बाजा बजाउने आमाहरू संरक्षणका लागि अभियानमा
ढोरपाटन (बागलुङ) । फागुन १५ अर्थात् मगर एकता दिवसको दिन ११ बज्नै लागेको थियो । बागलुङ बजारको पुरानो बसपार्क चोकबाट एउटा ठूलो र्याली निस्कियो । त्यो र्यालीको बीचमा केही महिला ट्याम्को बजाउँदै थिए । केहीले ढोलकी, केहीले दमाहा त केहीले सनाही र झ्याली बजाउँदै हिँडिरहेका थिए । र्यालीमा झण्डै दुई हजारको हाराहारीमा मगर समुदायका विभिन्न वेशभूषामा सजिएका बालबालिकादेखि युवायुवती र पाको उमेरका वृद्धवृद्धा पनि थिए । र्यालीको बीचमा बजेको बाजाको तालमा अधिकांश व्यक्ति घुम्दै र झुल्दै नाचिरहेका थिए । बजारको मुख्य सडकमा हिँडिरहेको र्यालीमा महिला पञ्चेबाजा टोलीमा धेरैको नजर तेर्सिएको थियो । पुरुषले बजाउँदै आएको पञ्चेबाजा महिलाले बजाएको देख्दा बजारवासी अचम्म मान्दै थिए ।
र्यालीमा बाजा बजाउनेको सङ्ख्या १० थियो । उनीहरुमध्ये अधिकांश अधबैसे थिए । हिजोआज पुरुषले नै बाजा बजाउन छोडेको अवस्थामा महिला आमा समूहले बाजा बजाउन थाल्दा धेरैलाई अनौठो लाग्नु स्वभाविकै हो । गाउँ टोलमा बाजा बजाउने प्रचलन घट्दै गएपछि मौलिक संस्कृति जगेर्नाका लागि बागलुङ बजारस्थित देउरालीचोका आमा समूहले पञ्चेबाजा बजाउन थालेका हुन् । विवाह, ब्रतबन्ध र सार्वजनिक कार्यक्रममा मौलिक बाजाको सट्टा रेकर्डेट गीत बजाउन थालेकाले पुर्खौँदेखि बजाइँदै आएको पञ्चेबाजा लोप हुने स्थितमा पुगेका छन् । पहिले जिल्लाका ग्रामीण क्षेत्रमा व्यापक मात्रामा पञ्चेबाजा बज्ने गरे पनि पहिलेको जस्तो प्रचलन अहिले छैन ।
खासगरी परियार समुदायले बजाउने पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । परियारसँगै मगर सामुदायका युवा पनि विदेश पलायन भएपछि बाजा बजाउने जनशक्ति अभाव हुन थालेको हो । जनशक्ति अभाव भएर बाजा बजाउने प्रचलन लोप हुन थालेपछि आमा समूहले संरक्षणका लागि अभियान थालेको देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताउनुभयो । मगर महिलाहरु एकताबद्ध भएर बाजा संरक्षण गर्न थालेको उहाँको भनाइ थियो । पहिले गाउँमा प्रशस्त बाजा बजाउने टोली भेटिने गरे पनि हिजोआज कोही पनि पाउन छोडेपछि महिलाले नै यसको संरक्षण गर्नुपर्छ भनेर आपूmहरू लागेको अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै युवा विदेश गए, बाजा बजाउने कोही छैनन्, गाउँघरमा र बजारमा कसैको विवाह, छैटी, भातखुवाइ र व्रतबन्ध हुँदा बाजा बज्नै छाडे, त्यही भएर हामी महिला दिदीबहिनी मिलेर पञ्चेबाजा संरक्षण गर्नुपर्छ भनेर लागेका हौँ, अब आमा समूहले पनि बाजा संरक्षण नगरे मौलिक संस्कृति हराउने भयो, धेरैले राम्रो गर्नुभयो भनेर हौसला पनि दिएका छन् । हाम्रो समूहमा ५० जनाभन्दा धेरै महिला दिदीबहिनी छौँ, सबैले सिक्ने र बजाउने गर्न थालेका छौँ, गत भदौदेखि नै बाजा बजाउन सुरु गरेका हौँ ।”
बाजा समूहमा कला श्रीस ढोलक बजाउनुहुन्छ । सुरुमा भकुण्डे मगर पञ्चेबाजा समूहबाट आफूहरुले सिकेको सुनाउँदै उहाँले रु एक लाख ५० हजारमा म्याग्दीबाट बाजा सेट खरिद गरेर अहिले व्यावसायिकरूपमा बजाउन थालेको बताउनुभयो । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै श्रीसले बाजा कुनै जात र समुदायले मात्रै नभई कला भएकाले जुनसुकै जातिले बजाउन सकिने उल्लेख गर्नुभयो ।
“कसैले लाज मान्नु हुँदैन, चोर्न, लुट्न र ढाँट्न पो लाज मान्ने, आफ्नो कला देखाउन कोही पनि हिचकिचाउनु हुँदैन, हामीहरुले अहिले पनि बाजा बजाउन सिक्दैछौँ, बजाउने ठाउँमा जान्छौँ, पोखरा, चितवनसम्म पुगियो विवाहको बाजा बजाउन”, उहाँले भन्नुभयो, “बागलुङ नगरपालिकाले पनि राम्रो सहयोग गर्यो, नगरपालिकाले रु एक लाख ५० हजार दिएपछि बाजा किन्यौँ, किन्नभन्दा सिक्न धेरै खर्च लाग्दोरहेछ, अहिले धेरै दिदीबहिनीले सिकिसकेका छन् । अब खासै समस्या छैन ।”
त्यो समूहमा बसुन्दरी थापा सनाही बजाउनुहुन्छ । बाजाभन्दा सनाही बजाउन केही कठिन हुने भए पनि उहाँले निकै लयात्मक तरिकाले बजाउने गर्नुहुन्छ । सानैदेखि बाँसुरी र सनाही बजाउन चासो दिनुहुने थापाले आफूलाई सिक्नका लागि धेरै समय नलागेको बताउनुभयो । जुनसुकै गीतमा पनि सनाही बजाउन सक्ने उहाँको जिकिर थियो । एउटा विवाहमा बाजा बजाए बापत रु ३० हजारदेखि रु ४० हजारसम्म लिने गरेको र यो रकममध्ये केही महिला समूहमा राख्ने र केही आफूहरुले बाँड्ने गरेको थापाले बताउनुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले इच्छाशक्ति भए महिलाले पनि जुनसुकै काम गर्न सक्ने बताउनुभयो । आमा समूहले बाजा बजाउन तदारुकता देखाएपछि नगरपालिकाले बाजा खरिदका लागि सहयोग गरेको र उहाँहरुलाई थप सहयोग पनि गरिने उहाँले जानकारी दिनुभयो । पहिले एउटा जातिले बजाउने बाजा पछिल्लो समय अन्य समुदायले पनि बजाउन थालेको र महिलाले पनि बजाउनु अनुकरणीय भएको प्रमुख श्रेष्ठको भनाइ थियो ।
उहाँले भन्नुभयो, “जागरुक महिलाहरूरु प्रशिक्षण लिएर बजाउन सक्ने हुनुभएको छ, बागलुङमा थप एउटा संस्कृतिको विकास भएको छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ । उहाँहरुलाई थप सक्रिय बनाउनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ, आवश्यक जनशक्ति तयार भएर ठाउँठाउँमा बजाउन जाने र आम्दानी पनि गर्न थाल्नुभएको छ ।”
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











