्रायोजकमा रहने हुँदा उसले अनुमति नदिएसम्म अर्को कम्पनीमा जान मिल्दैनथ्यो । कतिपय अवस्थामा तलब नपाउँदा वा यातना पाउँदा समेत कानूनी उपचार खोज्न कठिनाइ थियो । अब सम्झौता तोड्न र अर्को कम्पनी रोज्न समेत पाउने भएकोले नेपालीहरूका लागि निकै सजिलो हुने साउदी अरबमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार सबै शहरहरूमा लागू हुन बाँकी भए पनि धेरैजसो शहरमा अनलाइनबाट आवेदन गरेर श्रमिकले रोजगारदाता परिवर्तन वा स्वदेश फिर्तीका लागि प्रक्रिया चाल्न सक्नेछन् ।

साउदी अरबमा झन्डै चार लाखको हाराहारीमा नेपाली कामदारहरू छन् । उनीहरूमध्ये धेरैले निर्माण क्षेत्र, कृषि क्षेत्र, सेवा र गाडी चालकका रूपमा काम गर्छन् । अहिलेसम्म श्रम सम्झौता नभएको साउदी अरबमा नेपाली कामदारहरूले मासिक औसत ३५ देखि ४० हजार रुपैयाँ बराबर न्यूनतम तलब पाउने गरेका छन् ।

कफाला मध्यपूर्वका देशहरूमा अभ्यासमा रहेको रोजगार प्रायोजन प्रणाली हो । यो प्रणालीमा कफाला भनिने प्रायोजकको अनुमति विना देशभित्र प्रवेश गर्न, काम गर्न, व्यवसाय गर्न वा स्वदेश फर्कन समेत अनुमति हुँदैन ।

धेरैजसो प्रायोजकले कामदारको राहदानी पनि लिएर राखेका हुन्छन् । मानव अधिकार सङ्गठनहरूले लामो समयदेखि कफाला प्रणालीलाई आधुनिक दासत्व भन्दै आएका छन् । कतारले यसअघि सन् २०२२ को विश्वकप फुटबलअघि कफाला प्रणालीलाई खुकुलो बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org