राजनीतिक दलमा ‘कोरोना’को त्रास, संक्रमणबाट बच्ने पूर्व तयारी भने शून्य
काठमाडाैँ । विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपाली राजनीतिक महोल पनि बदलेको छ।
कोरोना भाइरस संक्रमण फैलने डरले प्रमुख राजनीतिक दलहरुले सभा सम्मेलन स्थगित गरिसकेका छन्।
प्रमुख राजनीतिक दल नेकपा, नेपाली काँग्रेस, राप्रपा लगायतका दलले आगामी वर्षे महाधिवेशनको तयारीमा छन् । त्यसका लागि सङ्गठन विस्तारदेखि विभिन्न कार्यक्रम आयोजना गरेका ती दलले आफ्ना कार्यक्रम रोक्न बाध्य भएका छन् ।
विशेषगरी फागुन र चैत केन्द्रित पूर्वनिर्धारित उनीहरुका ठूला कार्यक्रम ठप्पजस्तै बनेका छन् ।
कोरोना कोरोना भाइरसको सन्त्रास बढेसँगै नेपालका राजनीतिक दलहरूले आफ्ना कतिपय पूर्वनिर्धारित कार्यक्रम परिमार्जित र स्थगित गर्न पुगेका हुन् । राजनीतिक दलहरुले कोरोनाको सङ्क्रमण बढ्न नदिन ठूला सभा, सम्मेलन र भेला आफूले पनि नगर्ने र अरूलाई पनि नगर्न आह्वान गरिसकेका छन् ।
त्यस्तै उनीहरुले कोरोनाबाट बच्न जनचेतनामूलक सामग्री प्रकाशित गर्नुका साथै सबै मिलेर यस रोगलाई परास्त गर्न अपील पनि गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, सङ्घीय समाजवादी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी लगायतले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगन गर्दै सचेतना फैलाउनेतर्फ परिमार्जन गरेका छन् । ‘कोरोना त्रासले सबैतिर प्रभाव पारेको छ ।
नेताहरु अहिले राष्ट्रिय राजनीतिका बारेमा टिप्पणी गर्दै’कोरोनाबाट बचौँ’ भन्ने सन्देश पनि दिइरहेका भेटिन्छन्।
हजारौँ कार्यकर्ता भएका पार्टीहरुले विपत्तिका बेला स्वयंसेवा अभियानसमेत चलाउने गरेका छन्। तर, कोरोना त्रासमा भटाभट कार्यक्रम रद्द गरेका दलहरुले कोरोनाको संक्रमण रोक्न के गर्दै छन् त पूर्व तयारी?
घर–घरमा पर्चा बाँड्ने तयारी नेकपाको
सत्ताधारी पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभा सम्मेलन नगर्न पार्टीमा आन्तरिक सर्कुलर जारी गरेको छ। पार्टीका महासचिव विष्णु पौडेलले सबै तहका कमिटिलाई सर्कुलर जारी गरिएको बताए। उनले पार्टीको निर्णय अनुसार नै पर्चा पम्प्लेट बनाउने र सभा सम्मेलन नगर्न भनेको बताए। ‘हामीले पार्टीको निर्णय अनुसार नै सभा सम्मेलन नगर्ने भनेका छौँ र जिल्ला कमिटीलाई पर्चा बनाएर घर–घरमा जान भनेका छौँ’, उनले भने।
यसअघि नेकपाले फागुन २० मा हुने जिल्ला सम्मेलन स्थगित गरेर कार्यकर्तालाई घर फर्काइदिएको थियो। नेकपा पार्टी कार्यलयका सचिव ईश्वरी रिजालका अनुसार नेकपामा १५ लाख पार्टी कार्यकर्ता छन्। नेकपा सरकार सञ्चालनको बाघडोर सम्हालेको र सबैभन्दा ठूलो पार्टी हो।
नेकपाले कोरोना रोकथामबारे गाउँगाउँसम्मै अभियान चलाउन सक्ने भए पनि उसको यसतर्फ ध्यान गएको छैन। बरु नेकपाकै नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफ्नो सय दिनको प्रगति विवरण कार्यक्रममा भारत र चीनको तयारीले पनि नेपालमा जोखिम कम हुने अभिव्यक्ति दिएका थिए।
सत्तारुढ पार्टी भएकोले नेकपाको काँधमा अहिले देशमा कोरोना प्रवेश गर्न नदिन र त्रासलाई नियन्त्रण गर्ने जिम्मेवारी छ। यसैगरी यो त्रासमा हुन सक्ने कालोबजारी रोक्ने जिम्मेवारी उत्तिकै छ। तर, यी विषयमा सरकारको कुनै अनुगमन छैन। विमानस्थलमा कोरोनाबारे सजगता अपनाए पनि सीमानामा खासै रोकतोक छैन।
निर्वाध चीन र भारतबाट खुल्ला रुपमा नागरिकहरु ओहोरदोहोर गरिरहेका छन्। खुला रुपमा प्रवेश गर्ने नागरिकहरुको स्वास्थ्य जाँचको कुनै पूर्व तयारी छैन।
कांग्रेसको तयारी ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर-घरसम्म’
फागुन १९ गते नेपाली कांग्रेसले १४ बुँदे अपील जारी गर्यो सरकारका नाममा। अन्तरार्ष्ट्रिय उडान रद्द गर्नुपर्नेदेखि कोरोना संक्रमणबाट बच्न मास्क उपलब्ध गराउनुपर्ने लगायतका विषय छन्। अपीलमा।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतलाई समेत गुहारे, ‘कोरोनको विषयमा अदालतले पनि बोल्नुपर्यो’।
