ताजा समाचार

सिद्धार्थ राजमार्ग अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

काठडमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोले आज बिहानैदेखि अवरुद्ध भएको छ ।

बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरूमा पहिरो खसकेका कारण बिहानैदेखि सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताएका छन् । उनका अनुसार तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा मन्दिर नजिकै क्षेत्र, जोडधारा र बर्तुङ नजिकैका ठाउँमा ठूला साना पहिरो खसेका छन् । पहिरो हटाउने काम भइरहेको छ ।

अहिले राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो । मङ्गलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

विशेष गरी सिद्धबाबा क्षेत्र र बर्तुङ आसपासका स्थानमा खसेका ढुङ्गा तथा पहिरोका कारण सडक जोखिमपूर्ण रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रशासनले भनेको छ ।

सडक–राजमार्गमा पहिरो गई यात्रु र सवारी साधनमा समेत ठूलो क्षति हुनसक्ने सम्भावना भएकाले प्रशासनले विज्ञप्ति जारी गर्दै रात्रिकालीन सवारी सञ्चालन नगर्न समेत आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org