रुँदैरुँदै यी पूर्व लडाकुले यसरी सुनाए आफ्नो व्यथा
बागलुङ। सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् । व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन् ।
एकतीस वर्षीय भित्रीकोटीका उर्वरयुक्त १६ वर्ष विचार, पार्टी र देश भनेर बिते । उनलाई सपना देखाउनेहरु अहिले सत्तामा छन्, उनी भने कतै कुनामा थन्किएका छन् अयोग्यताको प्रमाणपत्र बोकेर । मल्म–६ का भित्रीकोटीले बुबा बितेको १८ दिनमा घर छोडे । घर छोड्दाको उनको अलिखित सर्त थियो, युग फर्ने, समाज सुधार्ने, राम्रो व्यवस्था ल्याउने आदि–इत्यादि । साँस्कृतिक फाँट हुँदै तत्कालीन नेकपा मोआवादीको सैन्य सङ्गठनमा काम गरेका भित्रीकोटीलाई अहिले खिन्नता छ ।
शान्ति प्रकृयाको चरणमा सेना समायोजन हुँदा अयोग्य ठहराइएका उनी अहिले उदास छन्, युद्ध हारेर फर्केको सिपाहीजस्तै । पार्टी नेतृत्वसँग भित्रीकोटीको ठूलो असन्तुष्टि रहेपनि पार्टी र विचारको माया भने उत्तिकै लाग्दोरहेछ र भन्छन्–‘पार्टीको माया त औधी लाग्छ, तर मेरो चित्त दुखाइ छ,’ भित्रीकोटीले भने ‘नेतृत्व गलत बाटोतिर लागेको छ, हामीलाई बिर्सिएको छ, कुनै वास्ता छैन ।’
तत्कालीन नेकपा माओवादी अध्यक्ष एवम् हाल प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष सुरक्षा दस्तामा समेत काम गरेको अनुभव उनीसँग रहेछ । पाँच वर्षसम्म सैन्य सङ्गठनमा काम गरेपछि भित्रीकोटी २०६३ सालमा स्वेच्छिक अवकाशमा निस्किए । विसं २०५७ मङ्सिर १ गतेदेखि माओवादी आन्दोलनमा लागेका भित्रीकोटी २०५८ मा पूर्णकालीन भएर पार्टीमा लागेका थिए ।
पार्टी शान्ति प्रकृयामा आइसकेपछि तत्कालीन अवस्थामा नवलपरासीमा रहेको माओवादी सेनाको चौंथो डिभिजन कार्यालयको सुरक्षा समितिको ‘कमाण्डर’ समेत भएर उनले काम गरे । ‘डेढ वर्ष शिविरमा बसियो, पछि समायोजनका क्रममा योग्यता पुगेन भनेपछि स्वेच्छिक अवकाश लिएर घर फर्के’ – भित्रीकोटीले भने । घर फर्केपछि वैदेशिक रोजगारका लागि मलेशिया पुगेका उनी १८ महिनामैं स्वदेश फर्किए ।
अहिले उनी सामाजिक काम, घरधन्दा र ज्यालादारीका काममा हिँडेर दैनिकी काटिरहेका छन् । उनलाई पार्टीले शान्ति प्रकृयापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन । ‘सेना समायोजनमा पनि मेरो चित्त बुझेको छैन, हामीलाई अयोग्य भनेर घर फिर्ता गरियो,’ भित्रीकोटीले प्रश्न गरे – ‘कसैलाई पाखा, कसैलाई काखा किन गरियो ?’ विगतमा सशस्त्र सङ्घर्षमा लागेकै कारण अहिले पनि आफूलाई समाजले फरक कोणबाट हेर्ने गरेको तीतो यथार्थपनि उनी सामु छ ।
‘समाजले हामीलाई गलत भनेर हेर्छ, प्रशासनले पनि खोट लगाउन सक्छ,’ भित्रीकोटीले भने – ‘यस्तो हुँदा पनि हामीलाई पार्टीले हेरेन, बेवास्ता गरियो, पार्टी नेतृत्व गलत बाटोमा गयो ।’ स्वेच्छिक अवकाश लिँदा ल्याएको छ लाख रुपैयाँ विदेश जाँदा र घरखर्चमा सकिएपछि भित्रीकोटी अहिले आर्थिक सङ्कटमा छन् । तीन छोरी र १ श्रीमतीसहितको परिवार धान्न पनि उनलाई धौ–धौ छ ।
