कांग्रेस सभापतिमा निधिको उम्मेदवारी घोषणा, प्रतिबद्धता र योजना सार्वजनिक
काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका पार्टी उपसभापति विमलेन्द्र निधिले आफ्नो प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन्। बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयबाट निधिले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उपसभापति निधिले विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको आधारमा आफूले उम्मेदवारी घोषणा गरेको बताए। ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको आधारमा नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले घोषणासभामा भने।
औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दै उनले आफ्ना प्रतिबद्धता र योजनासहितको घोषणापत्रसमेत सार्वजनिक गरेका छन्। उनको घोषणापत्रमा संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णयअनुसार कार्यान्वयन गराउने तथा पाँच वर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्यलगायतका विषय समेटिएका छन्।
घोषणापत्रमा तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने, नेपाली कांग्रेसमा रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने, नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउनेलगायतका परिकल्पना गरिएको छ। घाेषणापत्रमा जनताका पिरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन ‘जय नेपाल’ गुनासो सेवा प्रारम्भ गर्नेजस्ता सुधारका काम गर्ने उल्लेख छ।
निधिले सार्वजनिक गरेकाे प्रतिबद्धता र याेजनापत्र यस्ताे छ :
परिकल्पना
नेपाली कांग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यबस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय वनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने।
नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रकृयालाई सहजीकरण गर्ने।
नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने।
देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने।
जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगीलगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने।
सुन्दर फूलबारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली कांग्रेसका सम्पूर्ण तहगत समितिहरु र सदस्यहरुलाई सक्रिय बनाउने।
भ्रातृ तथा शुभेच्छुक संस्थाहरु र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने।
विदेशको रोजगारीमा श्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरुको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने।
हिमाल, पहाड, तराई–मधेसमा बसोबास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली कांग्रेसलाई बनाउने र उनीहरुको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने।
विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली कांग्रेसले बाध्य पार्ने क्षमताको विकास गर्ने ।
ध्येय
उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरु समयवद्ध प्रक्रिया अपनाई ५ वर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु।
नेपाली कांग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने।
प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने।
लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेश प्रेमको भावना वृद्धि गर्न विद्यालयहरुमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चीरस्थायी राख्ने।
समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने।
लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने।
नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरु बनाउने।
विदेशमा पसिना चुहाउन विवश युवाहरुलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरु बनाउने।
पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरुलाई प्रोत्साहित गर्ने।
नेपाली कांग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने।
पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने।
विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने ।
सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्यांकन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने।
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने।
संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने।
उद्देश्य
उपरोक्त ध्येय प्राप्त गर्न पाँच वर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य।
पार्टीभित्र नेतृत्व विकास, रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरु तर्जुमा गरी संचालन गर्ने, गराउने।
पार्टीका जिल्ला सभापतिहरुको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्न भेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरुलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने।
पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरुको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने।
पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध विषयहरु बारे नियमित रुपमा प्रशिक्षण शिविरहरु संचालन गर्ने र सहकारी अभियानलाई तीव्र गराउदै पार्टीका सदस्यहरुलाई अभियानमा उत्प्रेरित गर्ने।
पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरु केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने।
देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रराष्ट्रहरु सँगको सम्बन्ध सुमधुर गराउने।
संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने।
पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरुसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने।
अन्य सुधारहरु
पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन ‘जय नेपाल गुनासो सेवा’ प्रारम्भ गर्ने ।
पार्टीका पुराना नेता तथा कार्यकर्ताहरुलाई आ–आफ्ना गाउँठाउँमा उनीहरुकै रुचि र सहभागितामा उपयुक्त कार्यक्रमहरु सन्चालन गर्ने। यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाइहरुलाई परिचालन गर्ने ।
वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरुमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ।
आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ । म यसबेला तमाम संचारकर्मी मित्रहरुले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु। नेपाली कांग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु।
समग्रमा नेपाली कांग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरी जनतासँग कांग्रेस र कांग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने।
रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












