‘संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन ।
रास्वपाबाट समानुपातिक सांसद चुनिनुएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । ‘सांसदसँग–रासस’ संवादका क्रममा क्रममा सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुने नसकेको आभाष भएको बताए ।
“सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाह भन्छन्, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो । बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ ।” आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ ।
संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद् सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उनी बताउँछन् । यसबारे संसद्मा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको उनको गुनासो छ । संसद्मा क्यालेण्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको आरोप छ ।
अर्कोतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको शाहको बुझाइ छ ।
“सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाए । मैले पूल बनाए, बाटो बनाए भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन् । अर्को पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ”, सांसद शाह भन्छन्, “सामान्य हिसाबले हेर्दा एउटा नगर प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन् । त्यहि भनेर भोट मागिरहेको अवस्था छ ।”
सांसदलाई उनीहरुको भूमिका के हो भनेर बुझाउन जरुरी रहेको शाहको तर्क छ । त्यस्तै नागरिकस्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने उनी बताउँछन् । सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उनले टिप्पणी गरे ।
“सांसदका रुपमा मुख्य काम कानुन निर्माण गर्ने हो । जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानून निर्माणमा सशक्तरुपमा लागि पर्ने हो । तर जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडक जस्ता पूर्वाधार बनाउने भन्ने संस्कारको विकास भयो”, सांसद शाह भन्छन्, “विकास निर्माणका लागि सांसद एक माध्यम बन्न सक्छन् । तर हामी आफैँ ठेकेदार हैनौ । यो बुझ्न जरुरी छ ।”
लामो समय संसदीय अभ्यासमा लागेका दलका नेताले संसदीय मर्यादा उल्लंघन हुने गरी अभिव्यक्ति राख्ने गरेकामा शाहलाई त्यो कत्ति पनि चित्त बुझेको छैन । “सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ । जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो । त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ”, उनले भने ।
दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को सङ्ज्ञा दिँदै सांसद शाह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद् अल्झाउने गरेको बताउँछन् । यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उनी बताउँछन् ।
“जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने त्यो हुँदैन । हामीले पटक–पटक डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन गर्यौँ । जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ । तर अहिलेसम्म त्यो हुन सकेको छैन”, शाह भन्छन् ।
सत्तापक्ष र प्रतिपक्षले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उनको बुझाइ छ । सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उनीहरुले उपयुक्त वातावरण भने पाउन नसकेको उनी स्वीकार्छन् । अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको शाहको बुझाइ छ ।
“हतारो कसैलाई रहेनछ । सरकारले आफ्नो तरिकाले चलाउने रहेछ । हतारो त जनतालाई मात्र रहेछ । ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ” उनी भन्छन् । अझ कतिपय संसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उनले बताए ।
“हाम्रा लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ । अन्य दलका सांसदले धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छौँ”, उनी भन्छन्, “तर, धेरैजसो सांसद पूर्वतयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ । तथ्य–तथ्यांकमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ ।” संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।
सांसदका रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाह सदन नजितामुखी बन्न नसकेकामा दुःख लाग्ने बताउँछन् । “सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ, सबैले राम्रै कुरा गरिरहँदा पनि देशले लिनुपर्ने विकासको गति चाहिँ किन नलिएको होला ?”
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












