बाढीपछिको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपियाँ आवश्यक, अर्थसचिव उपाध्याय भन्छन्- बजेट अभाव हुन्न
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माणका लागि सरकारले सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरेको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले दुई चरणमा उक्त रकम आवश्यक पर्ने देखाएको हो । पहिलो चरणमा आगामी छ महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि आठ अर्ब ७३ करोड ५० लाख रुपियाँ र दीर्घकालीन पुनर्निर्माणका लागि सात खर्ब १४ अर्ब ५८ करोड दुई लाख रुपियाँ आवश्यक पर्ने अनुमान छ ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति पूर्वाधार क्षेत्रमा पुगेको छ । यसको पुनरुत्थानका लागि चार खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ । ऊर्जा तथा ग्रिड प्रणालीमा मात्रै तीन खर्ब ९० अर्ब ६२ करोड रुपियाँभन्दा बढी आवश्यक पर्ने देखिएको छ । बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच सोलार प्लान्ट प्रभावित भएका छन् । सडक तथा यातायात पूर्वाधारका लागि ७३ अर्ब ३४ करोड रुपियाँ आवश्यक पर्ने अनुमान छ । धादिङ, नुवाकोट र रसुवामा ६९ किलोमिटर सडक क्षतिग्रस्त हुँदा ३३ मोटरेबल पुल बगेका छन् । ६४ झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा सात हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन् । साथै ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सामाजिक क्षेत्रको पुनरुत्थानका लागि एक खर्ब तीन अर्ब ५४ करोड ९९ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।व्यापार, बैंकिङ तथा कृषि क्षेत्रको पुनरुत्थानका लागि ५० अर्ब ७७ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ । बाढीबाट एक हजार ८०६ हेक्टर कृषिबाली, १७ बैंक शाखा र चार हजार आठ सय व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् ।
नदी व्यवस्थापन तथा विपत् जोखिम न्यूनीकरणका लागि थप ९४ अर्ब ७५ करोड रुपियाँ र लेदो तथा भग्नावशेष व्यवस्थापनका लागि ५१ करोड ५४ लाख रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले दाता सम्मेलन आयोजना गर्ने, अनुदान तथा सहुलियतपूर्ण ऋण लिने र जलवायु न्यायअन्तर्गत क्षतिपूर्ति माग गर्ने तयारी गरेको छ । तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबारसम्म १२ अर्ब ६३ करोड ९२ लाख रुपियाँ मौज्दात रहेको जनाइएको छ ।
पुनर्निर्माणमा बजेट अभाव हुन दिइँदैन : अर्थसचिव उपाध्याय
अर्थसचिव डा. घनश्याम उपाध्यायले बाढीपछिको पुनर्निर्माणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताएका छन्। उनले पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध राजस्वको अधिकतम उपयोग गर्नुका साथै वैदेशिक सहायता परिचालनलगायतका विकल्पमार्फत आवश्यक स्रोत व्यवस्थापन गरिने बताए।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको उल्लेख गर्दै अर्थसचिव उपाध्यायले क्षतिको यकिन विवरण प्राप्त भएपछि पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार अहिले सरकारको सम्पूर्ण ध्यान बाढीपीडितको राहत, उद्धार तथा तत्कालीन व्यवस्थापनमा केन्द्रित रहेको छ।
Comments
अरु समाचार
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
सुरुङभित्र फसेकाको उद्धारमा सबैभन्दा ठूलो समस्या के ? टनलिङ एसोसिएसनले सार्वजनिक गर्यो कारण
काठमाडौं । उद्धारकर्मीहरू यो समाचार तयार पारुञ्जेलसम्म विभिन्न सुरुङ संरचनाभित्र फसेका हुनसक्ने मानिसहरूको खोजीमा जुटिरहेका छन्। तर, सुरुङभित्र फसेकाहरूको खोजी...
-
भोटेकोशी बाढी: उत्पादन क्षेत्रमा १ खर्ब ५० अर्ब रुपियाँको क्षति !
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण उत्पादन क्षेत्रमा रु एक खर्ब...
-
गृहमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध मानवअधिकारकर्मीको कडा आपत्ति, गृहमन्त्रीले के भनेका थिए ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको अधिकारकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन...
-
ग्यास अभाव भएपछि अनौठो विरोधको शैली, दाउरा बालेर क्याम्पस अगाडि खाना
काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा अनौठो शैलीमा सरकारको विरोध गरेको छ। ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण...
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...












