ताजा समाचार

आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग

काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

ग्रुपका अनुसार उक्त सहयोग आईएमई ग्रुप तथा यसद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमार्फत उपलब्ध गराइनेछ। सहयोगमा ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स, साझेदार कम्पनी अशोक लेल्यान्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आईएमई फाउन्डेसनलगायत अन्य कम्पनीहरूको सहभागिता रहनेछ।

यसैगरी, आईएमई ग्रुपअन्तर्गत कार्यरत कर्मचारीहरूको तर्फबाट समेत एक दिनको तलब बराबरको रकम विपद् प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि उपलब्ध गराइने ग्रुपले जनाएको छ।विपद्का समयमा स्वदेश तथा विदेशबाट राहत सहयोग जुटाउन सहज होस् भन्ने उद्देश्यले आईएमईले विश्वभरबाट नेपाल पठाइने सहयोग रकमका लागि निःशुल्क रेमिटेन्स सेवा उपलब्ध गराएको जनाएको छ। साथै, खल्ती बाइ आईएमई मोबाइल वालेटमार्फत सरकारको उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सामग्रीसमेत उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ। आईएमई ग्रुपका अनुसार उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गर्न लागिएको हो। अकल्पनीय विपद्बाट प्रभावित नागरिकको खोज तथा उद्धार, घाइतेहरूको उपचार, प्रभावित परिवारका लागि खाद्यान्न तथा आवश्यक सामग्रीको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राहत कार्यक्रम अघि बढाइएको हो।

ग्रुपले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्को यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। आईएमई ग्रुपले यसअघि पनि देशका विभिन्न क्षेत्रमा भएका बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org