कांग्रेस यतिमा मात्रै सीमित भएन। अपील जारी गरेको दुई दिनपछि अर्थात् फागुन २१ गते पार्टी सबै खालका सभा सम्मेलन नै रद्द गर्यो। कोरोनका विषयमा कांग्रेस सरकारभन्दा संवेदनशील छ भनी देखाउने उद्देश्यले पनि होला उसले आफ्ना सबैजसो पत्रकार सम्मेलनमा दोहोर्याउने गरेको छ,’सरकारलाई कोरोना रोकथाममा हाम्रो पूर्ण साथ रहनेछ।’
उसले यही बेला ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म’ नामक सचेतना अभियान चलाउने पनि उद्घोष गरेको छ।
कांग्रेसले आफ्ना कार्यक्रम रद्द गरेको दुई दिनपछि उसको तरुण विभागले समेत कोरोनको विषयमा बोल्यो। तरुण विभागका संयोजक शंकर भण्डारीले खाद्यन्न र औषधिको अभाव हुनसक्ने भन्दै सरकारलाई खबरदारी गर्यो राजधानीमा पत्रकार सम्मेलन गरी।
संसद्मा प्रमुख प्रतिपक्ष र दोस्रो ठूलो दल नेपाली कांग्रेस आफ्ना सात लाख पार्टी सदस्य रहेको दाबी गर्छ। भ्रातृ संगठन, पेशागत संगठन गरी देशभर प्रभाव छ कांग्रेसको। उसले अहिले पार्टीका कार्यक्रम रद्द गर्ने र सचेतना अभियान चलाउनेबाहेक कोरोनाको संक्रमण फैलन नदिन उल्लेख्य केही घोषणा गरेको छैन।
कोरोनाबारे कांग्रेसको यति मात्रै होसियारी?, जवाफमा प्रवक्ता शर्माले भने’ अहिले पार्टीका कार्यक्रम रद्द गरेका छौँ। अभियान पनि चलाउँछौँ। महाधिवेशन तयारी रोकिँदैन। अरु परिस्थति अनुसार गर्दै जाउँला।’
यसो त कांग्रेसका नेता तथा सांसद गगन थापाले शुक्रबार संसदमा कोरोना भाइरससम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरी यसबारे सरकार गम्भीर नभएको आरोप लगाए।
कांग्रेसले सरकारको ध्यानाकर्षण गरे पनि यसबाट जोगिन हात मिलाउन छाडी ‘जय नेपाल’ गर्ने भन्ने बाहेक केही तयारी गरेको छैन।
राजपाले पनि सभा सम्मेलन स्थगित गर्यो
संसद्को तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी राजपाको प्रदेश २ र तराईका केही जिल्लामा प्रभाव छ। कांग्रेस र नेकपाको जस्तै राजपाले पनि कोरोनाकै कारण सभा सम्मेलन स्थगित गरेको छ।
यही समयमा होली पनि मनाइँदैछ। राजपाका महासचिव मनीषकुमार सुमनले होली सचेत भएर मनाउन आग्रह गरेको बताए।
‘हाम्रो पार्टीको बैठकले होली सचेत भएर मनाउन अपील गरेको छ। सभा सम्मेलन पनि स्थगित गरेको छ’, उनले भने।
राजपाले फागुन २३ गते मधेश आन्दोलनको सम्झनामा श्रद्धाञ्जली सभा गर्दै आएको थियो। यो पटकको सभा भने स्थगित गरेको छ। संसद्को तेस्रो ठूलो र मधेशमा पकड जमाउन सक्ने राजपाले पनि सभा सम्मेलन स्थगित बाहेकका कोरोना रोकथामका लागि कुनै योजना बनाएको छैन्।
के गर्न चुके दलहरु
छिमेकी चीनमा गएको वर्षको डिसेम्बरमा सुरु भएर फेब्रुअरीमा व्यापक भएको कोरोनाबाट प्रभावित नेपाली विद्यार्थीले स्वदेश ल्याइदिन हारगुहार गरेपछि चर्चाको विषय बन्यो। त्यतिखेरै क्वारेन्टाइन कहाँ बनाउने भन्ने विषयमै धेरै समय बित्यो। चीनमा कोरोनाबाट मृत्यु भएको समाचारमात्र सुनेर बसेका राजनीतिक दल त्यतिखेर मात्र संवेदनशील भए जव विश्व स्वास्थ्य संगठनले नेपाल पनि अति उच्च जोखिममा छ भन्यो।
छिमेकी देशमा फैलिएका महामारीलाई सुरुमै गम्भीर रुपमै लिएर सरकारलाई जिम्मेवार बनाउन सक्ने भए पनि त्यसो गरेनन् दलहरुले। कोरोना भाइरसको त्रास अहिले नेपालमा पनि व्यापक भएको चिकित्सक बताउँछन्। भाइरसभन्दा अगाडि त्रास फैलिनुले समस्या सिर्जना गरेको सरुवारोग विशषज्ञ डा. शेरबहादुर पुनले बताए।
उनले भने, ‘संक्रमणको जोखिम र सम्भावना विश्वभर यथावत् छ। तर, हामी सतर्क रहन आवश्यक छ। भाइरसभन्दा अगाडि त्रास फैलनुले निकै समस्या सिर्जना गरेको छ।’
नागरिकमा फैलिएको त्रासलाई कम गर्न विभिन्न खालका कार्यक्रम गर्न सकिने भए पनि सुरुदेखि नै राजनीतिक पार्टीहरु लागेनन्। गाउँ–गाउँमा संगठन भएकाले जनतालाई सुसूचित गर्न सक्ने भए पनि त्यसतर्फ ध्यान पुगेको छैन।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












