रुखलाई सीमास्तम्भ मान्न नसकिने नेपाली पक्षको भनाइ
कञ्चनपुर । दुई देशको सिमाना एउटा हरियो रुखले छुट्याएको छ भन्दा पत्यार लाग्न गाह्रो होला । तर अठार दिनअघि सिमानामा ज्यान गुमाएका सहिद गोविन्द गौतमलाई गोली लागेको स्थानमा रहेको डुङ्ग्रीको रुखलाई भारतले २०० नम्बर सीमा स्तम्भ भएको दाबी गरिरहेको छ ।
पुनर्वास नगरपालिका– ८ आनन्द बजार सीमा क्षेत्रमा भारतले दाबी गरेको डुङ्ग्रीको रुख भन्दा वरै नेपाली पक्षले पुनर्वास नगरपालिकाको सहयोगमा कल्र्भट निर्माण गरिरहेको विषयमा विवाद भएर भारतीय सुरक्षाकर्मीबाट गोली चल्यो र गोविन्द गौतम सहिद हुनुभयो ।
घटनापछि सिङ्गो देश केही दिन तरङ्गित बन्यो । आनन्द बजारको सीमाक्षेत्रका बारेमा अनेक अड्कलबाजी समेत गरिए । भूमि रक्षाका लागि सहिद भएको भन्दै गौतम परिवारलाई अझैपनि देश–विदेशमा छरिएर रहेका नेपालीले सहयोग गरिरहेका छन् ।
उक्त क्षेत्रमा लामो समयदेखि हराएको २०० नम्बर सीमास्तम्भको खोजी समयमै गरिएको भए घटना नै हुने थिएन भनेर आनन्द बजारवासीले बताउँदै आएका छन् ।
घटनापछि स्थलगत समाचार सङ्कलनका लागि त्यहाँ पुग्दा रासस प्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कमाण्डेन्ट दिलवाग सिंहले स्थलगत रुपमै डुङ्ग्रीको रुख देखाउँदै भन्नुभयो – “२०० नम्बर पिलर हराएकाले हामी यही रुखलाई सीमास्तभ मान्छौं ।” तर दशकौँदेखि आनन्द बजारक्षेत्रमा बस्दै आएका स्थानीयवासी भने भारतीय पक्षको उक्त दाबी गलत रहेको दलीलसहित नेपाली भू–भाग अतिक्रमणको दाउ मात्रै भएको बताउँछन् ।
“काँङ्ग्री खोलामा निर्माण गरिएको कल्र्भट छेउमै रहेको डुङ्ग्रीको रुख भन्दा झन्डै तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्छ,” सहिद गोविन्द गौतमका बुबा खेमलाल गौतमले रासससँग भन्नुभयो – “सीमास्तम्भ गायब पार्ने अनि हराएको बहाना बनाई अतिक्रमण गर्ने तरिका हो ।”
त्यसैगरी, स्थानीय छविलाल पौडेलले पनि उक्त रुख भन्दा परैसम्म नेपालको भू–भाग रहेको भन्दै भारतले अतिक्रमण गर्दै नेपालतर्फ सर्दै गरेको बताउँछन् । “भारतीय त पिलर नभएकै कारण कल्र्भटभन्दा वरै (हाल सशस्त्र प्रहरीको अस्थायी वेस क्याम्प बसेको घर) सम्मै दशगजा दाबी गर्छन्,” पौडेलले भन्नुभयो –“जब कि डुङ्ग्रीको रुख भन्दा परसम्म नेपाली पुर्जा भएको जमिन छ ।” नेपाली लालपुर्जा भए पनि भारतीय पक्षले करिब एक दशकदेखि उक्त दुई बिगाह खेत स्थानीयवासीलाई कमाउन दिएका छैनन् ।
“जग्गाधनी स्थानीय करनबहादुर सुनारलाई भारतीय एसएसबीले जग्गा समेत भोगचलन गर्न रोक लगाएको छ, आफ्नै जग्गा भोगचलन गर्न नपाएको एक दशकभन्दा बढी भइसक्यो,” करनका श्रीमती तुलसादेवी सुनारले भन्नुभयो – “खेतमा गयो कि एसएसबी लखेट्न आइहाल्छन् ।”
“कलिलो उमेरमै आनन्द बजारको उर्वरभूमिमा जन्मिएको मेरो छोरोले हाम्रै माटोका लागि प्राण आहुति दिएको छ,” सहिद गौतमका बुबा खेमलालले भन्नुभयो – “अब कसैका दाजुभाइले यसरी मर्नु नपरोस् ।”
