ताजा समाचार

PNO परिचयपत्र र भिसा सहुलियतको माग गर्दै सभापति श्रेष्ठसँग छलफल

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाल सरकारको संसदीय सुनुवाइ समितिका सभापति एवं माननीय बोधनारायण श्रेष्ठ र थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति (PNO) तथा गैरआवासीय नेपाली संघ (NRNA) का प्रतिनिधिहरूबीच विशेष भेटघाट भएको छ।

भेटघाटमा PNO का संयोजक कुमार कार्की, गैरआवासीय नेपाली संघ (NRNA) थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकाललगायतको उपस्थिति थियो।

छलफलका क्रममा PNO संयोजक कार्कीले विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूको मातृभूमि नेपालप्रतिको माया, भावनात्मक सम्बन्ध र नेपालको विकासमा योगदान पुर्‍याउने चाहनाबारे प्रकाश पारे।

उनले विदेशमा रहेका सबै नेपाली मूलका व्यक्तिलाई मातृभूमिप्रतिको अपनत्व र पहिचानको अनुभूति गराउन नेपाल सरकारले PNO परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरे। सोही मागसहितको अनुरोधपत्रसमेत उनले सभापति श्रेष्ठलाई हस्तान्तरण गरे।

त्यसैगरी, नेपालमा अध्ययन गर्न चाहने नेपाली मूलका विद्यार्थी, हाल नेपालमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकले भोग्नुपरेका भिसासम्बन्धी व्यावहारिक समस्याबारे पनि ध्यानाकर्षण गराइएको थियो। नेपाल आवतजावतलाई सहज बनाउन आवश्यक भिसा सहुलियतको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको थियो।

NRNA थाइल्याण्डका पूर्वअध्यक्ष भविन्द्र बस्नेत र निवर्तमान अध्यक्ष सञ्जय ढकालले थाइल्याण्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले नेपाल भ्रमणका क्रममा भोग्नुपरेका समस्या तथा नेपालको विद्यमान भिसा नीतिबारे धारणा राखेका थिए। उनीहरूले विश्वका विभिन्न मुलुकले आफ्ना डायस्पोराप्रति अपनाउँदै आएका नीति तथा उपलब्ध गराउँदै आएका सुविधासँग नेपालको नीतिको तुलना गर्दै नेपाली मूलका व्यक्तिहरूका लागि पनि सहज व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।

छलफलका क्रममा उठाइएका विषय तथा मागलाई सकारात्मक रूपमा लिँदै सभापति श्रेष्ठले नेपाली मूलका नागरिक तथा विद्यार्थीहरूले भोगिरहेका समस्याप्रति आफू संवेदनशील रहेको बताए। उनले प्रस्तुत माग तथा सुझावलाई नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मातृभूमि नेपाल र विदेशमा रहेका नेपाली मूलका व्यक्तिहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, उनीहरूको पहिचान सुनिश्चित गर्ने तथा नेपाल आवतजावतलाई सहज बनाउने विषयमा भएको उक्त भेटघाटलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org