हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको एकवर्ष पूरा
गाजा । अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)को घातक आक्रमणको एक वर्ष पूरा भएको छ । एक बर्ष पहिले आजकै दिन हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरी व्यापक नरसंहार गरेको थियो । आक्रमणमा एक हजार २०५ जनाको मृत्यु भएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई इजरायलको दक्षिणी क्षेत्रबाट बन्धक बनाएर आक्रमणकारी लडाकू समूहहरूले लगेका थिए ।
हजारौँ युवाहरू साङ्गीतिक माहोलमा रमिरहेका बेला हमास तथा अन्य सशस्त्र प्यालेष्टिनी लडाकू समूहले दक्षिण इजरायलमा नोभा सङ्गीत महोत्सवको स्थल किब्बुट्ज रीमलगायतका स्थानमा रक्तपात मच्चाएको थियो । आक्रमण र आफ्ना प्रियजनको दुःखद् सम्झना गर्दै सोमबार सयौँ इजरायली नरसंहार स्थलमा भेला भई श्रद्धाञ्जलि व्यक्त गरेका विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूले सोही स्थानमा उक्त दिन हमासले बन्धक बनाई लगेका र फिर्ता हुन बाँकी बन्धकको रिहाइका लागि माग गर्दै गरिएको प्रदर्शन गरेका छन् । आक्रमणस्थलमा नै उनीहरूले आफ्ना प्रियजनको विगत र वर्तमान् अवस्थाको सम्झना गरे । नोभा सङ्गीत महोत्सव स्थलमा भावनाको ओइरो लागेको छ ।
प्यालेस्टिनी लडाकूहरूले गाजा पट्टीमा गरेको आकस्मिक आक्रमणको वर्षदिनको सम्झनामा इजरायल र विश्वभरका शहरहरूमा श्रद्धाञ्जलि सभाका साथै बन्धकको रिहाइको लागि आवाज बुलन्द पारिएको छ । राष्ट्रपति आइज्याक हर्जोगले नोभा सङ्गीत महोत्सवको स्थल किब्बुट्ज रीममा बिहान ६ः२९ बजे मौन धारण गरी दिनको सुरुवात गर्नुभएको थियो । उक्तस्थलमा हमासका लडाकूहरूले गरेको सबैभन्दा घातक आक्रमणमा कम्तीमा ३७० जनाको मृत्यु भएको थियो।
हर्जोगले भीडलाई भेट्दा मृतकका परिवारहरू स्मारकमा उपस्थित भएका थिए र धेरै जना रोइरहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण भएका श्रब्यदृष्य सामग्रीमा देख्न सकिन्थ्यो । गाजा पट्टीमा एक वर्षको युद्धपछि प्यालेस्टिनी जनताको समर्थनमा आवाज उठाउन र हमासको आक्रमणमा मारिएकाहरूलाई श्रद्धाञ्जलि दिन आइतबार विश्वभरका शहरहरूमा कार्यक्रमहरू भएका छन् ।
“अक्टोबर ७ मा भएको यो भयानक नरसंहारको एक वर्षपछि यो कार्यक्रममा आउनु निकै मर्मस्पर्शी छ,” नोभा आक्रमणका पीडितहरूको सम्झनामा आइतबार तेल अभिभमा आयोजित एक समारोहमा आयोजक सोली लानियाडालाई उद्धृत गरी एएफपीले लेखेको छ ।
इजरायलले गाजामा युद्ध गरिरहेको र लेबनानको उत्तरमा हमासको सहयोगी हिजबुल्लाहविरुद्ध नयाँ युद्ध गरिरहेको बेला इजरायल र हमास कुनैको पक्षधरता भन्दा पनि दिगो शान्तिको लागि आवाज उठाउनु आजको आवश्यकता हो । तर गाजा र लेवनान केन्द्रित युद्ध जारी रहँदा दिगो शान्तिको अवाजलाई पक्षधरताले छाँयामा पारेको छ ।
