रवीन्द्र मिश्रलाई स्पष्टीकरण दिँदै मिलन पाण्डेले भने- सरी! राजतन्त्र मान्न सकिँदैन
काठमाडाैँ । विवेकशील साझा पार्टीमा पछिल्लो समय पार्टीले लिने विचारबारे विवाद छ।
अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे कुरा मिलेको छैन। अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा छन्।
पार्टीले यो विचार अंगिकार गरिसकेको मिश्रनिकट नेता दाबी गर्छन्। तर गणतन्त्रको एजेन्डामा संयोजक पाण्डे अडिग छन्।
यसैबीच अध्यक्ष मिश्रले संयोजक पाण्डेलाई स्पष्टीकरण नै सोधेका छन् र संयोजक पाण्डेले स्पष्टिकरण पनि पेश गरिसकेका छन्।
पाण्डेले अध्यक्ष मिश्रलाई राजतन्त्र मान्न नसकिने, पञ्चायत पुज्न नसक्ने र धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न नसक्ने उल्लेख गर्दै गणतन्त्रको पक्षमा आफूहरू उभिएको प्रष्टिकरण दिएका छन्।
मिश्रले गत पुस १ मा पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। आफ्नो स्पष्टीकरणमा पाण्डेले निर्वाचन आयोगमा पार्टी बारेमा मुद्दा चलिरहेको र त्यसमा छिनोफानो नभए आफूहरू अदालत जाने र भदौ १७ पछिका कुनै पनि गतिविधि नस्वीकार्ने बताएका छन्।
पार्टीमा गणतन्त्रका पक्षमा उभिएकाहरूलाई छानिछानी कारबाही गरिएको आरोपसमेत पाण्डेको छ। मिश्र पक्षलाई निर्वाचन आयोगमा पेश गरिएका ९१ जनाको समर्थनबारे प्रमाण पेश गर्नसमेत उनले चुनौती दिएका छन्।
स्पष्टीकरणमा पाण्डेले मिश्रलाई उल्टै सोधेका छन्, ‘तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागिपरेका खास गरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परेर देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ, त्यसको सत्यता के हो?’
साथै पाण्डेले मिश्रलाई व्यक्तिवादी बन्दै गएको पनि आरोप लगाएका छन्।
‘तपाईंकै नेतृत्वमा दुई पटकसम्म पार्टी फुटको संघारमा पुगिसक्यो। सरोज धिताल, दिनेश प्रसाईं, रेशु अर्याल, ओम अर्याल, उज्वल थापा, सूर्यराज आचार्य, मुमाराम खनाललगायत कयौं नेताहरूले पार्टी छोडे पनि तपाईंलाई यो पार्टीमा आफूबाहेक अरू कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन चढिरहेको छ?,’ मिश्रलाई पाण्डेको प्रश्न छ।
पाण्डेले १५ पन्ने स्पष्टीकरण पेश गरेका छन्। उनले स्पष्टीकरणमा मिश्रमाथि प्रश्न तेर्साउँदै भनेका छन्, ‘तपाईंले फेक अकाउन्टबाट जुममा उपस्थिति गराएर ८४ जना पुर्याएपछि पनि उपस्थिति नै नभएका सदस्यको नाम लेखेर निर्वाचन आयोगमा बुझाउनुभयो, यो पदको दुरूपयोग हो कि होइन?’ मिश्रमाथि पाण्डेले विभिन्न २६ प्रश्न सोधेका छन्।
साथै पाण्डेले विगतका कुरा निकाल्दै पार्टीमा विवाद भएका बेला मिश्रले प्रेम पत्र लेखेकोसमेत उल्लेख गरेका छन्।
‘०७५ पुस २७ गते विवेकशील साझा पार्टी तपाईंको कारणले फुट्यो। ०७५ पुस २८ गते तपाईंले तत्कालीन संयोजक उज्ज्वल थापा, रन्जु दर्शना, रमेश पौड्याल, मिलन पाण्डेलगायत १६ जनालाई पार्टीबाट निष्कासन गर्नुभयो। सांसदबाट फिर्ता बोलाउनुभयो। बाहिर आमनागरिकलाई देखाउन हामीलाई प्रेम पत्र लेख्नुभयो। तर निष्कासन सुटुक्क गर्नुभयो। रवीन्द्रजी, तपाईँको म एउटा कुराको तारिफ भने गर्छु- तपाईं मुसुक्क मुस्कुराएर संसारलाई एउटा मीठो भ्रम छर्न माहिर हुनुहुन्छ र भित्रभित्रै आफूसँग फरक मत राख्ने साथीहरूलाई सिद्ध्याउनुहुन्छ। यसपालि पनि तपाईंले त्यही गर्दै हुनुहुन्छ।’
