छोरीको जन्मदिनमा प्रजिअ घिमिरेको पत्रः ‘छोरी ! अधिकारले मात्रै होइन, चेतनाले पनि नागरिक बन’
खोटाङ । खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा छोरीको सोह्रौं जन्मदिनमा फरक किसिमले शुभकामना व्यक्त गर्नु भएको छ । प्रजिअ घिमिरेले “छोरी शुभेच्छा सोह्रौं जन्मदिनको धेरै माया र शुभकामना ” लेख्दै सोह्र वर्ष पुग्नु भनेको अधिकार प्राप्त गर्ने उमेर भएको उल्लेख गर्नु भएको छ । उहाँले “सोह्र वर्ष पुग्नु केवल कागजी अधिकारको कुरा मात्र होइन, आत्मचिन्तन, आत्मनिर्माण र आत्मनिर्भर बन्ने यात्राको सुरूवात पनि हो” भन्दै छोरीलाई सचेत गराउनु भएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले छोरी शुभेच्छाको १६ ओं जन्म दिनको अवसरमा लेख्नु भएको पत्र जस्ताको तस्तै :
प्रिय छोरी शुभेच्छा,
आज तिमी १६ वर्षकी भयौ।
हिजोको जस्तै लाग्छ जब तिमीले पहिलोपटक मेरो औंला समातेकी थियौ। त्यतिबेला म बुबा बन्नुको अर्थ बुझ्दै थिएँ —अब तिमी मेरी छोरी मात्र हैनौ, देशकी एक जिम्मेवार नागरिक बन्ने मोडमा पुगेकी छौ। नेपालमा १६ वर्ष पुग्नु भनेको अधिकार प्राप्त गर्ने उमेर हो —नागरिकताको प्रमाणपत्र पाउने, कानुनी रूपमा जिम्मेवारी बोक्ने पहिलो पाइला हो ।
तर म जान्दछु, यो उमेर केवल कागजी अधिकारको कुरा मात्र होइन — यो आत्मचिन्तन, आत्मनिर्माण र आत्मनिर्भर बन्ने यात्राको सुरूवात पनि हो । आज म कामले तिमीबाट टाढा छु —तिमीलाई हेरेर “शुभकामना छ नानी” भन्न पाएको छैन । तर मनले, आत्माले, र मायाले म तिमीसँगै छु।
छोरी,
यो उमेर सजिलो हुँदैन। हामी सबैले यो उमेर पार गरेर, किशोरावस्था पार गरेर आएको हो । तर आजभन्दा ३० वर्ष अगाडिको त्यो समय नितान्त फरक थियो। हाम्रो पुस्तामा मोबाइल थिएन, सोशल मिडिया थिएन, परीक्षा र प्रतिस्पर्धा यति तीव्र थिएन। करिअरको चिन्ता तेति थिएन । खासमा हामीलाई कुनै पीर र तनाव नै थिएन । सानैदेखिको जिम्मेवारीबोध र सामाजिक परम्पराले हाम्रो पुस्तालाई पूर्ण स्वतन्त्र हुन दिएन तर संगसँगै उच्छृंखल हुन पनि दिएन ।
हामीलाई घरको, खेतबारीको काम जिम्मा दिइन्थ्यो, तिमीहरूलाई करियर र भविष्यको चिन्ता थोपरिएको छ । हामी खेत बारिमा जोतिन्थ्यौं, तिमीहरू कक्षा, ट्युशन, परीक्षामा जोतिनुपर्छ। हामी बाबा आमा छोडेर बाहिर जान्थ्यौं, तिम्रो बाबा घर छोडेर बाहिर छ । उ बेला सुविधा धेरै थिएनन्, त्यसैले आवश्यकता पनि कमै थिए, अहिले सुविधा धेरै छन्, आवश्यकता पनि बढेका छन् । हाम्रो बेला नैतिकता, पवित्रता र सहनशीलतालाई बढी महत्व दिइन्थ्यो, लज्जा गहना मानिन्थ्यो । अहिले स्वतन्त्रता, आर्थिक प्रगति, विचारको अभिव्यक्तिलाई महत्व दिइन्छ । नैतिकता कमजोर भएको, लज्जाले ठाउँ छोडेको र सहनशीलतालाई कमजोरी ठानिने समयमा तिमी छौ, यस जटिल समयसँग तिमीले नै जुध्नुपर्नेछ, तिमीले नै आफ्नो विचार तय गर्नुपर्नेछ । स्वतन्त्रता र संयमको सन्तुलन, अभिव्यक्ति र वैचारिकताको सन्तुलन, जिम्मेवारी र कर्तव्यको सन्तुलन तिमीले नै मिलाउनुपर्नेछ ।
