ताजा समाचार

बंगलादेश टी-२० विश्‍वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने

काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले बंगलादेशको स्थान स्कटल्याण्डले ग्रहण गर्ने निर्णय गरेको हो।

बंगलादेश समूह ‘सी’ मा रहेको थियो, जहाँ अब स्कटल्याण्डले कोलकाता र मुम्बईमा खेल्ने भनिएका खेलहरू खेल्नेछ। नेपाल पनि यही समूहमा रहेको छ र अब नेपालले बंगलादेशको सट्टा फागुन ५ मा मुम्बईमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग खेल्नेछ।

बंगलादेशले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीहरू भारत पठाउन नसक्ने अडान लिएको थियो। आईसिसीले भने प्रतियोगिता सुरु हुन थोरै समय मात्र बाँकी भएको र भारतमा ठूलो सुरक्षाको खतरा नदेखिएको भन्दै खेल सार्न नमिल्ने बताएको थियो।

यो विवाद भारत–बंगलादेशबीच बिग्रँदो सम्बन्ध र कोलकाता नाइट राइडर्सले मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएको घटनासँग पनि जोडिएको थियो। आईसिसीले बंगलादेशलाई बिहीबारसम्मको समय दिएको थियो, तर बंगलादेशले अन्तिमसम्म भारत नजाने अडान कायम राखेपछि आकस्मिक बैठकमा बहुमतले उसलाई प्रतियोगिताबाट हटाउने निर्णय गरियो।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइसिसीमाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएका छन्। उनले सन् २०२५ को च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तान जान अस्वीकार गर्दा लचकता अपनाएको तर बंगलादेशको सुरक्षा चिन्तालाई बेवास्ता गरेको बताए।

बंगलादेशले आइसिसीको निर्णयविरुद्ध विवाद समाधान समितिमा जाने तयारी गरेको छ। यद्यपि बहुमतको निर्णय भएकाले पुनरागमनको बाटो कठिन देखिन्छ।

टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि सुरु हुँदैछ। बंगलादेशले अवसर गुमाए भने स्कटल्याण्डले अप्रत्याशित रूपमा विश्वकप खेल्ने मौका पाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org