सांसद संख्याका आधारमा मन्त्री भागबन्डा ?
काठमाडौँ । मन्त्रालय र मन्त्रीको भागबन्डा शक्तिका आधारमा गर्ने कि समानताका आधारमा गर्ने भन्नेबारेमा गठबन्धन दलबीच मत बाझिँदा मन्त्रिपरिषद् विस्तार अझ धकेलिएको छ ।
सरकारलाई पूर्णता दिने विषयमा गृहकार्य गर्न कांग्रेस नेता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजनमा आइतबार दुई पटक बैठक बस्दा पनि सहमति जुट्न सकेन ।
सत्ता गठबन्धनमा कार्यदलको संयोजन गर्दै आएका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोभिड संक्रमित भई अस्पताल भर्ना भएपछि प्रधानमन्त्रीले कार्कीलाई संयोजनको जिम्मा दिएका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कांग्रेस र माओवादी केन्द्रले सांसद संख्याका आधारमा मन्त्रालय र मन्त्री भागबन्डा गर्नुपर्ने बताएका छन् ।
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समानताका आधारमा भागबन्डा गर्नुपर्नेमा जोड दिएका थिए । ‘यो सरकार चारवटै शक्ति मिलेर बनेको हो, सबैको योगदान उत्तिकै छ, त्यसैले समानताको सिद्धान्तअनुसार अघि बढ्नुपर्छ भन्यौं,’ पाण्डेले भने, ‘उहाँहरू (कांग्रेस–माओवादी) ले भने संख्याका आधारमा मापदण्ड बनाउनुपर्छ भन्नुभयो, त्यसैमा कुरा नमिलेपछि फेरि छलफल गर्ने गरी बैठकबाट उठ्यौं ।’
बैठकमा भएका कुरा शीर्ष नेतासँग राखेर सहमति खोजिने उनले बताए ।प्रतिनिधिसभामा कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सांसद छन् । एक सांसद रहेको गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सांसद संख्याका आधारमा मन्त्रीको संख्या निर्धारण गर्दा सरदर कांग्रेसले प्रधानमन्त्रीसहित १०, माओवादीले ८, एकीकृत समाजवादीले ४ र जसपाले ३ मन्त्री पाउने अवस्था आउँछ । एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले प्रतिगमनविरुद्धको लडाइँ र सरकार निर्माणमा सांसद संख्याभन्दा पनि सबै दलको समान योगदान रहेकाले सोहीअनुसार सरकारमा साझेदारी हुनुपर्ने बताए ।
बैठकमा मन्त्रालयलाई ३ स्वरूपमा वर्गीकरण गरेर भागबन्डा गर्नुपर्नेबारे छलफल भएको थियो । हाल रहेका २१ मन्त्रालयमध्ये ६ विकासे, ७ ‘शक्तिशाली’ र ८ सेवासम्बन्धी छन् । शक्तिशाली र विकासेमध्ये आकर्षक मानिने गृह, अर्थ, ऊर्जा र परराष्ट्रमा कांग्रेस र माओवादी केन्द्रका मन्त्री नियुक्त भइसकेका छन् । ‘हामीले मन्त्रालय भागबन्डा गर्दा सबै मन्त्रालयलाई वर्गीकरण गरेर पुनः समानताका आधारमा भाग लगाउनुपर्छ भनेका छौं,’ पाण्डेले भने, ‘त्यसो गर्दा आवश्यक परेको खण्डमा अहिलेका मन्त्री र मन्त्रालय पनि यताउति हुन सक्छन् ।’
दुई चरणमा बसेको बैठकमा कांग्रेसबाट कार्की र मीनेन्द्र रिजाल, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र देव गुरुङ, एकीकृत समाजवादीबाट पाण्डे र बेदुराम भुसाल तथा जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी थिए । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई पार्टीभित्र रहेका आफूइतर समूहलाई सरकारमा समेट्नुपर्ने बाध्यता छ ।
गठबन्धन दलले संसद्मा भएको हैसियतभन्दा बढी भाग खोज्दा समस्या सिर्जना भएको एक कांग्रेस नेताले बताए । राजपा नेता यादवले बैठकमा सरकार विस्तारबारे छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘बैठक सकारात्मक ढंगले अघि बढिरहेको छ, एक–दुई दिनमै हामी सहमतिमा पुग्छौं,’ उनले भने । असार २९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । १६ मन्त्रालय उनी आफैंले सम्हालिरहेका छन् ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












