नेतन्याहूले प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकी आग्रह किन अस्वीकार गरे ?
इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो ?
गाजा। गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बताएका छन्। एउटा पत्रकार सम्मेलनमा एउटा प्रश्नको उत्तर दिँदै उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने भन्दै हमासको अन्त्य र बाँकी रहेका इजरेली बन्धकहरूलाई फिर्ता नल्याउन्जेल त्यो जारी रहने बताए।
हमासद्वारा सञ्चालित अस्पतालका अनुसार गाजामा अहिलेसम्म झन्डै २५,००० प्यालेस्टिनीको ज्यान गइसकेको छ भने झन्डै ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ। गाजामा जारी सैन्य कारबाही रोकेर दिगो रूपमा युद्ध अन्त्य गर्नलागि अर्थपूर्ण वार्ता सुरु गर्ने दबाव इजरेलले खेप्नुपरेको छ। अमेरिकासहित इजरेलका सहयोगी राष्ट्र र विपक्षी राष्ट्रहरूले पनि लामो समयदेखि निस्क्रिय रहेको “दुई राज्यको” अवधारणा बिउँताउन आग्रह गरेका छन्।
उक्त प्रस्तावअनुसार इजरेल र प्यालेस्टाइन सँगसँगै अवस्थित दुई राष्ट्र हुने छन्। धेरैले वर्तमान सङ्कटले युद्धरत पक्षलाई हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न एउटा व्यावहारिक विकल्पको रूपमा कूटनीतिक पहल फेरि थाल्न बाध्य पार्न सक्ने आशा गरेका छन्। तर नेतन्याहूको टिप्पणीले उनको उद्देश्य त्यसविपरीत रहेको देखाएको छ। उनको पछिल्लो टिप्पणीपछि पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले अमेरिका र इजरेलले विषयहरूलाई “निश्चय पनि” फरक दृष्टिले हेर्ने बताए।
नेतन्याहू के भन्छन् ?
यसअघि बिहीवार नेतन्याहूले इजरेलले जोर्डन नदीको पश्चिममा अवस्थित सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भनेका थिए। भविष्यमा कुनै पनि बेला प्यालेस्टिनी राज्यको भूभागमा त्यस्तो नियन्त्रण हुन सक्ने छ। “यो अत्यावश्यक सर्त हो र यो (प्यालेस्टिनी) सार्वभौमसत्ताको विचारसँग बाझिएको छ। के गर्ने? म यो सत्य हाम्रा अमेरिकी साथीहरूलाई बताउँछु र मैले इजरेलको सुरक्षालाई हानि पुर्याउने वास्तविकता हामीमाथि थोपर्ने प्रयासलाई पनि रोकेको छु,” उनले भने। नेतन्याहूले आफ्नो राजनीतिक जीवनको अधिकांश समय प्यालेस्टिनी राज्यको विरोधमा व्यतीत गरेका छन्। त्यसैले उनको टिप्पणी आश्चर्यजनक भने होइन। गत महिना मात्रै उनले प्यालेस्टिनी राज्यको स्थापनालाई रोक्न पाएकोमा आफूलाई गर्व लाग्ने बताएका थिए।
तर वाशिङ्टनको कूटनीतिक दबावको सार्वजनिक खण्डन र अहिलेको सैन्य कारबाहीमा निरन्तर रहिरहने दृढ सङ्कल्पले पश्चिमी सहयोगीहरूसँग इजरेलको सम्बन्धमा खटपट परेको देखिन्छ। अक्टोबर ७ मा हमासले गरेको हमलापछि इजरेलले भन्दै आएको “आफूले आफ्नो रक्षा गर्न पाउने” आफ्नो अधिकारलाई अमेरिकाले समर्थन गर्दै आएको छ। उक्त आक्रमणमा झन्डै १,३०० जना मारिएका थिए भने झन्डै २४० जनालाई हमासले बन्धक बनाएको थियो। तर गाजामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि र त्यहाँका डरलाग्दा दृश्यहरू धेरै देखिन थालेपछि पश्चिमी देशहरूले इजरेललाई संयमित हुन आग्रह गरेका छन्। गाजाको खान यूनिस सहर जहाँ आश्रय लिने मानिसको घुइँचो लागेको छ
अमेरिकी प्रभाव
ह्वाइट हाउसले बारम्बार इजरेलको सैन्य नीतिलाई प्रभाव पार्ने प्रयास गरेको छ। उसले इजरेललाई थप सतर्कता अपनाउन र जथाभावी गरिने हवाई हमलाको साटो निश्चित क्षेत्रलाई तोकेर निश्चित खालका अस्त्रहरू मात्र प्रयोग गर्न तथा स्थल कारबाही निरुत्साहित गर्न आग्रह गर्दै आएको छ। अमेरिकाले ‘दुई राष्ट्र समाधान’को आह्वान गर्दै साथै द्वन्द्व सकिएपछि प्यालेस्टिनी प्रशासनको भूमिकामा पनि जोड दिएको छ। कर्बीले युद्धपछि गाजा कस्तो देखियोस् भन्नेबारे अमेरिका “अत्यन्तै स्पष्ट” भएको बताए। “हामी गाजामा प्यालेस्टिनी जनताको आकांक्षाको प्रतिनिधि हुन् र उनीहरूको आवाजको प्रतिनिधित्व होस्, त्यसैअनुसार चुनाव होस् र गाजामा फेरि कसैको कब्जा नहोस् भन्ने चाहन्छौँ,” कर्बीले भने।
इजरेल नीतिबारे पुनर्विचार गर्न अमेरिकालाई दबाव
यद्यपि इजरेलले अमेरिकी सल्लाहलाई बारम्बार बेवास्ता गरेको छ र प्राय: सार्वजनिक रूपमै अस्वीकार गरेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनको भ्रमणका क्रममा पनि त्यसको झल्को देखिएको थियो। त्यसले गर्दा इजरेललाई प्रशासनले बिनासर्त दिएको समर्थनप्रति केही अमेरिकी सरकारलाई प्रभाव पार्न सक्ने व्यक्तिहरूमा निराशा बढेको देखिन्छ। उनीहरूले अमेरिकाले इजरेललाई सहायता गर्दा कडा सर्त राख्नुपर्ने बताउन थालेका छन्। इजरेली प्रधानमन्त्रीको टिप्पणीले देशभित्रै उनका समर्थक र उनको सरकारलाई समर्थन गर्ने अतिदक्षिणपन्थी मन्त्रीहरूलाई प्रसन्न पार्ने छ।
इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो ?
तर यो युद्धको बढ्दो तथा डरलाग्दो मानवीय क्षतिले इजरेल तथा विदेशमा रहेका इजरेलीहरूलाई पनि निराश पार्ने छ।हालैका सर्वेक्षणहरूका अनुसार अधिकांश इजरेलीहरू नेतन्याहूले हमासलाई नष्ट पार्ने सम्भवत: असम्भव उद्देश्यको साटो बाँकी बन्धकहरूलाई फिर्ता ल्याउने कुरामा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। साभार –बीबीसी
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











