जसपामा बाबुरामले औल्याए ७ समस्या, उपेन्द्रलाई लगाए मधेस आन्दोलनको व्याज खान खोजेको आरोप (पूर्णपाठ)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा समस्या देकिएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवको आलोचना गरेका छन् ।
पार्टीमा ७ समस्या देखिएको दाबी गरेका भट्टराईले राजनीतिक प्रतिवेदन ती विषयहरु औल्याएका छन् ।
बट्टराईले अध्यक्ष यादव पक्षले वीरगञ्जमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन काठमाडौंमा पार्टीको विस्तारित बैठक बोलाएका छन् ।
उक्त प्रतिवेदनमा उनले पार्टीमा वैचारिक, सांगठनिक, नेतृत्वको मोडालिटीलगायतका विभिन्न ७ वटा समस्या रहेको उल्लेख गरेका छन् ।
हेर्नुहोस् भट्टराईले देखेका जसपाका ७ समस्याः
१, वैचारिक समस्या
डा. भट्टराईले आफ्नो प्रतिवेदनमा पार्टीमा वैचारिक समस्यालाई मुख्य समस्याको रुपमा औंल्याएक छन् । उनले ‘लोहियावादी’ चिन्तनबाट अगाडी बढ्न खोजेको भन्दै यसबाट समाजवादमा पुग्न नसकिने धारणा समेत व्यक्त रेका छन् ।
‘पार्टी एकताको आधारभूत बुझाइ र मनोविज्ञान मधेस आन्दोलनको जगमा बनेको पार्टी हिस्साको गरिमा, महत्व र संवेदनशीलतालाई आत्मसात गर्दै पार्टी एकतामा संलग्न सबै पक्षको समुचित सहभागितासहित राष्ट्रिय चरित्रको समावेशी पार्टी निर्माण गर्ने थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर, पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो ।’
यस्तै, उनले भनेका छन्, ‘मदन परियार आयोगको प्रतिवेदनका आधारमा समातिएको १०+१ मोडेलले सबै उत्पीडित राष्ट्रियताको पहिचान, अधिकार र मुक्तिलाई सुनिश्चित गर्छ कि गर्दैन ? त्यसलाई कसरी अझ विकसित र परिमार्जित गर्नेतिर ध्यान दिएको पाइएन । यस्ता थुप्रै वैचारिक भिन्नता रहे जसले गर्दा पार्टी संगठन र आन्दोलन संचालनको पाटो झनपछि झन जटिल हुँदै गयो । मधेश जनविद्रोह देशको इतिहास मै एक ठुलो विद्रोह थियो त्यसले संघियता, समावेशिता, समानुपातीक निर्वाचन प्रणाली र आरक्षण स्थापित गर्यो । यो मधेशको तर्फबाट देशकै लागि ठुला योगदान थियो ।’
उनले यादव पक्षलाई मधेस आन्दोलनको ब्याज खान खोजेको आरोप समेत लगाएका छन् । भने, मधेस आन्दोलनको गरिमालाई विस्तार गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
२, संगठनात्मक समस्या
एउटै पार्टीभित्र बसेर पूर्वाग्रह, संकिर्णता, पक्षपात र अपमानको शिकार बनाइएको आरोप लगाएका भट्टराईले यादवमा पार्टी कब्जा गर्न सोच पलाएको समेत जनाएका छन् ।
‘पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न सकेन । पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने’ सोच हाबी भयो । सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता र प्रतिनिधित्व हुने गरी समय मै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध बनाई लक्ष्य उद्धेश्यतर्फ निर्दिष्ट गर्ने भन्दा पनि अनेक झमेला र अविश्वास सृजना गरी महिनौं अल्झाउँने, कार्यकर्ताहरुमा निरासा र झर्को सृजना गर्ने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो’ प्रतिवेदनमा भनिएको छ ।
