ताजा समाचार

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसैगरी, दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो। सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको थियो। त्यही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा १ जना अन्य रहेका छन्।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक निर्वाचन प्रणालीमार्फत १ सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org