ताजा समाचार

दुवै सदनको बैठक आज पनि, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्ने कार्यसूची छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।

बैठकमा सोमबार जस्तै सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

सोमबार सरकारको नीति तथा कार्यक्रम व्यवहारिक,जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका थिए ।

आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथि सोमबार प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरेका थिए । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो ।

बैठकको अन्तिमतिर छलफलमा भाग लिनुभएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाउनुभयो । उहाँले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यन्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाए । उनले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको भनाइ राखे ।

यस्तै,नेकपा (एमाले) का सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरिन्। एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिए।

उनले खाद्य वस्तुको आयातमा निर्भरता घटाउन बीउ उत्पादन प्रवर्द्धन,गुणस्तरीय मल वितरण र सिँचाइ सुविधा विस्तार,आधुनिक कृषि उपकरणमा अनुदान,सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमले कृषि क्षेत्रमा उल्लेखय योगदान हुने विश्वास व्यक्त गरे।

नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेको शिथिलता अन्त्य गर्दै विश्वासिलो,भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताए ।

एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानार्कषण गराउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेशी र दूरदर्शी रहेको भन्दै समर्थन जनाउनुभयो । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले नयाँ मार्गदर्शन दिन नसकेको दाबी गरे ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org