ताजा समाचार

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर मात्र १३८ रन बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगरले मिलेर १० रन मात्रै जोड्न सके।

त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक थियो। सीता र रुबिनाले मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याए। रुबिनाले अविजित ३७ रन बनाइन् भने सीता रानामगरले अविजित २७ रन बनाइन्। बिन्दु रावलले १८ रन बनाइन्। नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० रन बनाइन् भने रोबिन रिके १९ र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्। नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिए भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। आजको जितसँगै नेदरल्यान्ड्स सुपर सिक्स चरणमा प्रवेश गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org