आजबाट दसैं सुरू, घटस्थापनाको उत्तम साइत ११ :४६ मा
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने दसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ ।
बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।
यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत ११ः४६ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ ।
आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाको साइतअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिले जनाएको छ ।
चित्रा नक्षत्रको मालिक त्वष्टा अर्थात् विश्वकर्मा र वैधृति योगको मालिक अदिति अर्थात् देवताका आमा विशेष पूजासहित शान्ति गरेर आज घटस्थापना गर्नुपर्छ । चित्रा र वैधृति योग परेका बेला त्वष्टा र अदितिसँगै रुद्र, सूर्य, सोम र मृत्युञ्जयको पनि विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।
सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले बताए ।
दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउँछन् । दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ। यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ ।
बडादसैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठपारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।
विजयादशमीको साइत असोज २९ गते १० :०२ मा
नवरात्र भनेरसमेत चिनिने दसैं नौ रात र १० दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले यस्तो अवस्थामा खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताए ।
आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज २९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल, प्रसाद ग्रहण गर्ने गरिन्छ ।
असोज २९ गते देवी विसर्जनको साइत बिहान ८ः१९ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः०२ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ। गत वर्ष जस्तो कोरोना महामारी यस वर्ष दसैंमा नभए पनि जोखिम अन्त्य नभइसकेकाले सचेतना अपनाउन समितिले आह्वान गरेको छ ।
पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ। यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।
हनुमानढोकाको दसैं घरमा विशेष पूजा
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।
दसैं घरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजा आराधना गरिन्छ । कोरोना जोखिम कायमै रहे पनि यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो । यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर बलिसहित पूजा आराधना गरिनेछ ।
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैंको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैंका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












