गर्भैदेखि सुरु हुन्छ महिला हिंसा
रोल्पा। पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपाली समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकेको छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. भवानीप्रसाद शर्माका अनुसार कुनै कुनै समुदाय वा परिवारमा अझै पनि छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने गरिएको पाइन्छ । गर्भवती भएको १३ हप्तामा लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने अनि छोरा भए विशेष ख्याल राख्ने प्रचलनबाट नेपाली समाज ग्रसित छ ।
अर्कातर्फ गर्भमा छोरी छ भन्ने जानकारी भएमा गर्भवती महिलालाई पेटभरि खान नदिने, छोरी गर्भमा भएकै कारण कुटपिट गर्ने वा मानसिक रुपमा यातना दिने, दोस्रो विवाहको धम्की दिने वा विवाह नै गर्ने गरेको पाइन्छ । साथै, छोरी जन्मिसकेपछि पनि विद्यालय पठाउनुको साटो उनीहरुलाई काममा जोत्ने र शिक्षादीक्षा लगायतका आधारभूत आवश्यकताबाट वञ्चित पार्ने जस्ता उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । यस्ता निरक्षर चेली दलालको फन्दामा परी नचाहेर पनि किशोरावस्थामा यौन शोषणमा पर्ने गरेका छन् । यति मात्र होइन छोरालाई बढी महत्व दिने परिवारका छोरीहरु वा बुहारीहरु पनि जानी नजानी हिंसाका शिकार बनिराखेका छन् । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पीडा खेप्दै आएका छोरीहरु विवाह भइसकेपछि पनि सासूससुरा र श्रीमानका अमानवीय ब्यवहार सहन बाध्य हुन्छन् जसका कारण गर्भवती भएको अवस्थामा गर्भ तुहिन सक्छ वा आमाकै मृत्यु हुनसक्छ । यसरी गर्भदेखि नै हिंसा खेप्दै आएका महिलाहरु उमेर चढ्दै जाँदा विभिन्न रोगबाट ग्रसित हुनुको साथै बुढेशकालमा पनि पाठेघर झर्ने समस्याबाट प्रताडित हुने गरेको डा। शर्मा बताउनुहुन्छ ।
यस्तै, महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार छोरालाई बढी मान्यता दिने हाम्रो जस्तो रुढीग्रस्त समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको छ । कतिपय छोरीलाई जन्मनबाट वञ्चित गरेर भ्रूण हत्या गरिन्छ । उदाहरणका लागि पहिलो सन्तानका रुपमा छोरा जन्मिएको छ र गर्भमा पुनः दोस्रो सन्तान छोरा नै छ भने सहज रुपमा स्वीकारिन्छ तर पहिलो सन्तान छोरी छ र दोस्रो पटकको गर्भमा पनि छोरी नै देखियो भने परिवार वा श्रीमान् त्यसलाई स्वीकार्न हिच्किचाउँछ । विपन्न परिवारमा भने गर्भ जाँच गर्नुपर्छ भन्ने चेतना वा पैसा नभएर छोरा पाउने लालसामा छिटो छिटो गर्भधारण गर्ने गरेको पाइन्छ जसका कारण आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ । परिवारलाई सुखी र समृद्ध बनाउनु छ भने ‘छोरा हुन् वा छोरी दुबै बराबरी’ भन्ने नारालाई सार्थक बनाउन जरुरी भएको आचार्य बताउनुहुन्छ ।
जिल्ला अस्पताल रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र १६ देखि ४५ वर्ष उमेर समूहका १९ जना महिलाले गर्भपतन गराएका छन् । उनीहरुले लिङ्ग पहिचान गर्न चाहेको भएपनि त्यसो गर्दा लैङ्गिक हिंसा हुने भन्दै अस्पतालले लिङ्ग पहिचान गरिदिएन । स्वास्थ्य क्षेत्रमा करिव १५ वर्षको लामो अनुभव सँगाल्नुभएकी जिल्ला अस्पताल रोल्पाकी सिअनमी नयना घर्तीका अनुसार करिव ८५ प्रतिशत मानिसले छोरालाई प्राथमिकता दिने गरेका छन् । गर्भमा बच्चा ‘छोरी’ चलिसकेको अवस्थामा पनि गर्भपतन गराउन चाहनेहरुलाई कार्यालयका तर्फबाट आफूहरुले परामर्श दिएर पठाउने गरेको उहाँ बताउनुहुन्छ । यसरी छोरा जन्माइसकेका महिला धेरै सन्तान हुने बहानामा गर्भपतनका जटिलताका बारेमा सचेत गराउँदा गराउँदै पनि ४/५ पटकसम्म गर्भपतन गराउन आउने गरेका छन् ।
यस्तै, स्टाफनर्स शर्मिला आचार्य छोरी जन्माउने महिलाहरु अस्पतालमै मन खिन्न बनाउने, रुने, अस्पतालमै अब श्रीमान्ले दोस्रो विवाह गर्ने भयो भनेर पीडा पोख्ने गरेको अनुभव सुनाउनुहुन्छ । यस्ता महिला तथा तिनका श्रीमान् वा सुत्केरीका कुरुवालाई सम्झाइबुझाई पठाउने गरिएको छ ।
