ताजा समाचार

संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग

काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग आज आयोजित छलफलमा निर्वाचनको सम्भावित मितिबारे परामर्श गरिएको हो।

छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने तथा सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार परामर्श भएको बताए। यस विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाएको उनले जानकारी दिए।

प्रवक्ता भट्टराईले योग्य मतदाता मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राखेको बताए। साथै, आयोगले गरेका सुधारात्मक कामबारे पनि राजनीतिक दलका नेताहरूलाई जानकारी गराइएको उनले बताए।

मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उनले नामावलीलाई थप व्यवस्थित र त्रुटिरहित बनाउने काम अघि बढाइएको जानकारी दिए।

उनले देशको कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी भए पनि मतदाता नामावलीमा पुरुष मतदाताको सङ्ख्या बढी देखिएको अवस्थाबारे पनि छलफलमा जानकारी गराइएको बताए। मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषयसमेत नेताहरूसमक्ष प्रस्तुत गरिएको उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org