ताजा समाचार

सेनालाई निर्देशन दिँदै प्रधानमन्त्रीले भनिन्- ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्दै एक थोपा पनि रगत नबग्ने र कुनै पनि व्यक्ति घाइते नहुने गरी सुरक्षा व्यवस्था मिलाउन नेपाली सेनालाई निर्देशन दिएकी छिन्।

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले निर्वाचन सुरक्षाको तयारीबारे जानकारी लिँदै सेनालाई स्पष्ट कार्ययोजनासहित अघि बढ्न आग्रह गरिन्। जनतालाई पूर्ण सुरक्षाको अनुभूति दिलाउने, प्रहरी कारबाहीलाई सहजीकरण र सहयोग गर्ने तथा सबै राजनीतिक दलका गतिविधि निर्वाध रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न उनले जोड दिइन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियार खोजी र नियन्त्रणमा लिन, सुरक्षा निकायबीच सहकार्य बढाउँदै स्थिति सामान्य बनाउन र फरार अपराधी पक्राउ गर्न प्रहरीलाई अधिकतम सहयोग गर्न पनि सेनालाई निर्देशन दिएकी छन्।

यस अवसरमा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी कार्ययोजनाबारे ब्रिफिङ प्रस्तुत गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको रणनीति र ढाँचाबारे पनि जानकारी गराइएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारको प्रमुख जिम्मेवारी मुलुकमा शान्ति–सुरक्षा कायम गर्दै यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताउँदै सो कार्यमा नेपाली सेनाले तोकिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org