जहाँ बीपीका नाममा चार दशकदेखि कोठा खाली छ
चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।
भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ ।
‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान् स्व श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।
विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुन्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरू नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुईँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछन् ।
‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थे । रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो ।
घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’ गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो ।
‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यति बेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’ बीपी कति पटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन । उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो । चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो ।’
सादा खाना बीपी बाबुले खाने गरेको प्रधान बताउँछिन् । उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ— बीपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’ बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ ।
जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न यही घरमा आउने गरेको उनले स्मरण गरिन् । साँझ बीपी भन्थे, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ ।’ बीपी हुँदै गर्दा विवाहको घर जस्तै हुने गरेको उनले बताइन् । थोरै खाने चिटिक्क परेर हिँड्नुपर्ने बीपीको स्वभाव थियो ।
प्रधानले भनिन, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’ बीपी बिरामी परेपछि श्यामकृष्णको परिवार निकै चिन्तित बन्यो । तनहुँ र चितवनमा महिला सङ्घको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक सङ्कलनसमेत गरिन् । उनले भनिन्, ‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरेँ, म आफूले त दिने नै भएँ, अरूले पनि दिए ।’
बीपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो । पछिल्ला वर्षहरूमा नेताहरू त्यति पुग्दैनन् । बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको प्रधानको निष्कर्ष छ । उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन ।’ साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘बीपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । बीपीजस्तो नेता न कांग्रेसले जन्मायो, न देशले जन्मायो ?’
ससुरा लालप्रसाद खरदार जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ । गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर गएको स्मरण उनले अहिले पनि ताजै छ ।
गौरीदेवीका कान्छा छोरा सुवोध प्रधानलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ । बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले ल्याण्डओभर गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छन् । गाडी पछिपछि नेविसङ्घका विद्यार्थीहरू हुने भए पनि के हुन्छ भन्ने भर थिएन । ठाउँ–ठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो ।
बाह्र–तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै उनले भने, ‘बीपी हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवास प्रधानले कपाल खौरिनुभएको थियो ।’ आफ्नो घरमा बीपी आउँदा घर वरिपरि खाकीका कपडा लगाएर प्रहरीले घेरेको उनलाई ताजै छ । उनले भने, ‘म घरको कौशीमा लुकेर खाकी लगाएका प्रहरी हेर्थेँ ।’ सबैले बीपीलाई निकै मान्ने आफूले पाएको उनले बताए । उनले भने, ‘सबैले देवताजस्तै गरी सम्मान गर्थेँ ।’
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












