‘सुपरम्यान फ्लाइङ’ धुलिखेलमै !
धुलिखेल। प्याराग्लाइडिङ, बञ्जी जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउनु पर्दैन ।
काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य काभ्रेपलाञ्चोकको धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेको छ । कास्कीको पोखरापछिको नेपालकै दोस्रो उक्त खेल यही फागुनदेखि सञ्चालनमा आएको हो । नेपाल आउने पर्यटकले औधी रुचाउने ‘सुपरम्यान फ्लाइङ’ भने नेपालकै पहिलो भएको सञ्चालक केदार थापाले बताए ।
धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । आज अपराह्न पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भने, “औधी रमाइलो भयो, साहसिक खेलमा रमाउने पर्यटकका लागि महत्वपूर्ण कार्यक्रम हो, अझ ‘सुपरम्यान’ उड्दा थप मजा आउँछ ।”
कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, घर साथै विभिन्न दृष्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।
फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडेको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनका लागि यो खेल अति महत्वको छ । “औपचारिक उद्घाटन भएको त छैन, तर हामीले विगत एक महीनादेखि सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ”, सञ्चालक थापाले भने।
उनका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीमा हुने साहसिक खेललगायत ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको समिपमा जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीजरल्याण्डका पर्यटकले साहसिक खेलको मजा लिइसकेको थापाले बताए ।
धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म यहाँ रु चार करोड ७५ लाख लगानी भइसकेको र अझै निर्माणका क्रममा रहेकाले करीब रु सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक काठमाडौँका भुपेश श्रेष्ठले बताए । उक्त परियोजनाको निर्माण कार्य गत साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।
धुलिखेलको थाक्लेडाँडादेखि पाँचखालको खावासम्म सञ्चालन हुने जिप लाइन दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम स्टेशन छ । फ्लाइङको गति प्रतिघण्टा ६० किलोमिटरदेखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा मज्जा लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण भनेको ‘सुपरम्यान’ हो ।
यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् ।
तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो स्टेशनमा र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले खावास्थित तल्लो स्टेशनमा जिप लाइनको मज्जा लिन सक्नेछन् । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । खेलमा सहभागी हुने पर्यटकका लागि रु पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ रु दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको रु चार हजार ५०० मूल्य छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












