ताजा समाचार

हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी

काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको गोदाममा राखिएका साबुन, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार, आगलागी विद्युत् सर्टबाट भएको अनुमान छ। “गोदाममा रहेको कुनै पनि सामान जोगाउन सकेनौं, सबै खरानी भइसकेको छ। क्षतिको निश्चित मूल्य तत्काल भन्न सकिँदैन, तर करिब १०–१२ करोड बराबरको क्षति भएको हुनसक्छ,” बुढाथोकीले बताए।

मध्यराति अचानक आगो लागेपछि उद्योगले तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरेको थियो। तर आगो नियन्त्रणमा नआएको कारण क्षति ठूलो भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, आगो नियन्त्रणका लागि हेटौँडा उपमहानगरपालिकाबाट दुईवटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयवासीको सक्रिय प्रयास गरिएको थियो। केहीबेरअघि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको उनले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org