साथै पाण्डेले महाधिवेशनमा जान हिम्मत गर्न पनि अध्यक्ष मिश्रलाई आग्रह गरेका छन्।
‘आउनुहोस्, महाधिवेशन गरौँ। आफ्नो आफ्नो विचार लिएर सदस्यकहाँ जाऔँ। सक्नुहुन्छ? छ हिम्मत?,’ उनले प्रश्न गरेका छन्, ‘तपाईँसँग त्यो राजनीतिक चरित्र छैन। दोस्रो एकीकरणमा तपाईंलाई विश्वास गर्नु हाम्रो गल्ती म स्वीकार्न चाहन्छु। हामी इमानदार थियौँ, पट्यायौँ। हामीले बोलेको र हस्ताक्षर गरेको कुरा मान्नुहुन्छ होला भन्ठान्यौँ। तर यस्ता घटना पार्टी जीवनमा घट्छन्।’
साथै पाण्डेले लोकतन्त्र दरबारलाई बुझाउने प्रस्ताव मिश्रले ल्याएको आरोप लगाएका छन्।
‘तपाईंले लोकतन्त्र दरबारलाई बुझाउने प्रस्ताव ल्याएर जे घात वैकल्पिक राजनीतिमा गर्नुभएको छ। त्यो बाबजुद पनि पार्टी अगाडि बढ्छ। राजनीतिमा कारबाही कमजोरले गर्छन्। स्पष्ट नेतृत्वले आफ्नो विचारको नेतृत्व गर्छन्। हामी वैकल्पिक राजनीतिलाई, विवेकशील साझा पार्टीलाई अगाडि बढाउने छौँ। अघिल्लोपटक कारबाही गरेर जसरी माफी मागेर हामीसँग पुनः एकीकरण गर्न आउनु भएको थियो, यसपालि हामी तपाईँलाई पत्याउने छैनौँ। अब तपाईंलाई कसैले पत्याउने छैन। बेलामै आफ्नो परिचय दिनुभएकोमा तपाईं धन्यवादको पात्र हुनुहुन्छ।’
उनले मिश्रले प्रस्ताव गरेजस्तो राजतन्त्र आफूहरूले नमान्ने पनि प्रष्टाएका छन्।
‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन। पञ्चायनलाई स्वीकार्न सकिँदैन। धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन। वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन। अतः अन्त्यमा यति भन्छु- तपाईंले गरेका तमाम कृत्यका निम्ति हामी त माफ गरौंला तर इतिहासले माफ गर्ने छैन।’
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पनि संयोजक पाण्डेलाई स्पष्टीकरण सोधिएको साँचो भएको बताएका छन्।
‘विवेकशील साझा पार्टीले पार्टीका संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको साँचो हो। त्यसबाहेक विभिन्न मिडियामा आएजस्तो अन्य कुनै पनि नेतालाई स्पष्टीकरण सोध्ने या कारबाही गर्ने कार्य भएको छैन। केही नेताहरूको आन्तरिक रूपमा भूमिका परिवर्तन गर्न लागिएको हो, त्यो कारबाही होइन,’ पाठकले विज्ञप्ति निकालेर भनेका छन्।
उनले केही समयदेखि कतिपय प्रकाशनहरूमा विवेकशील साझा पार्टीबारे भ्रामक समाचारहरू आएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेका छन्।
उनले पार्टीका पछिल्ला गतिविधिबारे प्रष्टाउँदै भनेका छन्, ‘पार्टीको बागमती प्रदेशका सह-संयोजकले राजीनामा दिनुभएको हो तर मिडियाहरूमा आएजस्तो बागमती प्रदेश समिति भङ्ग भएको होइन।
मिडियामा आएजस्तो निर्वाचन आयोगले पार्टीसँग कुनै स्पष्टीकरण सोधेको छैन। निर्वाचन आयोगले केही विषयमा ‘प्रतिक्रिया’ मागेको हो, जुन पार्टीले बुझाइसकेको छ।’
साथै प्रवक्ता पाठकले संयोजक पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमतिलाई संलग्न राखेर दिएको उजुरीको कुनै कानुनी औचित्य नरहने पनि दाबी गरेका छन्।
‘पार्टी संयोजक मिलन पाण्डेले केन्द्रीय समितिका दुई जना सदस्यको असहमति संलग्न गरी दिएको उजुरीको कुनै कानुनी औचित्य रहँदैन र सोही कुरा हामीले निर्वाचन आयोगले मागेको प्रतिक्रियामा उल्लेख गरेका छौँ,’ प्रवक्ता पाठकले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












