ताजा समाचार

राजनीतिक प्रतिशोधका लागि राज्यका संयन्त्र दुरुपयोग नगर्न गगन थापाको चेतावनी

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्। सरकारको आलोचना गर्नेहरूलाई डर, त्रास र दबाबमा पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले आफू यस्ता धम्कीबाट नडराउने स्पष्ट पारे।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको बताए। पक्राउ गर्न आउने भए हतकडी लिएर आउन चुनौती दिँदै उनले सत्ताको दबाबमा कांग्रेसले आफ्नो चरित्र र आलोचनात्मक भूमिका कमजोर नबनाउने बताए।

राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले माओवादी सशस्त्र द्वन्द्वकालदेखि शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको उल्लेख गरे। प्रश्न उठाउँदा राजनीतिक मूल्य चुकाउनुपरे पनि आफू पछि नहट्ने उनको भनाइ थियो।

थापाले दोषीमाथि कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्नेमा कांग्रेसको पूर्ण समर्थन रहने बताए। तर सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र राजनीतिक प्रतिपक्षीलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको चेतावनी छ।

उनले विगतमा शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा पनि निकटताका आधारमा कसैले छुट पाउनु हुँदैन भन्ने कांग्रेसको धारणा रहेको स्मरण गराउँदै अहिले प्रधानमन्त्री बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट भएकै आधारमा कसैले उन्मुक्ति पाउन नहुने बताए।

राज्यका निकायले गर्ने अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै उनले अनुसन्धान निष्पक्ष, कानुनसम्मत र राजनीतिक पूर्वाग्रहरहित हुनुपर्नेमा जोड दिए। प्रतिपक्षीलाई तह लगाउन राज्यका संयन्त्र प्रयोग गरिए कांग्रेसले त्यसको जवाफ माग्ने र प्रतिवाद गर्ने उनले बताए।

सरकारका राम्रा काममा सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने कांग्रेसको नीति रहेको उल्लेख गर्दै थापाले दबाब र धम्कीमार्फत पार्टीको आलोचनात्मक भूमिकालाई कमजोर बनाउने प्रयास सफल नहुने स्पष्ट पारे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org