एकतापछि पार्टीको आकार बढ्दै जानुपर्नेमा घट्दै गएको भन्दै उनले पार्टीको सदस्यको अभिलेखीकरण तथा नवीकरणमा कुनै सार्थक प्रयास नभएको समेत जनाएका छन् ।
३, नेतृत्वको पद्धति र मोडालिटी
यादवले सामूहिक नेतृत्व प्रणालीलाई अस्विकार गरेको उल्लेख गरेका भट्टराईले तीन सदस्यीय मुख्यालयले समेत काम गर्न नपाएको जनाएका छन् ।
‘पार्टीको नेतृत्व पद्धति एकल हुने कि सामुहिक र समावेशी हुने भन्ने प्रश्नमा पर्याप्त मतभेद र भिन्नता देखिए । सामुहिक नेतृत्व लोकतान्त्रिक युगको एक साझा विश्व भावना हो । जुनकुनै स्थिति र शर्तमा यसबारे कुनै सम्झौता हुन सक्दैन्थ्यो । एकल अध्यक्ष हुनुको अर्थ सबै महत्वपूर्ण निर्णय अध्यक्षले एक्लै गर्नु भन्ने संसारमा कहिँ पनि लाग्दैन । अध्यक्ष पार्टीको मूल नेता हुन्छ । तर, महत्वपूर्ण बिषय र एजेण्डामा समिति प्रणालीबाट निर्णय हुनै पर्दछ । समिति प्रणालीबाट संस्थागत निर्णय भएका विषयलाई पार्टीको दैनिक जीवनमा लागू गर्नु गराउँनु मूल नेतृत्वको जिम्मेवारी र नैतिक दायित्व हुन्छ । यो मान्यता र पद्धतिलाई पालना गर्न अनिच्छा देखियो । सामुहिक नेतृत्वको अभ्यासलाई अलि ठोस बनाउँने प्रयत्न स्वरुप ‘तीन सदस्य मुख्यालय’ गठन भयो तर त्यो प्रयोगमा आएन’, प्रतिवेदनमा भनिएको छ ।
समावेशी नेतृत्व स्थापित गर्न सबै तहमा न्युनतम समानुपातिक प्रतिनिधित्व हुन आवश्यक भएपनि केन्द्रिय कार्यकारिणीमा केही महत्वपूर्ण राष्ट्रिय समुदायको नै प्रतिनिधित्व गराउन नसकेको आरोप समेत लगाएका छन् ।
४, कार्यशैलीको प्रश्न
भट्टराईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । यादवले पार्टीको कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट भएको निर्णय र रुलिङलाई माइन्युट गर्न पनि अनिच्छा देखाएको र आपसमा समन्वय नगरेको बताएका छन् । बैठक बोलाउँदासमेत फरक विचार राख्न सक्ने सदस्यलाई सूचना नै नदिने वा असाध्यै ढिलो दिएको, पार्टीमा जिम्मेवारी बाँडफाँट राम्रोसँग नगरेको पनि भट्टराईले बताएका छन् ।
‘खासखास मान्छे कामैकामले थिचिएजस्तो हस्याङफस्याङ गर्दै दौडधुप गरिरहने तर, पार्टीपंक्तिको ठूलो संख्या बर्षौं जिम्मेवारीविहीन र बेरोजगारजस्तो रहने कार्यशैलीबाट बलियो र प्रभावकारी पार्टी बन्न संभव नै हुँदैन’ उनले भनेका छन् ।
स्थानीय तह निर्वाचनमा पनि पार्टीको उम्मेदवार चयनमा कार्यशैलीगत लथालिङ्गेपन देखिएको भट्टराईले बताएका छन् ।
‘व्यक्ति व्यक्तिले आफू खुशी टिकट बाँड्दै हिँड्ने, फरक पृष्ठभूमि वा समूहको भए पूर्वाग्रह राखेर टिकट नै नदिने, कतिपय ठाउँमा एउटै पदका लागि फरकफरक व्यक्तिबाट टिकट जाने एकभन्दा बढी उम्मेदवारले मनोनयन गर्ने, कतिपय ठाउँमा मनोनयनको दिन बिहानसम्म पनि टिकट नपुग्ने, गठबन्धनको संस्थागत संवाद र प्रयत्न नगर्ने यस्ता अनेक समस्या जताततै देखिए । जसको कारणले गर्दा पार्टीको उम्मेद्वारी संख्या र परिणाम निक्कै कमजोर बन्न पुग्यो’ भट्टराईले भनेका छन् ।
