ताजा समाचार

रसुवागढी भन्सार यार्डमा बाढीको कहर, सयौँ ईभी र अर्बौंका सामान बगे

काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन (ईभी) बगाएको छ। व्यवसायीका अनुसार भन्सार यार्डमा रहेका करिब ५ देखि ७ सय वटा ईभीसमेत बाढीले बगाएको प्रारम्भिक अनुमान छ।

नजिकिँदै गरेका तिज, दसैं, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरी चीनबाट ठूलो परिमाणमा आयात गरिएका रेडिमेड कपडा, जुत्ताचप्पल, ब्याग, खाद्यान्न, विद्युतीय सामग्रीलगायत सामान बाढीको चपेटामा परेका छन्। सयौँ मालवाहक कन्टेनरसमेत बाढीले क्षति पुर्‍याएको व्यवसायीहरूले बताएका छन्।

यस वर्ष चीनबाट आयात हुने सामानको मुख्य नाका रसुवागढी बनेको थियो। गत साउनदेखि सिन्धुपाल्चोकको तातोपानी नाका पूर्णरूपमा बन्द भएपछि व्यवसायीले चीनबाट आयात हुने अधिकांश सामान रसुवागढी नाकातर्फ मोडेका थिए।

चाडपर्वका लागि आवश्यक सामानको अर्डर गर्न व्यवसायीहरू असार र साउनमै चीन पुगेका थिए। चीनतर्फबाट सामान धमाधम नेपाल भित्रिए पनि वर्षाका कारण नेपालतर्फको सडक ठाउँ–ठाउँमा बिग्रिएका कारण ती सामान काठमाडौंसम्म ढुवानी हुन सकेका थिएनन्। फलस्वरूप ठूलो परिमाणमा मालसामान र कन्टेनर भन्सार यार्डमै रोकिएका थिए।

सडक मर्मतपछि यातायात सञ्चालनमा आएपछि क्रमशः भन्सार जाँचपास गरी काठमाडौं पठाउने तयारी भइरहेका बेला बाढीले यार्ड नै तहसनहस बनाएको हो। भोटेकोशी नदीमा आएको अचानकको बाढीले रसुवागढी भन्सार क्षेत्रसहित आसपासका बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको छ। बाढीको प्रभाव रसुवाका तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म परेको जनाइएको छ।

बाढीका कारण भन्सार कार्यालय तथा आसपासका दर्जनौँ बस्ती प्रभावित भएका छन्। सञ्चार टावरमा समेत क्षति पुगेपछि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएकाले मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ। व्यवसायी, भन्सार एजेन्ट तथा यातायात मजदुरसमेत बाढीबाट प्रभावित भएका छन्। घटनापछि आयातकर्ताहरूले करोडौँ रुपैयाँको व्यापारिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिएको छ भने आगामी चाडपर्वका लागि नेपाली बजारमा सामानको आपूर्तिसमेत प्रभावित हुने जोखिम बढेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org