ताजा समाचार

सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’ को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।

एसपीसीसीको व्यवस्थापनमा खुम्बु आइसफल क्षेत्रको बाटो निर्माण तथा मर्मतको काम गरिँदै आएको अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल समय भएकाले अनुभवी ‘आइसफल डाक्टर’ टोली आवश्यक उपकरण तथा सामग्रीसहित नाम्चेबाट आधार शिविरतर्फ अघि बढेको छ । आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित आठजना अनुभवी ‘आइसफल डाक्टर’ छन् । दुईवटा छुट्टाछुट्टै टोली गठन गरिएको छ, जसको नेतृत्व आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपीसीसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण ठाउँमा भर्‍याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता काम गर्नुपर्ने हुन्छ ।

सगरमाथा आरोहणको मार्ग निर्माण कार्य परम्परागत विधि तथा साइत हेराइ पूरा गरेपछि मात्र अघि बढाइने गरिएको छ । दोस्रो आधार शिविरसम्मको बाटो बनाउन झन्डै २० दिन लाग्ने अनुमान गरिएको छ तर मौसम प्रतिकूल भएमा यो अवधि लम्बिनसक्ने अनुमान गरिएको छ ।आधार शिविरदेखि माथिल्लो भागसम्मको बाटो बनिसकेपछि मात्र व्यावसायिक आरोही टोलीहरूलाई आरोहणको अनुमति दिइनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org