वाग्द्वार र सपनतीर्थमा स्नान गर्नेको घुइँचो
काठमाडौं । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वारमा स्नान गर्नेको घुइँचो लागेको छ ।
यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी बिहीबार पुगेका थिए ।
राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । चार वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । नगरपालिकाले महोत्सवका नाममा बजेट सक्ने तर पर्यटकीय स्थलको प्रचारप्रसारमा वर्षभर काम नगर्ने गरेको स्थानीय सोमबहादुर तामाङको गुनासो छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वास समेत छ ।
वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । विसं २०७७ देखि २०७९ सम्म कोरोना महामारीका कारण वाग्मती तीर्थयात्रा हुन सकेन । यस वर्ष भने वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।
वाग्मती उत्पत्तिको कथा
वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किम्बदन्ती प्रसिद्ध छन् । सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग्अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।
“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्मती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो । वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनिअश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।
वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भकभके बोली भएकाको बोलीमा शुद्धता आउने जन विश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गर्छन् । शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चली आएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउनुहुन्छ ।
वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । यसैकारण पनि नेपालमा मात्र नभई भारतमा समेत वाग्मतीलाई पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्ध स्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २८ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ ।
यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवतीअर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्। दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ । प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने धुनिबेँसीका रामचन्द्र बजगाईँँ आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।
वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ । यहाँबाट भक्तजन टोखा नगरपालिकाको सपनतीर्थ मेला भर्न जान्छन् । टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ आजको दिन सपनतीर्थको कुण्डमा पुगी स्नान गरेमा घाउ खटिरा नआउने जनविश्वास रहेको बताउनुहुन्छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष यहाँ हजारौँ भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो ।
यसरी पुगिन्छ वाग्द्वार
वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । यहाँबाट विष्णुपादुका हुँदै सपनतीर्थमा स्नान गर्न जाने विधि प्राचीनकालदेखि राजधानीवासीमा रहेको छ ।
वैशाख १ गते वाग्द्वार र सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किम्वदन्तीसमेत उपत्यकावासीमा प्रचलित रही आएको छ । यही मान्यताका आधारमा भक्तजनको भीड लाग्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












