‘बोक्सी’ भन्दै मलमूत्र खुवाइएकी लक्ष्मीको मृत्यु ‘रहस्यमय’
स्थानीय सूर्योदय माध्यमिक विद्यालय छेउको चौतारीमा जिल्ला प्रहरी कार्यालय काभ्रेले पोस्टर टाँसेको छः
‘लैंगिक हिंसा अपराधको प्रकार
सबै मिली गरौं त्यसको प्रतिकार’
यो पोस्टर कहिले टाँसियो, गाउँलेहरूलाई हेक्का छैन। एउटा कुरा भने प्रस्ट छ, पोस्टर टाँसेर मात्र लैंगिक हिंसा अन्त्य हुँदैन रहेछ। हुन्थ्यो भने यही चौतारीनिर एक साताअघि एक महिलालाई ‘बोक्सी’ भन्दै मलमूत्र खुवाइएको घटना तिनै गाउँलेका मुखबाट सुन्नुपर्ने थिएन।
काभ्रे सदरमुकाम धुलिखेलबाट करिब ६५ किलोमिटर पूर्व पर्ने सानो गौथली–७, गोदामचौरको घटना हो यो।
गाउँकी लक्ष्मी परियारलाई सूर्योदय माध्यमिक विद्यालयमा काम गर्ने हिरा लामाले स्कुल चउरमै ‘बोक्सी’ भन्दै मलमूत्र खुवाएको स्थानीयले बताएका छन्। लक्ष्मीको गत शुक्रबार मृत्यु भएको छ।
महिला हिंसाको यो घटना सार्वजनिक भएपछि हामी यसबारे थप जानकारी लिन सोमबार त्यही गाउँ पुग्यौं। छरछिमेकसँग कुरा गर्दा उनीहरूले लक्ष्मी र हीराबीच भनाभन भएको र हीराले ‘बोक्सी’ भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएको स्वीकार गरे।
यो घटना मंसिर २० गतेको हो।
स्थानीयले भनेअनुसार त्यस दिन च्याङ्बा तामाङको बारीमा काम गर्न गएकी लक्ष्मी र स्कुलबाट फर्किरहेका लामाको बाटोमै भनाभन भएको थियो। त्यस क्रममा लक्ष्मीले हिराकी आमालाई ‘परपुरुषसँग सल्केको’ र हिरा पनि ‘अर्की महिलासँग लागेको’ आरोप लगाइन्। लक्ष्मीको मुखबाट यस्तो सुनेपछि हिरा रिसले आगो भए। सरासर घर गएर आमा काइलीमायालाई समेत लिएर आए।
स्कुलसँगै घर भएका छेडुप तामाङका अनुसार काइलीमाया र लक्ष्मी झगडा गर्दै स्कुलको चउरमा आएका थिए। ‘काइलीले मलाई यसले मुख छोडी, यस्तो आरोप लगाई, महिलाहरू सबै आओ, यसलाई आज ठीक गर्नुपर्छ भनेकी थिइन्,’ त्यसदिन आफूले देखेको घटना बयान गर्दै लामाले सेतोपाटीसँग भने, ‘उनले लक्ष्मीलाई बाँध्न डोरी पनि मागेकी थिइन्, मैले डोरी चउरमा फालिदिएँ, त्यसपछि म आफ्नो काममा लागेँ।’
‘काइलीमायाले लक्ष्मीलाई मलमूत्र खुवाउनुपर्छ भनेकोसम्म सुनेको हुँ, तर मैले त्यसपछि त्यो झगडा हेर्दै हेरिनँ,’ छेडुपले भने।
अर्की प्रत्यक्षदर्शी शान्ता परियारले भने हिरा र उनकी आमा काइलीमायाले लक्ष्मीलाई त्यहीँ चउरको भलिबल पोलमा बाँधेर चाउचाउको खोलमा दिसा ल्याएको र मुखभरि दलिदिएको बताइन्। लक्ष्मी नातामा उनकी अमाजू पर्छिन्।
‘तँ बोक्सीलाई यस्तै गर्नुपर्छ भनेर मुखभरि दिसा दलिदिएपछि म र एक जना अर्को गएर छुट्टयाउन थाल्यौं,’ शान्ताले भनिन्, ‘त्यहाँबाट अमाजू घरतिर भाग्नुभयो, हिरा सरले तलसम्म लठ्ठीले हानेर खेदेपछि अमाजूले पनि ढुंगाले हानेकी थिइन्।’
स्थानीय शान्ता परियार आइतबार स्थलगत अध्ययनमा पुगेको राष्ट्रिय मानव अधिकार आयोग प्रतिनिधिलाई घटनाबारे बताउँदै। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
त्यस दिन लक्ष्मीको शरीरमा बाहिरी चोट लागेर रगत बगेको भने आफूले नदेखेको शान्ताले बताइन्।