५, व्यवस्थापनको समस्या
पार्टी एकताको ३ बर्षसम्म पनि पार्टीको आर्थिक जीवन, आय स्रोत, व्ययको शीर्षकबारे कहिल्यै बैठकको एजेण्डा नबनेको भन्दै भट्टराईले भनेका छन्, ‘पार्टी एकताको करिब ३ बर्षमा पार्टीको आर्थिक जीवन, आय स्रोत, व्ययको शीर्षकबारे कहिल्यै कुनै बैठकको एजेण्डा नै बनेन । खर्चको नियमितता र पारदर्शीताका लागि नियमित खर्चको फाँटबारी पेश गर्ने काम समेत भएन । पार्टी स्रोतको समुचित उपयोग कसरी गर्ने र त्यसबाट कसरी बढीभन्दा बढी राजनीतिक लाभ लिने भन्ने तर्फ कुनै सोच बनेन । पार्टीका बैठकबाट काम सृजना हुने तर त्यसको व्यवस्थापनको पाटोबारे सबै मौन बस्ने, कसैले कुनै उत्तर नदिने वा कुनै संस्थागत प्रयत्न नगर्ने हुँदा गर्नै पर्ने कैयौं महत्वपूर्ण कार्यसमेत सम्पादन हुन सकेनन्। यस्तो तरिकाको व्यवस्थापन शैलीबाट पार्टीलाई सुव्यवस्थित, प्रभावकारी र मूल प्रतिस्पर्धी बनाउन संभव नै हुँदैन ।’
६. सुशासन र डेलिभरीप्रति बेवास्ता
पार्टीले नेतृत्व लिएको मधेश प्रदेश र स्थानीय तहहरुमा कार्यसम्पादन र सुशासनमा ध्यान नदिएको पनि भट्टराईले बताएका छन् ।
‘मधेश प्रदेशमा सरकारको नेतृत्व थियो, अन्य कतिपय प्रदेशमा पार्टी सरकारमा सामेल थियो, संघीय सरकारमा केही मन्त्रीहरु रहे, यिनीहरुको कार्यसम्पादन क्षमतालाई सुशासन र सेवाप्रदायनका दृष्टिकोणबाट कसरी अरु पार्टीको भन्दा अब्बल बनाउने र त्यसले सिर्जना गर्ने जनाकर्षणमार्फत् पार्टीलाई लोकप्रिय बनाउँने भन्नेतिर मूल नेतृत्वको ध्यान नै गएन’ भट्टराईले भनेका छन् ।
पार्टीभित्र यसबारे गम्भीर बहस गर्न र खास प्रारुप तयार गर्न आवश्यक भए पनि ‘यो पहिचान र अधिकारको आन्दोलन लड्ने मात्र पार्टी हो, सुशासन र सेवाप्रदायनमा यसले ध्यान दिन जरुरी छैन’ भन्ने सोच प्रभावी रहेको बताए ।
७. भूराजनीतिक सोचमा भिन्नता
भट्टराईले कतिपय कुटनीतिक सवाल र बिशेषतः एमसीसी प्रकरणले पार्टीको मूलपंक्तिमै देशको भूराजनीति र परराष्ट्र नीति संचालनबारे फरक सोच देखिएको बताए ।
एमसीसी लामो समयसम्म देश र राष्ट्रिय राजनीतिलाई नै तरंगित गर्ने विवादित मुद्धा बन्दा पार्टीमा संस्थागत छलफल नगराइएको उनले बताए । ‘एमसीसीलाई समर्थन गरेको नाममा नेतृत्व पंक्तिकै कुनै खास व्यक्ति लक्षित गरी अवान्छित लान्छना लगाउने काम भए’ उनले भनेका छन् ।
‘तर, मूल नेतृत्वले संसदमा मतदान हुने दिन आएर यो मुद्धामा आश्चर्यजनक र नाटकीय ‘यु टर्न’ गर्यो । प्रचण्ड र माधब नेपाल समूहको सहजताका लागि तयार गरिएको कथित ‘ब्याख्यात्मक टिप्पणी’ को बर्की ओडियो । यसले के देखायो भने गम्भीर भूराजनीतिक बिषयमा पार्टीको नेतृत्वसंग प्रष्ट दृष्टिकोण विचार र अडान रहेनछ’ भट्टराईले भनेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











