काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। रास्वपाले अवलम्बन गरेको राजनीतिक दिशा र गतिविधिप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको घोषणा गरेकी हुन्।
रास्वपाको पछिल्लो राजनीतिक यात्रा अस्पष्ट र गन्तव्यविहीन देखिएको उल्लेख गर्दै शाहीले यस्तो दिशाहीन यात्रामा सँगै हिँड्न नसक्ने निष्कर्षमा पुगेको बताइन्। सोही कारण आफू पुनः “पुरानो राजनीतिक घर” कांग्रेसमा फर्किएको उनको भनाइ छ।
शाहीको कांग्रेस प्रवेशसँगै जुम्लाको चुनावी अंकगणितमा कांग्रेसलाई थप बल पुग्ने आँकलन गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीको पार्टी प्रवेश केवल दल परिवर्तन मात्र नभई वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति र दिशामाथि गम्भीर प्रश्न भएको बताइन्। “यो विषयको हिसाबकिताब जनताले पनि गरिरहेका छन्,” खड्काले भनिन्।
केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर कांग्रेसमा स्वागत गरेकी थिइन्। उनका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठन सुदृढीकरणमा सकारात्मक सन्देश दिएको छ।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, स्पष्ट निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए।
जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी शाही स्थानीय राजनीतिमा प्रभावशाली नेतृका रूपमा परिचित छिन्। वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनी प्रभावशाली भूमिकाकै कारण छोटो समयमै जिल्ला उपसभापति बनेकी थिइन्।
निष्ठाको राजनीति गर्ने शाहीले रास्वपाको दिशाहीन यात्रासँग आफू अघि बढ्न नसक्ने ठहर गर्दै पार्टी छाड्ने निर्णय लिएको जनाइएको छ। शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र देखिएको असन्तुष्टिको संकेतका रूपमा मात्र नभई अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रूपमा पनि हेरिएको छ।