काइलीमायाकै छिमेकी लालकुमारी तामाङले पनि त्यस साँझ काइलीमाया ‘लक्ष्मीलाई मलमूत्र खुवाएँ’ भन्दै घर आएको बताइन्। ‘मलाई के के आरोप लगाउनेले भोलि तिमीहरूलाई पनि यस्तै गर्नसक्छ। मैले त त्यसलाई दिसा खुवाइदिएँ भनेर मलाई आफ्नो हात देखाई,’ लालकुमारीले भनिन्, ‘उसको हातमा चाउचाउको खोल थियो।’
छेडुपका अनुसार त्यो साँझ लक्ष्मी रक्सी खाएर उनको घर नजिक गएकी थिइन् र हिराको परिवारलाई गाली गरेकी थिइन्। ‘खुकुरी लिएर आएकी छु भन्दै ऊ मेरो गोठतिर गएको थियो, केही गर्छ कि भन्ने त लागेको थियो,’ छेडुपले भने, ‘बिहान हेर्दा भैंसीको घाँटीमा खुकुरीले काटेको देखियो।’
भैंसीलाई खुकुरीले काटेको भनेर अर्को दिन आफूले चौबास प्रहरी चौकीमा निवेदन दिएको उनले बताए। चौबास प्रहरीले २१ गते लक्ष्मीलाई विपक्षी बनाई काइलीमाया र छेडुपले गालीगलौज र बेइज्जती गरेको ठाडो उजुरी दर्ता गर्यो। लक्ष्मीतर्फका कोही पनि उजुरी गर्न चौकीसम्म गएनन्।
चौबास प्रहरीले २३ गते मात्र आफूहरू आउने बतायो। प्रहरीचौैकीदेखि घटनास्थल करिब २ घन्टाको पैदल दुरीमा छ।
मंसिर २३ गते प्रहरी आएर मेलमिलाप गर्नुपर्छ भन्यो। लक्ष्मी पक्षले आफूहरूमाथि कुटपिट भएको र बोक्सी आरोपमा मलमूत्र खुवाइएको पनि छ, कसरी मेलमिलाप गर्ने भन्दा प्रहरीले त्यसका लागि महिला सेलमा जानुपर्ने बतायो।
‘उसले (बुहारीले) मलाई कुटपिट गरे, बोक्सी भनेर दिसा खुवाए भन्दा प्रहरी सरहरूले त्यसका लागि जिल्ला जानुपर्छ भन्नुभयो,’ लक्ष्मीकी सासू बिष्णुमाया परियारले भनिन्, ‘नाति र गाईबस्तु तपाईं हेर्नुस्, हामी उहाँलाई लिएर जान्छु भनेपछि मैले यहीँ कुरा मिलाइदिन दस औंला जोडेकी हुँ।’
मेलमिलाप गराउन गएका प्रहरीले भने त्यतिबेला कुटपिट र दिसा खुवाएको बारे कुनै कुरा नै नआएको बताए। ‘उनीहरूले बोक्सी भनेर कुटपिट गरेको, दिसा खुवाएको केही पनि कुरा भनेनन्, प्रहरी जवान अन्जनहरि न्यौपानेले भने, ‘बरु हामीलाई छिटो मेलमिलाप गरिदिनुप¥यो हजुर, बिहेमा जानुपर्छ भनेर अनुरोध गरेका थिए।’
प्रहरी आएपछि छेडुपको भैंसीलाई खुकुरीले हानेबापत एक हजार रुपैयाँ लक्ष्मीलाई तिराएर मिलापत्र गर्न दुवै पक्ष सहमत भए। गाउँमा लक्ष्मीसँग केही वर्ष अगाडिको झगडामा जरिवानामा तिर्नुपर्ने पाँच हजार रुपैयाँ नतिरेको कुरा आयो। ‘माइली बिकको पाँच हजार र मेरो एक हजार एक महिनाभित्र तिर्ने उसले (कबोल) गरेपछि प्रहरी मिलापत्र गराएर गयो’, छेडुपले भने।
प्रहरी जवान न्यौपानेले त्यो दिन लक्ष्मीको अनुहारमा कुनै निलडाम, घाउ चोटपटक लागेको नदेखिएको बताए। लक्ष्मीकी सासूले पनि त्यो दिन छिमेकी गाउँमा भएको बिहेमा बुहारी गएको बताइन्। घटना एक किसिमले सकिएको थियो।
लक्ष्मीका माइला छोरा आफ्नी आमालाई कसरी घिसारिएको थियो भनेर देखाउँदै। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