सिमानामा भारतीय हस्तक्षेप र अतिक्रमणविरुद्ध लामो समयदेखि लड्दै आएका यहाँका स्थानीयवासीलाई सरकारले कुनै वास्ता नगरेको उहाँको गुनासो छ । सीमामा माटो बचाउनकै लागि लामो समयदेखि यहाँका स्थानीयवासी भारतीय पक्षको थिचोमिचो र वादविवाद सहदै आएका छन् । उहाँले भन्नुभयो – “भारतीयले नेपाली भूमिमा रहेको रुखलाई सिमाना मान्दासम्म कसैले पनि चासो देखाएनन् ।”
त्यसैगरी, बेलौरीका पर्सबहादुर खड्काले २०० नम्बर सीमास्तम्भ भारतीय पक्षबाटै वर्षौं पहिले गायब पारिएको दाबी गर्नुहुन्छ । विसं २०३८/३९ भन्दा पहिल्यै २०० नम्बर सीमास्तम्भ यहाँ थिएन । उहाँले भन्नुभयो – “प्यारातालदेखि फटैयाँ गाउँसम्म भारतको अतिक्रमण निरन्तर छ ।”
सो क्षेत्रमा २०४६ सालमा पनि भारतीय पक्षले नेपाली भूमिमा आएर दाबी गरेको स्मरण गर्दै उहाँले त्यो बेला पनि स्थानीयवासीले लखेटेको बताउनुभयो । “संयुक्त सर्वेक्षण टोली आएर भारतीय भूमिमै बसेर नापजाँच धेरै पटक गरे,” उहाँले भन्नुभयो – “संयुक्त टोलीमा रहेका नेपाली प्रविधिज्ञले हामीसित समन्वय नै गरेनन् ।”
आनन्द बजारक्षेत्रका सीमावासीले भने कल्र्भट निर्माणस्थल भन्दा वर दशगजामै भारतीय सुरक्षाकर्मी बस्दै आएका बताएका छन् ।
“त्यो हरियो डुङ्ग्रीको रुख ढलेपछि केलाई सिमाना मान्ने ?,” आनन्द बजारका व्यापारी नौला शाहीले भन्नुभयो – “यहाँ थिचोमिचो पहिलेदेखि नै थियो । अहिले आएर गोलीको प्रहारसमेत सहनु प¥यो ।”
प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले लामो समयदेखि आनन्द बजार क्षेत्रको २०० नम्बर सीमास्तम्भ हराइरहेको बताउनुभयो । भारतीय पक्षले सीमास्तम्भ हराएको अवस्थामा रुखलाई आधार मान्नु आधिकारिक नभएको उहाँको भनाइ छ ।
“दुवै देशको संयुक्त सर्वेक्षण टोलीले नभन्दासम्म आधिकारिक मान्ने कुरो भएन” – उहाँले भन्नुभयोे । कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमाना छुट्याउने ३९० सीमास्तम्भ धेरै नदी खोलाले बगाएका छन् भने कतिपय सीमास्तम्भ मर्मतसम्भार हुन सकेका छैनन् ।
त्यसैगरी, केही दिनअघि सहिद परिवारलाई सरकारी राहत रकम दिन पुनर्वास पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०० नम्बर सीमास्तम्भ करिब एकसय वर्षभन्दा पहिलेदेखि हराइरहेकाले संयुक्त टोलीको सर्वेक्षण पछि सीमा विवाद हल हुने विश्वास व्यक्त गर्नुभयो ।
उता सहिद गोविन्दकी आमा हरिदेवी गौतम सहिद भएको छोराको सालिक घटनास्थलमै बनाउनुपर्ने माग गरिरहनुभएको छ । “पहिले आनन्द बजार क्षेत्रको सीमाङ्कनको टुङ्गो सरकारले लगाइदिनुप¥यो,” उहाँले भन्नुभयो – “त्यहाँ छोराको सालिक बनेपछि म त्यै हेरेर बाँकी जीवन बिताउने छु ।’
Comments
अरु समाचार
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...