आज तिमी र तिम्रा पुस्ता साथीहरूले जुन यथार्थ सामना गर्दैछौ —त्यो कठिन छ। हामी जेन एक्स (Gen X) का मानिस र तिमीहरू जेन जि (Zen z) का मानिसहरूको बीचमा प्रविधि, सोच, विकास, भविष्य र विचार सबैमा ठुलो अन्तर छ । तिम्रो पुस्ताले बेबी बुमर (Baby Boomer) पुस्तादेखि जेन अल्फा (Zen α) सम्मका पुस्ताहरूसँग अहिले व्यवहार गर्नुपर्ने छ । कलेज छनोट गर्ने दबाब, entrance को डर, अरूको सफलता सँग तुलना, समाजले बनाएको सौन्दर्यको मापदण्ड, social media मा देखिएको झिल्के संसार — यी सबैले तिमीहरूलाई थिचिरहेका छन् ।
सायद तिमी पनि कहिलेकाहीँ एक्लो महसुस गर्छौ होला। कहिलेकाहीँ रिस उठ्छ होला, बिना कारण मन दुख्छ होला । कहिले शरीर आफैं अपरिचित लाग्छ होला, भावना आफू नियन्त्रण गर्न नसकिए जस्तो लाग्छ होला । यो सबै स्वाभाविक हो । यस उमेरमा संवेगात्मक (emotional) र शारीरिक परिवर्तनहरू चर्का हुन्छन्। तर ती परिवर्तनहरू डराउने होइन, आफूलाई चिन्ने अवसर हुन्। तिमी रमाउन चाहन्छौ, हाँस्न चाहन्छौ — तर सायद तिमीलाई भनिएको छ: “पहिला पढ, पछि रमाउनु”। तर जीवनको साँचो कलामा त यी दुवै चाहिन्छ — अनुशासन र आनन्द। तिमी सिक्नुपर्छ सन्तुलन — लक्ष्यको दिशामा अघि बढ्ने तर मनको उज्यालो मर्न नदिने ।
छोरी,
यो जीवन सधै अनगिन्ती सम्भावनाले भरिएको अपुरो कथा हो । यो उमेरमा सबै कुरा थाहा पाउनु पर्दैन। सबै समस्या हल गर्नु पर्दैन । आफूले आफैंलाई बुझ्ने, आफैंमा गर्व गर्न र आफैंप्रति नरमभाव राख्न सक्नुपर्छ, संसारलाई बुझ्ने र अरूकाप्रति नरमभाव राख्ने गर्नुपर्छ । जब तिमी आफ्नो आत्मासँग साँचो हुन्छौ — समाज, प्रतिस्पर्धा, भ्रम र डर सबै झूठाे लाग्न थाल्छ। तिमीको असली शक्ति तिमीभित्रै छ, धैर्य गर, अनि आफूलाई विश्वास गर। तिमीले जीवनमा गर्ने निर्णयहरू केवल ‘marks’ वा ग्रेडले होइन, तिमीभित्रको विवेक, मूल्य र आत्मबलले गर्नुपर्छ ।
छोरी,
तिमी १६ वर्षकी भयौ –
तिमी अधिकारले मात्रै होइन, चेतनाले पनि नागरिक बन ।
देशको कानुनले तिमीलाई नागरिक बनायो, अब तिमी आफ्ना निर्णय, मूल्य र कर्मले नागरिक बन ।
सोह्रौं जन्मदिनको धेरै माया र शुभकामना। म तिमीप्रति सधै गर्व गर्नेछु ।
– तिम्रो बाबा, दिक्तेलबजार, खोटाङ ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...