लक्ष्मीका श्रीमान् मिलन काठमाडौं बस्छन्। २० गते उनले साला लोकबहादुर परियारको लोकन्थलीमा रहेको डेरामा गएर श्रीमतीले गाउँमा झगडा गरेको बताएका थिए। ‘त्यो दिन भिनाजु मेरो कोठामा आएर दिदीले गाउँमा झगडा गरेको कुरा सुनाउनुभयो’, लोकबहादुरले भने, ‘राति मैले दिदीलाई फोन गर्दा घरमा खानेकुरा केही नभएको बरु भिनाजुलाई खानेकुरा पठाइदिन भन्नुभयो। तर दिउँसो भएको घटनाबारे भन्नुभएन।’
मिलन अर्को दिन घर आएको उनकी आमाले बताइन्। २२ गते प्रहरी आउँछ कि भनेर उनी त्यहीँ कुरेर बसेको तर प्रहरी नआएपछि २३ गते उनी काठमाडौं जान भनेर हिँडे। तर उनी काठमाडौं आउनुको साटो मिल्थुबगरमा रहेको ससुरालीमा पुगे। जेठानी दिदी (जेठानकी श्रीमती) सँग तामाङले श्रीमतीलाई कुटेको र उनलाई केही भए आफू जिम्मेवार नहुने कुरा गरेको शान्ता परियारले बताइन्।
२३ गते साँझ मिलन गोदामचौर आए। ‘उसले मसँग रक्सी मागेर खायो,’ छेडुपले भने, ‘मेरी स्वास्नी साह्रै बेठीक भयो भनेर राति साढे नौ बजेतिर दाइ यहाँबाट जानुभयो।’
मिलनकी आमाले छोरो राति नौ बजे आएर आफ्नै घरमा सुतेको बताइन्। ‘बुहारीले रक्सी खाएकी छ भनेर उ यहीँ सुत्यो, बिहान छ बजेतिर ऊ घर गयो र सात बजेतिर सानो छोरा बोकेर आयो’, बिष्णुमायाले भनिन्, ‘बुहारी माइत जान भनेर हिँडी भन्थ्यो।’
लक्ष्मीले आफूलाई सबैले गाली गरेको र माइती गएर दाइसँग पैसा ल्याएर सबैको पैसा तिरिदिन्छु भनेको पनि मिलन सुनाएको उनले बताइन्। घरबाट निस्केको बुहारी कहाँ गई भनेर उनले माइलो नाती सुमनलाई हेर्न पठाएको बताइन्। सुमन हेर्न जाँदा लक्ष्मी करिब पाँच सय मिटर पर रहेको रामप्रसाद उप्रेतीको गोठमा मृत भेटिइन्। ‘ममीका आधा शरीर भित्र आधा शरीर बाहिर भएर ढोकामा थियो’, सुमनले भने ‘त्यसपछि म बेस्सरी कराएँ।’
यता चौबास प्रहरी चौकीको सेटमा त्यही दिन जिल्लाबाट गोदामचौरमा महिलाले झुण्डिएर आत्महत्या गरेको भन्ने खबर रिले भयो। ‘हामी त अर्कै महिलाले आत्महत्या गरेको होला भनेर गएका थियौं’, प्रहरी जवान प्रमोद यादवले भने, ‘अनुहार र घाँटीमा निलडाम र टाउकोमा चोट लागेको अवस्थामा अघिल्लो दिन मिलापत्र गरेकी महिलोको शव त्यहाँ थियो।’
लक्ष्मीको शव भेटिएको ठाउँ देखाउँदै उनका माइला छोरा। तस्बिरः अनिश रेग्मी/सेतोपाटी
प्रहरीले घटनाका बारेमा सोध्दा मिलनले आफूले उनलाई पिटेको बताए। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो। कात्तिके देउरालीबाट प्रहरी निरीक्षक आएर मुचुल्का तयार पारेपछि लक्ष्मीको शव पोष्टमार्टमका लागि काठमाडौं लगियो।
त्यसपछि प्रहरीले हिरा लामा, उनकी आमा काइलीमाया लामा, छेडुप तामाङलाई पक्राउ गर्यो। अहिले लक्ष्मीको शव पाष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ भने प्रहरीले साक्षी बसेको १५ जनालाई समेत अनुसन्धानका लागि हिरासतमा लिएको छ।
चौबास प्रहरीका इन्चार्ज प्रेमपुकार चौधरीलाई पनि जिल्ला डाकिएको काभ्रेका एसपी सहकुल थापाले बताए। यसैबीच राष्ट्रिय मानव अधिकार र राष्ट्रिय दलित आयोगले सोमबारको घटनाबारे स्थलगत अनुसन्धान थालेको छ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