गत हप्ता इरानले इजरायलविरूद्ध गरेको क्षेप्यास्त्र आक्रमणलाई लिएर उसले तेहरानविरुद्ध पनि प्रतिशोधको तयारी गरिरहेको छ । यसले अझ व्यापक द्वन्द्वको आशङ्का बढाएको छ । इजरायली सेनाले सोमबार गाजाबाट कम्तीमा चार वटा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ र यसले गाजा पट्टीभरि हमासको प्रक्षेपण चौकी र भूमिगत आतङ्कवादी संरचनामा आक्रमण गरेको जनाएको छ ।
हमासको सशस्त्र शाखाले एक विज्ञप्ति जारी गर्दै आफ्ना लडाकूहरूले गाजासँगको सीमा नजिक रफाह, केरेम शालोम र किब्बुट्ज होलिट सीमामा ‘शत्रुको जमघट’लाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ । उत्तरी इजरायलमा सोमबार बिहान व्यापक साइरन बजेको र छिमेकी लेबनानबाट दैनिक रकेट प्रहार हुने गरेको सेनाले जनाएको छ ।
–बन्धकको भविष्यप्रति आफन्तको चिन्ता–
अक्टोबर ७ मा हमासले नियन्त्रण गरी लगेका बन्धकमध्ये ९७ जना अझै पनि तटीय क्षेत्रमा बन्धककै रूपमा जीवित रहेको विभिन्न स्रोतहरूको हवाला दिँदै उनीहरूका आफन्तहरूले बताउने गरेका छन् । यद्यपि, इजरायली सेनाले बन्धकमध्ये ३७ जनाको मृत्यु भइसकेको जनाएको छ ।
बन्धक बनाइएका व्यक्ति र समर्थकका परिवारले सोमबार बिहानै पनि तेल अभिभमा उनीहरूको रिहाइका लागि दवाव दिने नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकी जुलुस निकाले र उनीहरूलाई फिर्ता बोलाउन माग गरे । गत नोभेम्बरको अन्त्यमा एक साता लामो युद्धविरामका क्रममा २४० जना प्यालेस्टिनी कैदीको बदलामा १०५ जना बन्धकलाई रिहा गरिएको थियो ।
गाजाको सीमाबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको पश्चिमी इजरायलको शहर स्डेरोटमा राष्ट्रपति हर्जोगले सोमबार हमासविरुद्धको युद्धमा मारिएकाहरूको सम्झनामा एक समारोहको नेतृत्व गर्नुभएको छ भने प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार जित हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दै हमासको आक्रमणपछिको वर्षमा सेनाले वास्तविकतालाई पूर्णरुपमा परिवर्तन गरेको दाबी गर्नुभएको थियो ।
उत्तरी गाजामा इजरायली सेनाले एक वर्षको हवाई आक्रमण र लडाईंका बावजुद हमासले पुनर्निर्माण गरिरहेको सङ्केतपछि जबलिया क्षेत्रलाई इजरायली सेनाले घेरेको नेतन्याहुले बताउनुभएको छ । उक्त क्षेत्रमा उद्धारकर्ताहरूले आइतबार इजरायली हवाई आक्रमणमा परी नौ बालबालिकासहित १७ जनाको मृत्यु भएको बताएका छन् ।
सेप्टेम्बरको अन्त्यमा इजरायलले इरान समर्थित हिजबुल्लाह आन्दोलनविरुद्ध सैन्य कारबाही तीव्र पार्दै आफ्नो ध्यान उत्तरतर्फ मोडेको थियो। हिजबुल्लाहले हमासको समर्थनमा लेबनानबाट सीमामा नियमित रूपमा रकेट पठाउँदै आएको थियो। लेबनानमा इजरायली हवाई आक्रमणमा परी एक हजार ११० भन्दा बढीको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायलले उत्तरी इजरायलमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं इजरायलीलाई स्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।
– आश्वस्त पार्दै नेतृत्व, सर्वसाधारणमा निराश–
