सरकारसँग एक महिलाको गुहार
सुर्खेत, ४ चैत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उहाँलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उहाँकामा ।
एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखुचेको सेतो भातसँग सेतो नून मिसाएर चित्त बुझाउन हम्मे हम्मे थियो उहाँलाई । चार वर्षअघि कुनै गैरसरकारी संस्थाले दिएको उहाँको त्रिपालको अवस्था जीर्ण अवस्थामा पुगेको छ । उहाँलगायत पीडित एकल महिला तथा बाढीपीडितको जीवन त्रिपालको बासमा कष्टकर रुपमा व्यतित भइरहेको छ ।
सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–१० (साबिकको तातोपानी–६ गल्फगाउँ)मा ३० वर्षीया पुष्पा नेपाली जस्तै आधा दर्जन एकल महिला र पाँच दर्जनभन्दा बढी बाढीपीडित परिवार बस्दै आएका छन् । विसं २०७१ साउन २९ गते राति २ बजे भेरी नदीमा आएको बाढीले उनीहरुलाई घरबारविहीन बनाएको थियो । बाढीबाट २९ जनाको मानवीय क्षति समेत भयो ।
त्यस्तै, अर्बको धनमाल र करोडौँको पशुवस्तुमा पनि क्षति पुग्यो । बाढीबाट पीडित र अर्धपीडित गरेर ६०० घरपरिवार विस्थापित भए । उक्त विपत्तिबाट ११ जना विद्यार्थीको पनि ज्यान गएको थियो । बाढीको पीडा भुल्न नपाउँदै २०७२ सालमा पुष्पाका श्रीमान् मन नेपाली कुलोमा काम गर्दै गर्दा माटोको ढिस्कोले च्यापिएर बित्नुभयो । घरबारविहीन बनेको पुष्पाको परिवारबाट दैवले श्रीमान्लाई खोसेर लगेपछि त्यस दिनदेखि उहाँको जीवनमा दुःखको बाढी शुरु भयो । त्यही सन्दर्भलाई जोडेर उहाँले दुःख पोख्दै एउटा विरहको गीत भन्नुभयो,
बसौँ भने घरबार छैन साथमा लोग्ने नाई,
टुहुरा बालबच्चा रुन्छन् खान लाउन नपाई ।
पुष्पाको साथमा अहिले सात जना बालबच्चा छन् । बालबच्चलाई शिक्षादीक्षा दिलाउनु उहाँका लागि धेरै परको कुरा हो, तिनीहरुलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्दछ, उहाँलाई । आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उहाँको दिनचर्या बनेको छ, आजभोलि । “बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो । जीवनमा आँसु र पीडाबाहेक केही छैन,” भावविह्वल भएर उहाँले रासससँग भन्नुभयो ।
उहाँ भन्नुहुन्छ, “सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन् । मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ ।”
“लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु,” उहाँले भन्नुभयो । त्रिपालको ओत लिएर जमीनको बास हुँदा कतै सुतेको बेला बच्चाबच्चालाई सर्पले टोक्ने वा रूख ढलेर मरिने पो हो कि भन्ने डरले सताउने गरेको उहाँले बताउनुभयो ।
पुष्पा जस्तै ३२ वर्षीय गंगा विकको समस्या पनि फरक छैन । पाँच बच्चाकी आमा गंगाको पति कृष्ण विकको काम सिलसिलामा मृत्यु भयो । आफू बालबच्चाका लागि बाँच्नु परेको प्रतिक्रिया उहाँले दिनुभयो । “हामी गरीवमाथि नै कालको आँखा लाग्दोरहेछ । यस्ता विपत्मा परेकामाथि भने सरकार समेतको नजर पुग्दो रहेनछ,” उहाँले भन्नुभयो । उहाँले पनि गीतबाटै दुःख पोख्नुभयो,
घरबार बाढीले लैगो श्रीमान् दैवले,
यस्तालाई नदेख्दो रैछ, राज्य सरकारले ।
बाढीपीडित ३० वर्षीय तुल्सी विकको जीवनकथा झनै कहालिलाग्दो छ । घरबारविहीन भइसकेपछि उहाँका पति प्रताप विकको उच्च रक्तचापको बिरामीले मृत्यु भयो । पति वियोग छँदै थियो, कामका क्रममा खुट्टा भाँचिदा उहाँ सधैँका लागि अपांग हुनुप¥यो । घरबारविहीन बनेका उहाँले सहाराविहीन हुँदा जीवनका सारा खुशी सकिएको पीडा व्यक्त गर्नुभयो । दैवप्रति गुनासो गर्दै उहाँले भन्नुभयो,
बाढीले बगर पार्याे घरबार सबै बगाई,
रातदिनै रोएर बाँच्नु दैव ऋण के लगाई ?
“च्यातिएको त्रिपालमा बास छ, तीन बालबच्चा छन्, काम गर्ने कोही छैन, दैवले खुशी लुटेको जिन्दगीमा प्राणबाहेक अरू केही छैन,” उहाँले भन्नुभयो । त्यति मात्र होइन, पीडा हुँदा आँखाबाट खस्ने आँसु पनि सकिएको रहेछ, उहाँको । उहाँ बेलाबेलामा भक्कानिनु हुन्छ र भन्नुहुन्छ, “को होला हाम्रो पीडा बुझ्ने ? पीडा सुनाउने ठाउँ कहाँ होला ? कहिलेसम्म पीडैपीडाको जीवन बिताउने होला ?” उहाँले बालबच्चाले गर्दा मर्न नसकिएको आशय व्यक्त गर्नुभयो । “म रहिन भने यी नानीहरु कहाँ जालान् के खालान् भन्ने लाग्छ, यिनैका लागि भए पनि बाँच्ने प्रयत्न गरिरहेकी छु,” उहाँले भन्नुभयो ।
बाढीपीडित पुष्पा, गंगा र तुल्सी मात्र प्रतिनिधि पात्र हुन् । बाढीका कारण पञ्चपुरी नगरपालिका सुर्खेतका विभिन्न वनजंगल र खोँचमा विस्थापित जीवन जिउन बाध्य नागरिकलाई राज्य सरकार छ जस्तो लागेको छैन । चार वर्षसम्म विस्थापित बाढीपीडितको समस्या कुनै सरकारले नबुझेको उनीहरुको गुनासो छ । प्राकृतिक विपत्तिले घरबारविहीन बनाएको घटना घाम जस्तै छर्लङ्ग हुँदा पनि सरकार बेखबर रहेको पञ्चपुरी नगरपालिकास्थित जनसृजना माविका प्रधानाध्यापक हरि ढकालको आरोप छ । ढकालका अनुसार सरकारले बाढीपीडितलाई यो देशको नागरिक हुँ भन्ने प्रत्याभूति दिलाउन केन्द्र, प्रदेशभन्दा पनि स्थानीय सरकारले पहिलो कदम चाल्नु पर्दछ ।
यता, प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले यही फागुन २६ गते बाढीपीडित बस्तीको वास्तविकता बुझेर फर्केको छ । उनीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले प्याकेजको कार्यक्रम बनाउनाका साथै केन्द्र र स्थानीय सरकारको पुलको काम गर्ने मन्त्री भण्डारीले बताउनुभयो । बाढीपीडितको पुनर्वासको व्यवस्था कतैबाट नहुँदा तीन वर्षदेखि उनीहरुको असुरक्षित त्रिपालको बास कायमै रहेको छ जहाँका नागरिकले नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकको कुनै प्रत्याभूति गर्न पाएका छैनन् । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











