‘जनताको जलविद्युत्’ मा रसुवागढी र साञ्जेनः सकारात्मक प्रभावको अपेक्षा
काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित गर्यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ ।
नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन, मध्य भोटेकोशीजस्ता आयोजना निर्माण गरिरहेको छ । सरकारले आम नेपालीको मनमा स्थापित चिलिमे कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका तीन आयोजनालाई समेत जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर उच्च प्राथमिकता दिएको छ ।
सोमबार मात्रै साधारण शेयर बिक्रीको तयारीमा रहेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको छ । शेयर बजारमा मानक र नाफा दिने कम्पनीको रुपमा स्थापित सोही कम्पनीको सहायक कम्पनी सरकारको प्राथमिकताको क्षेत्रमा पर्नु आफैँमा खुशीको विषय भएको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए ।
‘हामीले साधारण शेयर बिक्रीको तयारी गरेका थियौँ, नेपाल धितोपत्र बोर्डले स्वीकृतिसमेत दिएको अवस्था थियो तर सरकारले नै राष्ट्रिय कार्यक्रममा समावेश गरिदिँदा त्यसले पार्ने प्रभाव असाध्यै सकारात्मक नै हुन्छ’, उनले भने, ‘आम नेपाली नागरिकले समेत आयोजनामा अपनत्व महसुस गर्ने भएकाले पनि हामी बढी खुशी भएका छौँ ।’
पछिल्लो विवरणअनुसार रसुवागढीको भौतिक प्रगति ६७ प्रतिशत भइसकेको छ । यस्तै माथिल्लो साञ्जेन ७५ प्रतिशत र साञ्जेनमा ६० प्रतिशत बढी प्रगति भइसकेको छ । आगामी डेढ वर्षभित्र ती आयोजना सम्पन्न गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरिएको छ । आयोजनाको निर्माण कार्य उत्साहजनक रुपमा नै अगाडि बढिरहेको छ । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार आयोजनाको कार्यप्रगति प्रभावकारी र सन्तोषप्रद रहेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो । बैठकले सो कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्री वर्षमान पुनले जानकारी दिए । ती आयोजनाले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।
कम्पनीले निकट भविष्यमा नै आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो कार्यक्रम सञ्चालन समन्वय समितिका सदस्य सचिव एवं एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले आयोजनाको गरिमा बढाउन र बढीभन्दा बढी लगानीकर्तालाई सहभागी गराउने लक्ष्यका साथ जनताको जलविद्युत् कार्यक्रममा ती आयोजना थप गरिएको बताए ।
नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेनलाई रु ५४ करोड ७५ लाख बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ ।
यस्तै रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरका एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ । माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।
रसुवागढी र साञ्जेनको शेयर भने प्रतिकित्ता रु १०० कै दरमा खरीद गर्नुपर्नेछ । यसअघि माथिल्लो त्रिशूली थ्री बीमा भने प्रतिकित्ता रु १० मात्रै अग्रिम रुपमा लगानी गरे हुने व्यवस्था थियो । प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार साञ्जेन र रसुवागढीका साधारण शेयर भने प्रतिकित्ता रु १०० मा नै बिक्री हुनेछन् ।
रसुवागढीको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करीब ७० प्रतिशतको हाराहारीमा रहेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाका शेयर बिक्री भई बाँडफाँट भइसकेको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत लगाताररुपमा शेयर बिक्री गर्ने निर्णयअनुसार नै दोस्रो चरणमा साधारण शेयर बिक्रीको तयारीमा रहेका रसुवागढी र साञ्जेनलाई समावेश गरिएको हो । ती दुई आयोजना चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना हुन् ।
प्रसारण लाइनको चिन्ता
आयोजना समयमै सम्पन्न गर्न प्रवद्र्धक कम्पनी लागेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएला कि नसकिएला भन्ने चिन्ता भने व्याप्त रहेको छ । कूल २७ किलोमिटर लामो २२० केभी क्षमताको चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माणको काम अपेक्षाकृत रुपमा प्रभावकारी रुपमा अगाडि बढेको छैन ।
डिभिजन वन कार्यालयले स्वीकृति नलिएको भन्दै केही समय आयोजनाको काम शुरु नै भएन । केही समय पहिले मात्रै मन्त्रिपरिषद्ले प्रसारण लाइन निर्माण क्षेत्रमा पर्ने ४१ हेक्टर क्षेत्रफलका रुख बिरुवा हटाउने स्वीकृति दिएको छ ।
‘प्रसारण लाइनको काम त भइरहेको छ, तर छिटो निर्माण सम्पन्न भए हामीलाई पनि सजिलो हुन्थ्यो,’ चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘सबै तह र तप्काले प्रसारण लाइन निर्माणमा सहजीकरण गर्नुपर्ने आवश्यकता छ ।’
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