“एक वर्षअघि हामीले ठूलो क्षति बेहोर्नुप¥यो। विगत १२ महिनामा हामीले उक्त अवस्थालाई पूर्णरुपमा परिवर्तन गरेका छौं,” नेतन्याहूले लेबनानको सीमा भ्रमणका क्रममा भन्नुभयो । उहाँले सेनाको एक टुकडीलाई प्रोत्साहन गर्दै भन्नुभयो, “हामीले सँगै युद्ध लड्छौँ र सँगै जित्छौँ।” समाचार संस्था सिन्ह्वाका अनुसार हमासले आइतबार अक्टोबर ७ मा भएको आक्रमणलाई ‘गौरवशाली’ भन्दै प्यालेस्टिनीहरूले ‘आफ्नो प्रतिरोधबाट नयाँ इतिहास रचिरहेको’ बताएको छ ।
सन् २००७ देखि गाजा पट्टीमा शासन गर्दै आएको उक्त लडाकू समूहले अक्टोबर ७ को बिहानै इजरायली सीमावर्ती समुदायतर्फ हजारौँ रकेट प्रहार गरी आक्रमण गरेको थियो। सोही समयमा हमासका लडाकुहरूले सीमा पार गरी किब्बुत्जिम समुदाय, सेनाको अखडा र नोभा सङ्गीत महोत्सवलगायत लगभग ५० वटा विभिन्न स्थानमा आक्रमण गरेका थिए।
लडाकूहरूले सामूहिक रूपमा महोत्सबमा भेला भएका मानिसहरूको भीडलाई अन्धाधुन्ध गोली तथा बम प्रहार गरेका थिए । उनीहरू पछि किसान समुदायहरूमा घर–घरमा पसेका र घरभित्रै गोली हानेर मारेका थिए। आक्रमणको केही घण्टापछि इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेको थियो जसले यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ । इजरायली कारबाहीले २४ लाख गाजाका बासिन्दामध्ये लगभग सबैलाई कम्तीमा एक पटक विस्थापित गरेको छ।
गाजामा इजरायली आक्रमण सुरु भएयता कम्तीमा ४१ हजार ८७० जनाको ज्यान गइसकेको छ । जसमध्ये अधिकांश सर्वसाधारण रहेको हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यो आँकडालाई भरपर्दो मानेको छ ।
एएफपीले मध्य गाजापट्टीको देइर अल–बलाहस्थित एक शिविरमा बस्दै आएकी ५१ वर्षीया विस्थापित मोना अबु नाहललाई उद्धृत गरी लेखेको छ, “यदि मलाई युद्ध एक वर्षसम्म चल्नेछ भने थाहा भएको भए म उत्तरी गाजाबाट कहिल्यै सर्ने थिइनँ। यहाँ पनि जोखिम उत्तिकै छ ।”
“हामीसँग अब यी सबै सहन सक्ने ऊर्जा छैन। यो अपमान, भोक र विस्थापन सहनुको साटो म मेरो भत्किएको घरमाथि पाल टाँगेर बस्थेँ,” उहाँ भन्नुभयो ।“अक्टोबर ७ मा संसार नै बन्द भएको जस्तो लाग्छ,’ अर्का विस्थापित २६ वर्षीय इस्रा अबु मतारको भनाइ एएफपीले उद्धृत गरेको छ ।
“बम बारी र गोलाबारीको आवाजको त्रासका साथै आफ्ना छोराछोरीलाई भोकाएको, डराएको, दुःस्वप्न देखेको र दिनरात चिच्याइरहेको देखेर म निराश बनेको छु ।”गाजा र लेबनानमा जारी द्वन्द्वसँगै इरानसँग युद्धको खतरा पनि बढेको छ। इजरायलले गत साता ९सेप्टेम्बर २७० बेरूतमा हिज्बुल्लाहका नेता हसन नसरल्लाह र इरानी जनरल अब्बास निलफरहानको मृत्युको बदलामा इजरायलमाथि २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले इरानलाई गाजा वा बेरुतजस्तो देखिन सक्ने चेतावनी दिनुभएको छ भने तेहरानले इजरायलको कुनै पनि सम्भावित प्रतिशोधको प्रतिकार गर्ने योजना तयार पारेको बताएको छ । इरान आणविक हतियार भएको इस्लामिक राष्ट्र हो । इरानसँग द्वन्द्व बढ्नु इजरायल वा अन्य कुनै युद्धमा सम्मिलित राष्ट्रका लागि मात्र जोखिम नभई यस क्षेत्रकै सुरक्षा चुनौती हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












