सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो: सभापति देउवा
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गरेको छ ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरित अध्यादेश ल्याएको बताए । ‘सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उनले भने ।
नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाद्वारा २०७७ वैशाख २६ गते संसदमा प्रस्तुत सम्बोधनको पूर्ण अंश
कोरोना परिस्थिति विश्लेषण गर्दै, गम्भीर रुपले अघि बढौं
माननीय सभामुख महोदय,
कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु ।
श्रद्धाञ्जली र समवेदना
कोरोना भाइरस अर्थात कोभिड १९ का कारण संसारका विभिन्न देशमा जीवन गुमाएका नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । साथै कोरोनाका कारण जीवन गुमाएका विश्वभरिका सबै मानवको आत्माको चिरशान्तिको कामना गर्दछु ।
स्वास्थ्यलाभ कामना
कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका ३ हजार भन्दा बढी नेपालीको सिध्र स्वास्थ्यलाभको कामना गर्दछु ।
उच्च सम्मान र कदर
पर्याप्त स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाईन’ मा कार्य गरिरहनु भएका सबै आदरणीय स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्दछु । यसरी नै अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, संचारकर्मी एवं सफाईको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको प्रशंशा गर्दै श्रद्धा प्रकट गर्दछु ।
जनताको धैर्यको प्रशंसा
कोरोनाका कारण उत्पन्न अनेक जटिलता असिम धैर्य साथ सामना गरिरहनु भएका स्वदेश र विदेशका समस्त नेपाली दिदीबहिनी दाजुभाइको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न यो सम्मानित संसद मार्फत अपिल गर्दछु ।
प्रतिपक्षको सहयोग र खबरदारी
कोरोनाको यो संकटका बेला ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ’ भन्ने राष्ट्रिय एकताको भावनाले प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्य गरिरहेको छ । नेपाली काँग्रेसले पार्टीको सबै तहका नेता तथा पार्टी सदस्यलाई कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न आ(आफ्नो तर्फवाट निरन्तर कार्य गर्न आव्हान गरेको छ र सबै साथीहरुले जिम्मेवारीपूर्वक कार्य गरि रहनु भएको छ । कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्ने बिषयमा सरकारलाई हरसंभव सघाउने तर बेथिति, भ्रष्टाचार र अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने यी दुई नितिलाई हामी निरन्तरता दिनेछौं ।
राहतको ब्यवस्थित प्याकेज ल्याउन माग
· लक डाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पार्यो । सरकारले पर्याप्त राहत नदिंदा हजारौं श्रमिक पैदल हिंडेर गाउँ फर्किए । न खान दिने न गाउँ जान दिने, सरकारको यस्तो ब्यवहारले जनतालाई आहत तुल्यायो । कोरानाका कारणले रोजगारी गुमेका र राज्यवाट सहज रुपमा तत्काल राहत पाउनु पर्ने व्यक्तिले राहत पाउन सकेका छैनन् ।
सुकुम्बासीलाई जाउलो पुर्याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको कुनै तर्क थिएन ।
· श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन ब्यवसायी देखि साना ब्यापारी हुंदै उद्योगी ब्यवसायी सम्मलाई विविध ढंगले राहत दिने वृहत्तर प्याकेज निर्माण, घोषणा र कार्यान्वयन यथासिघ्र गर्न म सरकार समक्ष माग गर्दछु ।
स्वास्थ्य सामग्री अभाव र भ्रष्टाचारबारे
· कोरोनासंग जुध्न अत्यावश्यक पिपिइ, परिक्षण कीट लगायतका सामग्रीको अझै अभाव रहनु दुःखद र लज्जास्पद छ । समयमै सामग्री प्रबन्ध नगर्नु, खरिद प्रक्रियामा पारदर्शिता नहुनु र बजार मुल्य भन्दा बढी रकम राज्यकोषबाट निकासा गराएर भ्रष्टाचार गरिनु अत्यन्तै गम्भीर र अक्षम्य छ । दोषीहरुलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन र कडा कार्वाही गर्न म माग गर्दछु ।
प्रधानमन्त्रीको नियोजित नियत गलत
· सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गर्यो । विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो ।
· एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।
· एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध रहन यो सम्मानित संसद मार्फत अपिल गर्दछु ।
सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो
· विश्वव्यापी रुपमानै मानव जाति समक्ष कोरोनाको रुपमा ठूलो चुनौति देखा परेको छ । नेपालमा यतिबेला एकसय बढी नागरिक संक्रमित भैसकेको स्थिति छ । सर्वत्र त्रासको अवस्था विद्यमान छ । यस्तो विषम परिस्थितिमा कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ । सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन् । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन । यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन सक्दैनन् । यी विषयहरुलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको छ ।
बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गरौं
बिदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित छन् । अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य हो । यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरेर सम्मानित संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न म सरकार समक्ष माग गर्दछु ।
कोरोना केन्द्रित बजेट ल्याउन माग
· आगामी बजेटको मुख्य प्राथमिकता कोरोना केन्द्रीत हुनुपर्छ भन्ने मेरो प्रष्ट माग छ । आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं बिदेशमा अप्ठ्यारोमा रहेकाको उद्दार र पुनर्ब्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्छ ।
माननीय सभामुख महोदय,
आशा एवं विश्वास छ आज शुरु भएको प्रतिनिधिसभाको यो बैठकले कोरोना माथि विजय हासिल गर्न आवश्यक पर्ने सबै अत्यावश्यक कदमहरुका बारे मार्गदर्शन गर्न र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न गराउन सक्नेछ ।
जय नेपाल
शेरबहादुर देउवा
नेता, प्रमुख प्रतिपक्षी दल
वैशाख २६, २०७७
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












