ताजा समाचार

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधाबार यूएई जाने भएका छन् ।

कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको हो । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् ।

प्रधानमन्त्री प्रचण्डले १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ?’ कार्यक्रम आयोजना गर्ने छन् ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org