‘बीआरआई नेपाल र नेपालीको हितमा छ, अविलम्ब कार्यान्वयन गरियोस्’
काठमाडौं । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र नेपालीको हितमा भएकाले शीघ्र कार्यान्वयन गर्नुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्सवका सन्दर्भमा नेपाल चीन मैत्री युवा संघ र फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क नेपाली सेवाको सहकार्यमा काठमाडौंको टोखामा बुधबार आयोजना गरेको‘ बीआरआई अवसर र चुनौती’ विषयक अन्तरक्रियामा वक्ताहरुले परियोजनालाई राष्ट्र र जनताको हितमा सदुपयोग गर्न गहन चिन्तन गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाका अध्यक्ष नारायप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बीआरआई’ लाई नेपाल राष्ट्र र जनताको अधिकतम् हितमा सदुपयोग गर्न गहिरो चिन्तन गर्न जरुरी रहेको बताउनु भयो । उक्त परियोजनालाई नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग जोड्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । पूर्वाधार विकास, कनेक्टिभिटी र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआइले जोड दिने बताउँदै अध्यक्ष दाहालले सो परियोजना मार्फत नेपाल र चीनले महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा आशावादी हुनसक्ने पर्याप्त सम्भावना भएको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा ऊर्जा, सडक, पुल, रेल सम्पर्क विस्तारलगायत ठूला परियोजनामा नेपाल र चीनबिच साझेदारी हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
बीआरआई परियोजनाबाट दुवै मुलुकले प्रशस्त लाभ लिनसक्ने जनाउँदै त्यसका लागि दुवै पक्षबाट इमान्दारिता, निरन्तर प्रयास र उच्चस्तरको समझदारी आवश्यक रहेको उहाँले जोड दिनुभयो । नेपालले पूर्वाधार विकासका क्षेत्रमा बीआरआई मार्फत् सडक, रेलमार्ग, ऊर्जा र सञ्चार पूर्वाधारमा धेरै लगानी पाउन सक्ने बताउँदै उहाँले भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार ल्याउन र व्यापारिक मार्गलाई थप सुलभ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । बीआरआईले पूर्वाधार विकास, व्यापारिक सम्भावना विस्तार र क्षेत्रीय सम्पर्कका नयाँ अवसर प्रदान गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले परियोजना कार्यान्वयनका क्रममा आउने चुनौतीलाई आपसी समझदारी र छलफलबाट समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली जनताको समृद्धिको चाहना पूरा गर्ने उद्देश्यका साथ बीआरआई परियोजनामा नेपाल सहभागी भएको जनाउँदै उहाँले आपसी सहयोगका क्षेत्र विस्तार गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन आफूहरू लालायित रहेको स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले बीआरआई परियोजनामार्फत मुलुकको आर्थिक अवस्था सुदृढीकरण, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण र नवप्रवर्द्धनलाई प्रोत्साहन गर्ने योजना छनोट गरिनुपर्नेमा जोड दिनु भयो । ‘यो परियोजना मुलुकको आर्थिक अवस्था उकास्न सदुपयोग हुनुपर्छ, प्रत्येकवर्ष श्रम बजारमा आउने पाँच लाख युवा जनशक्तिलाई लक्षित गरेर योजना छनोट गर्नुपर्छ”, उहाँले भन्नुभयो । नेपालमा ठूला परियोजनामा लगानी नजुटिरहेको अवस्थामा बीआरआइलाई स्रोतका रुपमा रुपान्तरण गर्नुपर्ने उपाध्यक्ष बरालको जोड छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रित्वकालमा कार्यान्वयन सम्झौता अघि बढाउने तयारी भए पनि तत्कालीन सत्ता घटकका कारण अन्योल पैदा भएको जिकिर गर्नुभयो । ‘चीनले अघि सारेको बीआरआई परियोजना मूलतः पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा सामाजिक आर्थिक रुपान्तरणमा केन्द्रित छ’, महासचिव गुरुङको थप भनाइ थियो । नेपालमा परियोजना कार्यान्वयनमा ढिलाइ हुनुका पछाडि राजनीतिक मतभिन्नता प्रमुख कारण देखिएको महासचिव गुरुङको दाबी छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेपालको आन्तरिक कमजोरीका कारण बीआरआई कार्यान्वयन हुन नसकेको जनाउँदै बलियो सर्तसहित यसलाई तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनु भयो । मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर बीआरआई सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले बीआरआई परियोजनाअन्तर्गत ऋण कि अनुदान सहायता कुन लिने भन्नेमा मुलुक स्पष्ट हुनुपर्ने भनाइ राख्नु भयो । ‘परियोजनामा सम्झौता भएपछि ३५ योजना छनोट गर्यौं, पछि त्यसलाई नौ वटामा झर्यौं, तीमध्ये दुई आयोजना अर्को छिमेकीको जिम्मा लगायौँ, बाँकी सात परियोजना पनि कार्यान्वनमा जान सकेका छैनन्’, उहाँले भन्नुभयो ।
