ताजा समाचार

ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?

किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति  ट्रम्पले रुसी राष्ट्रपति  पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमण भएको हो । आक्रमणमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ  ।  मृतकमध्ये तीन बालबालिका छन् । युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो ।

पछिल्लो चार दिनमा रुसी बमबारीका कारण ५५ जनाभन्दा बढीको मृत्यु भएको छ । ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता गरेको घोषणा गरेको भोलिपल्टै पछिल्ला आक्रमण भएका हुन् । यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तन हो ।

जापोरिजियामा आवासीय भवनमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार बताउनुभयो । रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन् । यद्यपि, दुवै देशबिच लामो दूरीका हवाई आक्रमण जारी छन् ।

अमेरिकी मध्यावधि निर्वाचन अघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ । ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत पुटिनसँगको टेलिफोन वार्तामा उक्त सम्झौता भएको जानकारी दिनुभएको थियो । सुरुमा उक्त वार्तामा रुसमा देखिएको प्लेगको शङ्कास्पद घटनाबारे छलफल हुने अपेक्षा गरिएको थियो ।

तर ट्रम्पले रुसले तत्कालै तीन लाख टनभन्दा बढी डिजेल उपलब्ध गराउने र त्यसपछि नोभेम्बरमा थप पाँच लाख टन तथा त्यसको केही समयपछि १० लाख टन डिजेल दिने घोषणा गर्नुभयो । त्यसलगत्तै छोटो अवधिमा थप ३० लाख टन डिजेल उपलब्ध गराइने पनि उहाँले उल्लेख गर्नुभयो । ट्रम्पको यो घोषणाले गत महिना उहाँले नै हस्ताक्षर गरेको रुसमाथिको व्यापक प्रतिबन्ध सम्बन्धी कानुनसँग विरोधाभास सिर्जना गरेको छ ।

उक्त कानुनको उद्देश्य युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग पुर्याउने रुसी तेल तथा ग्यासको आम्दानीमा रोक लगाउनु थियो । सम्झौताप्रति प्रतिक्रिया जनाउँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यसको जवाफ थप आतङ्क र विश्वासघातबाट दिने बताउनुभएको छ । उहाँले यस्तो सम्झौताले युद्धमा रुसको लगानी बढाउने र युद्ध लम्ब्याउन सहयोग पुर्याउने चेतावनी दिनुभयो ।

“यसले रुसलाई थप हत्या गर्न, लामो समयसम्म युद्ध जारी राख्न, अमेरिकाप्रति अझ कम सम्मान देखाउन तथा विश्वमा थप क्षति र विनाश निम्त्याउन सक्षम बनाउँछ”, जेलेन्स्कीले भन्नुभयो । वासिङ्टनस्थित युक्रेनी दूतावासले जारी गरेको विज्ञप्तिमा उहाँले यसलाई “बलिया साझेदारबाट भएको कमजोर निर्णय” भन्दै आलोचना गर्नुभएको छ ।

युद्ध अन्त्य गर्ने प्रस्तावबारे छलफल गर्न ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुशनर मियामीमा युक्रेनी अधिकारीसँग भेटवार्ता गरिरहेका बेला ट्रम्पले डिजेल सम्झौताको घोषणा गर्नुभएको थियो । “मलाई लाग्छ, हाम्रो टोलीलाई केवल धुवाँको पर्दाका रूपमा प्रयोग गरिँदै छ । यो पक्कै पनि उचित होइन । साझेदारले एक अर्कासँग गर्ने व्यवहार यस्तो हुनुहुँदैन”, जेलेन्स्कीले भन्नुभयो । रासस/एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org