ताजा समाचार

जेनजीसहितको सर्वपक्षीय सरकार गठन गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट समाधान गर्न जेनजीसहितको सर्वदलीय (सर्वपक्षीय) सरकार गठनको प्रस्ताव अघि सारेका छन्।

सोमबार राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) को टोलीसँग भएको भेटवार्तामा अध्यक्ष ओलीले देशलाई अस्थिरता र अविश्वासको अवस्थाबाट निकाल्न सबै पक्षको सहभागिता आवश्यक भएको बताएका हुन्।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, ओलीले भेटका क्रममा ६ बुँदामा आधारित ‘मार्गचित्र’ प्रस्तुत गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र त्यसको पुनर्स्थापना गर्नुपर्ने धारणा राखे। साथै उनले संविधान संशोधनमार्फत संसद् सदस्य नभएको व्यक्ति पनि दलहरूको सहमतिमा राष्ट्रपतिबाट चुनावी सरकारको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।

‘संविधान संशोधन गरेर संसद् बाहिरको व्यक्तिलाई समेत चुनावी सरकारको नेतृत्व गर्ने अधिकार दिनुपर्छ,’ रिजालले ओलीको भनाइ उद्धृत गर्दै बताए।

ओलीले जेनजी आन्दोलनबाट आफू प्रधानमन्त्री पदबाट हटाइएकाले त्यसमा कुनै तिक्तता नराख्ने र पुनः प्रधानमन्त्रीको दाबी नगर्ने पनि स्पष्ट पारेका छन्। उनले यस्तो सरकार गठन भए तीन महिनाभित्रै निर्वाचन सम्पन्न गर्न सकिने र २१ फागुनमै प्रतिनिधिसभा चुनाव गर्न सम्भव हुने विश्वास व्यक्त गरे।

उनको भनाइमा, ‘संविधान र लोकतन्त्रलाई पुनः मार्गमा ल्याउन आवश्यक सबै कामका लागि राजनीतिक दलहरूबीच अग्रिम सहमति निर्माण अनिवार्य छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org