रोल्पा हस्पिटल प्रालि लिबाङका डा। अमिर शेरचनका अनुसार अस्पतालमा सुरुसुरुका दिनमा लिङ्ग पहिचान गरेर गर्भपतन गराउन ठूलो सङ्ख्यामा महिला आउने गरेको भएपनि अस्पतालबाट लिङ्ग पहिचान नगराउने भएका कारण पछिल्लो दिनमा लिङ्ग पहिचानका लागि कम मात्रै महिला अस्पताल आउने गरेका छन् ।
अवैध गर्भपतन गर्न आउने महिलाले लिङ्ग पहिचानको कुनै वास्ता गर्दैनन् तर श्रीमान्बाट रहेको गर्भ जाँच वा तुहाउन चाहने महिलाले भने शतप्रतिशत लिङ्ग पहिचान गर्न चाहन्छन् । नेपाल सरकारले लिङ्ग पहिचानमा रोक लगाएको हुँदा अस्पतालले लिङ्ग पहिचान नगरी बच्चाको स्वास्थ्य स्थितिका बारेमा मात्र जानकारी दिने गरेको छ । यस आवको साउन महिनादेखि अहिलेसम्म १८ देखि ४० वर्ष उमेर समूहका करिव ४० महिलाले गर्भपतन गराएका छन् । गर्भ जाँच गराउनेको सङ्ख्या ७५ छ ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले ७ महिना सम्मका गर्भवती महिला पनि गर्भमा छोरी भएको थाहा पाएर गर्भपतनका लागि आउने गरेको बताए । श्रीमान्ले धेरै छोरी जन्माएका कारण रातदिन यातना दिँदै आएको र पुनः गर्भमा छोरी देखिएपछि ‘बरु छोरी जन्माएर जीवनभर आमा र बच्चा दुबैले हिंसा सहनुभन्दा गर्भपतन गर्न जाती भन्दै आएकी एक महिलालाई गर्भपतन हुन सक्दैन भनी जवाफ फर्काएपछि निराश हुँदै फर्केको’ अनुभव उनले सुनाए । वैधानिक रुपमा १२ हप्ता सम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था भएपनि गोप्य रुपबाट लिङ्ग पहिचान गरी निजी मेडिकलहरुबाटै यस्ता सेवा दिइने गरिएको उनको गुनासो छ । विशेषगरी शिक्षित तथा जानेबुझेकै परिवारका व्यक्तिहरु नै बढी मात्रामा यस्ता अनधिकृत काम गर्न लगाउँछन् ।
औषधि ब्यवसायी शिवप्रसाद आचार्य प्रतिमहिना १५० को हाराहारीमा गर्भवती महिला आफ्नो मेडिकलमा गर्भ जाँच तथा गर्भपतनको परामर्श लिन आउने जानकारी दिनुहुन्छ ।
समाजसेवी तथा महिला अधिकारकर्मी बीना मल्लका अनुसार पहिलेको समयमा परिवार नियोजनका साधनहरु प्रशस्त मात्रामा नपाइने र पाइए पनि किन्न हिच्किचाउनु पर्ने अवस्थाका कारण उहाँले केही समयको जन्मान्तरमा ४ छोरी जन्माउनुभयो । श्रीमान् र घरपरिवार छोरी भएकामा विचलित भएन । उहाँले सबै छोरीहरुलाई समान शिक्षा दीक्षा दिनुभएको छ । तर समाजले बारम्बार छोरी भन्दा छोरा नै मूल्यवान् हुन्छ भन्ने खालका शब्दहरु प्रयोग गरेर आफूलाई बेलाबेला पीडा दिने गरेको तीतो अनुभूति उहाँले सुनाउनुभयो । उहाँका अनुसार पितृ सत्तात्मक समाजमा जन्मे हुर्केको मान्छे जतिसुकै शिक्षित र सभ्य भएपनि उसको मानसिकतामा परिवर्तन आउन समय लाग्दो रहेछ ।
धबाङ–२ रोल्पाकी कुमारी सुनारका तीन बहिनी छोरी थिए । तर उहाँमाथि पनि घरपरिवार र समाजबाट निरन्तर छोरो चाहिन्छ भनेर दवाव आएपछि आफू ४३ वर्षकी हुँदा छोरा जन्माउनुभयो । उमेर ढल्केकै बेलामा भएपनि छोरा जन्माउन पाएकामा उहाँले गौरव मान्दै भन्नुभयो – “तीन बहिनी छोरीले नबनेको गृहस्थी एउटै छोराले बन्यो । अब त भएको सम्पत्तिमा अपुताली जाँदैन । धन्न १ बिग्रेको मेरो गृहस्थी छोराले बनाइदियो ।”
यसैगरी जिल्ला अस्पताल रोल्पामा दुई दिनकी सुत्केरी श्रीमतीको कुरुवा बसेका जेदबाङ रोल्पाका २१ वर्षिय श्यामबहादुर बिक पहिलो सन्तानका रुपमा छोरी जन्मिएकामा खिन्न देखिनुहुन्थ्यो । दोस्रो र तेस्रो पटक पनि छोरी जन्मिए अपुताली जाने डर उहाँमा रहेछ ।
विककै छेउको शय्या सुत्केरी भएकी बुहारीको कुरुवाका रुपमा बसेकी लिबाङ–४ हरिगातिना रोल्पाकी भीमा थापाले आफूहरु ६ बहिनी छोरी रहेका र आफ्ना बुवाको मृत्युमा दिदीबहिनीले नै दागबत्ती दिएको तर लाश जल्न ढिला भएको दुखेसो पोख्नुभयो । छोरो नजन्माएका आफ्ना बुवाको स्वर्गको ढोका खुलेन कि भन्ने चिन्ताले बेला बेला उहाँलाई पिरोलिँदो रहेछ । रासस
Comments
अरु समाचार
-
वर्ल्डलिंकको ७ अर्ब कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने प्रयास !
काठमाडौं । नेपालका एक इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको सात अर्ब रूपैयाँ कर छली प्रकरणमा मुद्दा फिर्ता गराउने कुटिल...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...












