ताजा समाचार

विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता

काठमाण्डौ – फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो खेल जितेको फ्रान्स समूह ‘आई’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । यो समूहबाट साबिक उपविजेता फ्रान्ससहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए । गएरातिको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो ।

यो खेलमा फ्रान्सका उसमान डेम्बेले ह्याट्रिक गरे । उनले खेलको ७ औँ, २० औँ र ३२ औँ मिनेटमा गोल गरे । उनले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाए । विश्वकपमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान भने अस्ट्रियाका एरिक प्रोब्स्टको नाममा छ । उनले सन् १९५४ को विश्वकपमा २४ मिनेटभित्र ह्याट्रिक गरेका थिए ।

त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको इन्जुरी समयमा एक गोल थपे । नर्वेका थेलो आसगार्डले एक गोल फर्काए । नर्वेले यो खेलमा एर्लिङ हालान्डलाई विश्राम दिएको थियो । यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए । विश्वकप फुटबलमा गए राति नै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५ गोलअन्तरले हराएको छ । यो समूहमा लगातार तीन खेलमा पराजित इराक भने बाहिरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org