रुसका लागि पूर्व नेपाली राजदूत, पूर्व सांसद, वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले बीआरआई परियोजना नेपाल र नेपालीको हितमा भएको दाबी गर्नुभयो । परियोजना तत्काल कार्यान्वयन प्रक्रियामा जानुपर्छ भन्दै उहाँले यसलाई कुनै बहानामा कार्यान्वन गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । बीआरआई वैकल्पिक मार्गको आधार भएको जनाउँदै श्रेष्ठले यसको कार्यान्वयन भएमा कसैले पनि नाकाबन्दीको सामना गर्नु नपर्ने भनाइ राख्नुभयो ।
बीआरआई परियोजना ‘चिनियाँ ऋणको पासो’ हो भन्ने भाष्य जबर्जस्त सिर्जना गर्न खोजिएको भए पनि वैदेशिक ऋणको तथ्य केलाउँदा त्यस्तो नभएको वरिष्ठ कूटनीतिज्ञ श्रेष्ठको दाबी छ । ‘चीनले सो परियोजनाका लागि सकभर अनुदान देओस्, नभए अन्य दातृ निकायका ब्याजदर भन्दा नबढ्ने गरी सहुलियत ऋण दिए पनि हुन्छ’, उहाँले भन्नुभयो ।
नेकपा (माले)का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले पूर्वाधार निर्माणमा जोड दिएकोे परियोजना कार्यान्वयन गरेर जानु उपयुक्त हुने धारणा राख्नुभयो । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बीआरआई नेपालको विकास र समृद्धीसँग जोडिएको ठोकुवा गर्नुभयो । उहाँले चीनसँग भएका सम्झौता तथा समझदारी कार्यान्वयनमा नेपाल सरकार तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिँदै बीआरआई परियोजना नेपाल र नेपालीको हितमा अघि बढाइनुपर्नेमा जोड दिनु भयो ।
चीनको राजधानी पैचिङबाट सिजिटिएन नेपाली सेवाका प्रमुख सुमेघाले अन्तरक्रियामा एक भिडियो सन्देश दिँदै भौतिक पूर्वाधारको विकासमा सहकार्य गर्दै नेपाललाई समृद्ध बनाउनका लागि बीआरआई परियोजना मार्फत हातेमालो गर्न चाहेको जनाउनु भयो । बीआरआई नेपालको विकासका लागि एउटा सुनौलो अवसर भएको उहाँले दाबी गर्नुभयो । नेपालले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई अघि बढाउन बीआरआई कोषेढुंगा हुने सुमेघाको भनाइ छ । चीनका राष्ट्रपति सी चिनफिङको छिमेकी मुलकप्रति सकारात्मक नीतिका कारण चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जनाउनु भयो । आफू मात्रै धनी नभइ अन्य विकासोन्मुख राष्ट्रहरुलाई पनि धनी बनाउने उद्देश्यले चीनले बीआरआई परियोजना अगाडि सारेको जनाउनु भयो ।
चीन अध्ययन केन्द्रका सचिव एवम् रे टेलिभिजन एचीडीका अध्यक्ष प्रकाशबाबु पौडेलले नयाँ चीन स्थापनाको ७५ औं वार्षिकोत्वको अवसरमा चिनियाँ जनतालाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालको भौतिक विकास र कनेक्टिभिटिमा बीआरआईले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । नेपाल र चीनको सम्बन्धलाई जनस्तरसम्म अझै बलियोसँग जोड्ने विश्वास व्यक्त गर्नु भयो ।
अन्तरक्रियामा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल चीन मैत्री युवा संघका महासचिव दिपक देवकोटाले बीआरआईबाट कसरी फाइदा लिन सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्न आवश्यक भएकोमा जोड दिनु भयो । सन् २०१२ मा चीनका राष्ट्रपति सी चिनफिङले विश्वलाई एकीकृत गर्न अगाडि ल्याएको अवधारणा सन् २०१३ मा नै नेपाल प्रवेश गरिसकेको उहाँले जानकारी दिनु भयो । सन् २०१७ मे १२ मा नेपाल सरकारले बीआरआईमा सम्झौता गरेकोे थियो । छिमेकी देश चीनमा विकासको गतीमा अघि बढिरहेका बेला कसरी हामी त्यो विकास नीतिलाई पछ्याउन सक्छौ भन्ने विषयमा केन्द्रित हुन जरुरी भएको उहाँको भनाइ थियो ।
अन्तरक्रियाको अध्यक्षता गर्दै नेपाल चीन मैत्री युवा संघका अध्यक्ष विष्णु सापकोटाले छिमेकी मुलुकको बृहत् परियोजनाबाट फाइदा लिन बेलैमा बुझेर यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । अन्तरक्रियालाई फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टका अध्यक्ष रमेशकुमार भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
चीनका राष्ट्रपति सी चिनफिङको नेतृत्वमा सन् २०१३ मा सुरु गरिएको बीआरआई महत्वपूर्ण विश्वव्यापी परियोजना हो । यस परियोजनाले पूर्वाधार विकास, व्यापार विस्तार र अन्तरदेशीय सम्पर्क सञ्जाललाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । नेपाल र चीन दुवै देशले सन् २०१७ मे १२ मा बीआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका तर्फबाट बीआरआई परियोजना समझदारीमा हस्ताक्षर गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