भित्रीकोटीले युद्धमा लडेका साथीहरुलाई पार्टी र सरकारले रोजगारी दिलाउनुपर्ने माग गरे । ‘हिजो लडेका, दुःख पाएका साथीहरुलाई व्यवस्थापन गर्नुपर्छ, रोजगारी दिनुपर्छ,’ उनले भने – ‘पार्टी राजनीतिमा पनि हामीलाई विशेष अवसर दिनुपर्छ ।’ उनले आफूजस्ता हजारौं साथीहरु अहिले समस्या रहेको सुनाए । मुत्युसँग पनि सम्झौता गरेर हिजो लडाईँमा होमिएका भित्रीकोटीको समस्याग्रस्त जीवनप्रति कसैको चासो छैन ।
हिजो भीषण लडाईँहरुमा आफ्नो नेतृत्वको सुरक्षार्थ खटिने भित्रीकोटी आज आफै असुरक्षित छन् । परिवर्तन आउने, सबै समान हुने, दुःखी, गरीबको दिन आउने सपना देखेर आफू पार्टी सङ्गठनमा लागेको उनले सुनाए । सैन्य क्षेत्रमा काम गर्दाताकाका साहसपूर्ण इतिहास र सम्झनाहरु उनीसँग छन् । ‘बत्तीस वटा लडाईं लडेँ, सबै भन्दा ठूलो म्याग्दी बेनीको थियो,’ भित्रीकोटीले सम्झिए – ‘सबै भन्दा कठिन लडाइँ जुम्लामा भएको थियो ।’
विसं २०६० तिर दाङ, पाल्पा र प्युठानको सीमामा पर्ने धानखोलामा तीनजना विपक्षी सैनिकसँग एक्लै लडेर बच्न सफल भएको पनि उन्ले सुनाए जुन घटना उनको जीवनकै सबैभन्दा स्मरणीय बनेर रहेको छ । भित्रीकोटीले अहिले उपराष्ट्रपति रहनुभएका नन्दकिशोर पुन ‘पासाङ’को नेतृत्वमा म्याग्दीको लडाईँमा ‘कम्पनी कमाण्डर’ भएर काम गरेको पनि स्मरण गरे ।
साहसी र निडर भएकै कारण उनलाई तत्कालीन सैन्य नेतृत्वले ‘अथक’ उपनाम राखिदिएको रहेछ । ‘म दृढताका साथ लड्ने र सितिमिती थाक्दैनथाक्ने भएकाले मेरो नाम अथक राखिएको हो’ – भित्रीकोटीले भने । उनले आफ्नो राजनीतिक गुरु वर्तमान नेकपा ‘माओवादी केन्द्र’बागलुङका संयोजक चन्द्रबहादुर बुढा ‘सागर’लाई मान्छन् । यस्तै, राजनीति र पार्टीमा लाग्ने प्रेरणा उनले आफ्नै गाउँका कर्ण परियार र डिलबहादुर परियारबाट पाएका हुन् ।
उनको गाउँ मल्म–६ सिरवारेका २० जना भन्दा बढी युवा तत्कालीन सशस्त्र युद्धमा होमिएका थिए । युद्धकै क्रममा उनले आफ्ना कैंयन सहकर्मीलाई गुमाए । आफूलाई लड्न सिकाउने बागलुङ ताराखोलाका ‘विलक्षण’ नामका सहयोद्धालाई उनले विशेष रुपमा स्मरण गर्छन् जसलाई उनले सँगै युद्ध लड्दा गुमाएका थिए ।
विसं २०६३ मा सैन्य शिविरभित्रै उनले आफ्नै सहकर्मी सुनीकला घर्तीलाई विवाह गरेका थिए । चौबीस वर्षीया श्रीमती सुनिकलासँगै ६ वर्षीया छोरी आयुषा, ४ वर्षीया लाजिम र १८ महिनाकी सुजलसँग उनी बस्दै आएका छन् । आउँदा दिनमा समाजका लागि केही गर्ने धोको उनमा छ । जीविकोपार्जनसँगै परिवारको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ताले उनलाई पिरोलेको छ ।
‘सानोतिनो रोजगारी मिलेमा यही केही गर्ने सोंच छ, सामाजिक काममा लाग्ने सोच छ,’ भित्रीकोटीले भने – ‘जिल्ला पार्टी नेतृत्वले अवसर र ठाउँ दियो भने सङ्गठनमा पनि सक्रिय भएर लाग्ने विचार छ ।’ भलिबल र ‘मार्सल आर्ट’को राम्रो खेलाडी समेत रहेका भित्रीकोटीले पार्टीको खेलकुद विभागबाट विभिन्न समयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिएका रहेछन् । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












